कोशी साहित्य कला परिषद्ले् अब किसान केन्द्रित कार्यक्रम गर्ने

बेलबारी (मोरङ) । आगामी पौष ४ गतेबाट कोशी साहित्य कला परिषद्ले किसान–केन्द्रित साहित्यिक कार्यक्रम गर्ने भएको छ । मोरङको रंगेली गरपालिका वडा नं. १ बबिया विर्तामा परिषद्ले पहिलो पटक किसानसँग सिर्जना संवाद गर्ने परिषद्का अध्यक्ष केशु विरहीले जानकारी दिनुभयो । अध्यक्ष विरहीका अनुसार कृषकसँग कृषि कर्मका सम्बन्धमा विमर्श गर्ने, साहित्यिक सिर्जना लगायतका कार्यक्रम हुनेछ । पछिल्लो समय साहित्यिक गतिविधि सहर केन्द्रित भएको, गाउँमा संस्कृति विस्तारै हराउँदै गएको तर सिर्जनाका स्रोतहरू गाउँबस्ती नै भएको कुरालाई हृदयङ्गम गरी यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । केही समय अगाडि मात्र बेलबारी बहुमुखी क्याम्पसमा विमर्श तथा अन्तरक्रिया कार्यक्रमका दौरान परिषद्ले आगामी दिनमा थोरै तर गुणात्मक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही बमोजिम पौष ४ गते मोरङको ग्रामीण क्षेत्र बबिया विर्तामा किसानसँग सिर्जना संवाद गर्न लागेको अध्यक्ष विरहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो कार्यक्रमको सफलता असफलताले आगामी कार्यक्रमको निर्धारण हुनेछ । उक्त दिनको कार्यक्रममा कृषि र साहित्यको अन्तरसम्बन्ध विषयमा वाचन गरिने रचनाहरूको समीक्षकहरूबाट टिप्पणी समेत हुने कुरा आयोजक संस्था रंगेली साहित्य कला समाजले जानकारी दिएको छ । आयोजक संस्थाका सचिव चिरिञ्जीवि काफ्लेका अनुसार कार्यक्रममा यसभन्दा अगाडिका भन्दा पृथक् प्रकृतिको हुनेछ । यस भन्दा अगाडि आयोजकहरू मञ्चमा बस्ने र अन्य आगन्तुक एवम् स्रष्टा तल कुर्सीमा बस्ने परम्परा रहेको थियो । तर यो कार्यक्रममा अतिथिदेखि विभिन्न स्थानबाट आउनु भएका वरिष्ठ साहित्यकार, आगन्तुक सबै भुइँमै बसेर कार्यक्रम गरिने भएको छ ।

तपाईको प्रतिक्रिया