विजयपुर अस्पताल र हिविस्कस स्कुलबीच स्वास्थ्य सम्झौता

धरान . धरान–१० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार हिविस्कस बोर्डिङ स्कुलका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूले विजयपुर अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन् । अस्पतालका अध्यक्ष पंकज खतिवडाका अनुसार यस सम्झौताले स्कुल परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहुलियत दरमा उपलब्ध गराउने उद्देश्य राखिएको हो ।

स्कुलका निर्देशक गंगाराम राईले सम्झौताबाट विद्यार्थी, अभिभावक तथा कर्मचारीलाई उपचारमा सुविधा र थप राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै स्कुल परिवारप्रति उत्तरदायी बन्नका लागि यस्तो सहकार्य गरिएको उहाँको भनाइ छ ।
हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले आफ्ना सम्पूर्ण विद्यार्थीहरूको स्वास्थ्य बीमा समेत गर्दै आइरहेको जनाइएको छ । यस सम्झौताले शिक्षा र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया