समय सापेक्ष शिक्षालाई परिवर्तन गर्न अन्तर्राष्ट्रिय सम्मेलन : अध्यक्ष केसी

सामूदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले यही पुस ५ र ६ गते अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्दैछ । यसका लागि तयारी अन्तिम चरणमा पुगेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर सुनिश्चितता प्रत्यायानको प्रमाणपत्र प्राप्त गर्न सफल जनता क्याम्पसमा स्नातक तहमा बिएड, बिबिएस, बिए, बिआइसिटिई तथा स्नातकोत्तरतर्फ एमएडसँगै एमबिएसका शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ । कक्षा ११ र १२ का शैक्षिक कार्यक्रम पनि सञ्चालन गरेको छ । कोशी र मधेश प्रदेशका पाँच हजारभन्दा बढी विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसबाट शैक्षिक सम्मेलनमार्फत शिक्षामा समयसापेक्ष परिवर्तनलाई आत्मसाथ गरि विद्यार्थी तथा प्राध्यापकलाई नवीन ज्ञान दिलाउने उद्देश्य राखेको छ । यसै सन्दर्भमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीसँग गरिएको कुराकानीको सारसंक्षेप :
यो सम्मेलन गर्नुको मुख्य उद्देश्य के हो ?
नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सवैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ । अनि यहाँका प्राध्यापकहरु विभिन्न क्षेत्रमा, विभिन्न विषयमा एमफिल र पिएचडीको उपाधि प्राप्त गरि सकेकाले गर्दा जमघट हुने थलो भएकाले हामीले यो कार्यक्रम गर्नुपर्छ भन्ने उद्देश्य राख्यौ । साथै, यहाँ मानविकी, शिक्षा, व्यवस्थापन, विज्ञान संकायलगायतका संकायमा पठनपठान हुने भएकाले गर्दा शैक्षिक विज्ञ र अनुसन्धानकर्ताबिच अन्तर विषय संवाद र सहयोगलाई गति लिदै समसामयिक विश्वका चुनौती सामाना गर्न, समय सापेक्ष शिक्षालाई परिवर्तन र परिस्कृत गरेर लैजान नवीन शैक्षिक नमूनाका लागि संरचनात्मक अध्ययन गर्नुपर्छ भन्ने सोचले कार्यक्रम गर्न लागिएको हो ।
सम्मेलन किन आवश्यक छ र ?
अध्ययन अध्यापन गर्ने जुन गतिविधी हुन्छ, अहिले समय सापेक्ष शिक्षण शैली परिस्कृत हुँदै आएका छन् । सम्मेलनमा विश्वका नामूद विज्ञ व्यक्तिहरु आएर आफ्नो प्रस्तुती गरेपछि रिसर्चबारे प्राध्यापकलाई ज्ञान दिलाउन, विद्यार्थीलाई रिसर्च गराउने उपाय सिकाउन र अबको शिक्षा कुन हिसावले अगाडि बढाउँदा शिक्षा क्षेत्रको विकास हुन्छ भनेर विज्ञ व्यक्तिबिच अन्तरक्र्रिया हुने हुँदा यसबाट धेरै विद्यार्थी, यहाँ आउने प्राध्यापकहरुले नयाँ नयाँ ज्ञान हासिल गर्ने र त्यो विद्यार्थीसमक्ष पु¥याउने हुँदा यो कार्यक्रम आवश्यक भएको हो ।
अहिले यो सम्मेलनको तयारी अन्तिम चरणमा पुगेका बेला यो गर्नैपर्ने आधार चाँहि कसरी बन्यो र ?
जनता क्याम्पसलाई कसरी राम्रो बनाउन सकिन्छ रु भनेर योजना बनाएर अघि बढ्ने क्रममा विदेशमा नाम चलेका कलेजहरु कसरी चलेका छन् रु समग्र अवस्था कस्तो रहेको छ रु भनेर ज्ञान लिन भारतका दुईवटा विश्वविद्यालयलाई मेल पठायौं । त्यहाँबाट हामीलाई बोलाइयो । र, असारमा पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता ग¥यौं । त्यहाँ सम्झौता गर्न जादा हामीले दुई पक्षीय सहमतिबाट शिक्षा क्षेत्रमा ठूलै उपलब्धी हासिल गर्न सकिने पनि ज्ञान भयो । यहाँका विद्यार्थीलाई रिसर्च गर्दा होस् वा यहाँका प्राध्यापकहरुलाई एमफिल र पिएचडीको उपाधिका लागि सस्तो शुल्कमा गराउने वातावरण मिलाउन सहज भयो । र, भारतबाट हाम्रो क्याम्पसमा आउँदा पनि यहाँ भएका राम्रा उदाहरणीय कार्य शेयर गर्न सक्ने वातावरण भयो । त्यसमा हामीले दुईवटा ठूला विश्वविद्यालयसँग सम्झौता गर्दा त हामीले धेरै सिक्ने अवसर पाउँछौं भने अन्तर्राष्ट्रिय सम्मेलन नै गर्दा झन ठूलो उपलब्धी हुुनुका साथै इटहरीको शैक्षिक विकासमा पनि थप टेवा पुग्छ भनेर यो कार्यक्रम गर्ने आधार बन्यो ।
सम्मेलनमा कस कसको सहभागिता रहनेछ र ?
पाँचवटा देशको उपस्थिती रहन्छ । अमेरिकाबाट रोर्जर भन्ने विज्ञ व्यक्ति आउने तय भएको छ । यस्तै, थाइल्याण्ड, वंगालादेश, इन्डियालगायतका देशबाट विज्ञ व्यक्ति आउने तय भइसकेको छ । नेपालभरबाट नाम चलेका विभिन्न शिक्षा क्षेत्रका विज्ञ व्यक्तिहरुको उपस्थिती रहनेछ । कम्तीमा पाँच सयको सहभागिता रहनेछ ।
सम्मेलनको तयारी कुन चरणमा पुग्यो ?


खानपान, बसोबास, स्वागत, कार्यक्रमको तालिका, प्रचारप्रसार, आर्थिकलगायतका सवै समितिले आफ्नो काम पुरा गरेका छन् । सवै समितिद्दारा आ९आफ्नो जिम्मेवारी राम्रो तयारी भएको छ । पुस ५ र ६ गतेको कार्यक्रमको लागि क्याम्पस ३ र ४ विदा गरेर पुरै सरसफाई गरिनेछ । सचिवालयले कार्यक्रमको सम्पूर्ण खाका तयार गरि रहेको छ । सम्मेलनमा कुनै पनि कुराको कमी हुन नदिने गरि तयारी भएको छ ।
सम्मेलनका लागि खर्चको व्यवस्थापन कसरी हुनेछ र ?
सञ्चालक समितिले योजना बनाउँदा सम्मेलन गर्दा क्याम्पसबाट १८ लाख रुपैयाँ पैसा छुट्याइएको थियो । तर, यतिबेला क्याम्पस आर्थिक हिसावले सक्षम नभएको अनि यहाँ अध्ययन गर्न आउने विद्यार्थीसँग पनि न्यून शुल्क मात्र लिएकाले गर्दा त्यो १८ लाख पनि जोगाएर जानुपर्छ कि भनेर कार्यक्रम अघि बढाइरहेका छौं । यसक्रममा सहभागीबाट रजिष्ट्रेसन शुल्क बापत प्रतिव्यक्ति दुई हजार पाँच सय लिने निर्णय गरेका छौं ।
यस्तै, इटहरी उपमहानगरपालिकाले सात लाख सम्म पैसा दिने घोषणा गरेको छ । र, यो कार्यक्रमको अभिभावकत्व पनि उपमहानगरपालिकाले लिनेछ । सुनसरीमा रहेका अन्य स्थानीय तहमध्ये धेरैजसोले कसैले एक लाख, कसैले डेढ लाख र कसैले ७५ हजार रुपैयाँ दिने प्रतिबद्दता व्यक्त भएको छ । यस्तै, इटहरी उपमहानगरपालिका क्षेत्रभित्रका वडाहरुमध्ये धेरैजसो वडाध्यक्षले इटहरीमा हुने कार्यक्रममा हाम्रो पनि केही न केही सहयोग हुनुपर्छ भन्ने सोच राखेर विभिन्न वडाध्यक्षहरुले रकम लिने क्रम चलिरहेको छ । अन्य दाताले पनि हामीलाई सहयोग गरि नै रहेको अवस्था छ । यसरी कार्यक्रम गर्नका लागि हामीलाई पैसाको अभाव हुने छैन् भन्ने लागेको छ । कार्यक्रम गर्नका लागि झण्डै ३५ लाख हजार लागत लाग्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया