विगत केही वर्षदेखि नेपालको पुराना राजनीतिक दलप्रति आम सर्वसाधारणको वितृष्णा चुलिँदै जाँदा उनीहरूको शाख गिर्दो अवस्थामा छ भने महाधिवेशन नजिकिँदै जाँदा एमालेभित्रको विवाद थप चर्किने देखिएको छ । मंसिर दोस्रो साता भएको एमालेको महाधिवेशन प्रतिनिधि छनौटमा उक्त संगठनभित्र जुन विवाद आपसमा देखियो, त्यो अन्यका लागि अनपेक्षित थियो । वर्तमान केन्द्रीय नेतृत्वका ठाडो निर्देशनमा एउटा पक्षलाई नामेट गर्ने शैलीले बलियो संगठनको प्रचार गरिएको एमाले आन्तरिक रूपमा कमजोर देखिएको प्रतीत भएको छ । दलका नेतृत्व हत्याउनकै लागि त्यो हदसम्मको अराजकता सहनीय पक्कै होइन । नेतृत्व हत्याउने र सत्तामा पुग्ने ध्येयले मात्र ठूला राजनीतिक पार्टीहरू अगाडि बढेका कारण उनीहरूको शाख गिर्दै गएको छ । महाधिवेशन छनोटका क्रममा एमालेभित्र पनि स्वस्थ प्रतिस्पर्धा हुन सकेन । अधिकांश जिल्लाहरूमा ओली पक्षका कार्यकर्ताहरूले अर्को पक्षका कार्यकर्ताहरूलाई मतदानमा अवरोध गर्ने, धम्क्याउने, निर्वाचनका सम्बन्धमा सकेसम्म जानकारी नै नदिने, उमेदवारी दिनबाट रोक्ने र हातपात गर्ने सम्मका कार्यले उक्त दलभित्र आन्तरिक विवाद कतिसम्म चुलिएको रहेछ भन्ने प्रष्ट हुन्छ । यत्तिमात्र नभई मंसिर १९ गते एमालेको केन्द्रीय कार्यालयमा प्रतिनिधि छनोटको विषयमा देखिएको विवाद र हातहालाहालको स्थितिले वर्तमान नेतृत्वले फरक विचार र फरक अनुहार देखिएकाप्रति कस्तो रवैया अपनाएको छ भन्ने कुरा पनि सतहमा आएको छ । कार्यकर्ताबीचको अवस्था यस्तो देखिएको छ भने भोलिका दिनमा आम निर्वाचनमा जाँदाको परिणाम पक्कै सहज हुँदैन । एमालेको वर्तमान नेतृत्वप्रति नेतृत्वको निकट बाहेक कोही सन्तुष्ट छैनन् । विधानतः उमेर हद र दुई कार्यकालको पक्षमा कार्यकर्ताहरू देखिएका छन् । उता नेपाली काँग्रेसको १५औँ महाधिवेशनको मिति पुस अन्तिम साता गर्ने निर्णय भए पनि जिल्ला, प्रदेश र स्थानीय तहका कार्यकर्ताहरूमा कुनै प्रकारको उत्साह देखिएको छैन । कार्यकर्ताहरू शिथिल देखिएका छन् । नेतृत्व गर्न सक्ने र पार्टीलाई सुदृढ गर्न सक्ने अनुहार विरलै देखिएको छ । स्थानीय, क्षेत्र, जिल्ला र प्रदेशमा ती नै अपाच्य अनुहारहरू छल, बल र कपटले नेतृत्व हथियाउन उद्यत छन् । नयाँ, ऊर्जावान, जुझारु नेतृत्वका लागि विगतदेखि नै पार्टीको पद भजाएर लाभ–हानि गर्दै आएका नै काँग्रेसभित्र हावी देखिएका छन् । यसै कारणले पनि यसपटक वडा–वडामा अधिकांश सक्रिय कार्यकर्ताहरूले सदस्यता नविकरणै गरेनन्, कतिपयले पुराना सक्रिय सदस्यको कार्ड च्यातेर सामाजिक सञ्जालमा पोस्ट गर्नसम्म भ्याएका थिए । उसै त आगामी केन्द्रीय नेतृत्वका लागि गुट–उपगुटको चलखेल समेत तीव्र भएको छ । कोही कस्को मान्छे, कोही कसको मान्छे । फरक गुटबीच पानीबाराबारको स्थिति देखिनु काँग्रेसका लागि सुखद पक्ष पक्कै होइन । यो प्रवृत्तिले एउटा समूहले पार्टीको नेतृत्व हत्यिाउला तर आम निर्वाचनमा जान त्यति सहज देखिँदैन । त्यसै पनि वर्तमान नेतृत्वका कारण विगतमा काँग्रेसलाई मतदान गर्दै आएका अब काँग्रेसलाई मत नदिने मनोवृत्तिमा देखिएका छन् । यसतर्फ नेतृत्वले बेलैमा बुद्धि पु¥याउन आवश्यक छ । नत्र ऐतिहासिक पार्टीको अस्तित्व रक्षा नै संकटमा पर्ने निश्चित छ ।
