सिटी रिक्सा चालकको गोली हानी हत्या गर्ने ७ जना पक्राउ

सुनसरी । रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालकलाई गोली हानी हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । असोज २५ गते (शनिबार) साँझ करिब ५ः२० बजे सिटी सफारी (प्रदेश १–०२–००४ ह ७८०४) चलाउँदै आएका रामधुनी–२ का ४५ वर्षीय दिनेश कुमार चौधरीमाथि अपरिचित व्यक्तिहरुले गोली प्रहार गरेका थिए । घटनास्थलमै चौधरीको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार स्थानीयवासी तथा परिवारका सदस्यहरूको बयान, प्राविधिक तथ्य र संकलित प्रमाणका आधारमा हत्या योजनाबद्ध रूपमा गरिएको खुलेको छ । प्रहरीका अनुसार चौधरीले तान्त्रिक क्रिया –तन्त्र(मन्त्र) गरेर परिवारका सदस्यलाई लामो समयदेखि बिरामी बनाइरहेको आरोप लगाउँदै रामधुनी–१ झुम्काका राजेश उर्फ राजकिशोर साह र नन्द किशोर साह उनीप्रति असन्तुष्ट हुँदै आएका थिए । यही रिसइबीका कारण उनीहरूले चौधरीमाथि हमला गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार साह दुवैले मोहमद इब्रान मियासहितका व्यक्तिहरुसँग रकम लेनदेन गरेर चौधरीको हत्या गराउने ‘कन्ट्र्याक्ट’ मिलाएका थिए । सोही योजनाअनुसार समूहले कर्मनिया टोल नजिकको नहरछेउको भित्री सडकखण्डमा चौधरीलाई गोली प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको बताइएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रामधुनी १, झुम्काका. ४३ बर्षीय राजेश उर्फ राजकिशोर साह, सोही स्थानका ४० बर्षीय नन्द किशोर साह, राजविराज १६ सप्तरीका २८ बर्षीय अंकित साह, राजविराज ९ आँखा अस्ताल खेउ घर भएका २८ बर्षीय प्रिन्स कुमार दास, भोक्राहा नरसिंह–५
सुनसरीका. मोहमद इब्रान मिया, देवानगञ्ज–४ सुनसरीका ३७ बर्षीय गियास मन्सुरी, र देवानगञ्ज–५ सुनसरीका २५ बर्षीय मिथलेश यादव रहेका छन् ।
पक्राउ परेकाहरुलार्ई कर्र्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट मंसिर १७ गतेदेखि लागू हुने गरी १२ दिनको म्याद थप गरी थुनामा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार घटनामा प्रयोग भएको हतियारको स्रोत, आर्थिक लेनदेनको विस्तृत विवरण तथा घटनामा अन्य कोही संलग्न भएको छ–छैन भन्नेबारे थप अनुसन्धान जारी छ । प्रहरीले अन्धविश्वास, तन्त्र–मन्त्र र व्यक्तिगत रिसइबीका कारण उत्पन्न हुने ज्यानका घटनाबारे समुदायस्तरमै सचेतना आवश्यक रहेको जनाउँदै स्थानीयलाई यस्ता गतिविधि देखिएमा समयमै जानकारी दिन अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया