धरान । भारतीय सेनाका केन्द्रीय कमाण्डका लेफ्टिनेन्ट जनरल अनिँध सेनगुप्ताले नेपालको औपचारिक भ्रमण गर्नु भएको छ । पिभिएसएम, युवाईएसएम, एभिएसएम, वाइएसएम, जीओसी इन–सी आभूषण प्राप्त गर्नुभएका जनरल सेनगुप्ताले आफ्नो भ्रमणको क्रममा नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेजको अवलोकन गरी त्यहाँ स्थित कर्मचारी एवम् विद्यार्थी अफिसरहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।

जनरल सेनगुप्ताले काठमाडौँस्थित गोर्खा सैनिक निवासमा नेपालमा बसोबास गर्नुहुने भूतपूर्व भारतीय सैनिकहरूसँग भेटघाट गर्दै मोबिलिटी इक्युपमेन्टहरू प्रदान गर्नुभएको थियो । उहाँको भ्रमणले भूतपूर्व भारतीय सैनिकहरूलाई अर्थपूर्ण कल्याणकारी र स्वास्थ्य सेवाहरू उपलब्ध गराइराख्ने प्रतिबद्धता समेत व्यक्त भएको छ । भ्रमणकै क्रममा लेफ्टिनेन्ट जनरल सेनगुप्ता र नेपालका प्रधानसेनापति महारथी अशोकराज सिग्देलबीच सैन्य मुख्यालय भद्रकालीमा भेटवार्ता भएको थियो । भेटवार्ताको क्रममा दुई देशबीचको सेनाको सम्बन्ध, आपसी सद्भाव लगायतका विषयमा छलफल भएको सैन्य स्रोतले जानकारी दिएको छ ।
