ान । नेपाल कम्युनिस्ट पार्टी एमालेभित्रको अन्तरविरोध राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटसँगै छताछुल्ल भएको छ ।
उमेर हद र कार्यकाल बन्देजलाई बेवास्ता गरी तेस्रो पटक अध्यक्षको प्रत्यासी हुन लागेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा लामो इतिहास बोकेका उपाध्यक्ष समेत रहेका पूर्वमन्त्री ईश्वर पोख्रेल मंसिर २७, २८ र २९ गते काठमाण्डौमा हुन लागेको ११ औं महाधिवेशनमा अध्यक्षको प्रत्यासी बन्ने निश्चितप्रायः भएपछि दुवै पक्षका गुटबीच शनिवार भएको प्रतिनिधि छनोटमा वाकयुद्ध मात्र भएन, हात हालाहाल, मतपत्रहरू च्यात्ने, निर्वाचन आयोगमा उजुरी दिनेसम्मका कामहरू भए । सुनसरी क्षेत्र नं. १ मा ईश्वर पोख्रेल खेमाका मानिने अनिल राजधामी आफ्नै सहकर्मीहरूबाट पिटिएका छन् । ओली पक्षले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट सर्वसम्मतिबाट आफ्ना निकटका मात्र गर्न खोजेपछि राजधामीले त्यसमा आपत्ति जनाउँदै निर्वाचनको अडान राखेपछि उनीमाथि हातपात भएको थियो । सुनसरी जिल्लामा सर्वसम्मति प्रतिनिधि छनोट कुनै पनि बुथमा हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको थियो । सम्भावित केन्द्रीय अध्यक्षका प्रत्यासी पोख्रेल समूहका राष्ट्रिय महाधिवेशन प्रतिनिधिको वाहुल्यता देखिएको छ । झापा र धनकुटामा भने दुवै समूहका प्रतिनिधि बराबरी देखिएका छन् । उता इलाम र पाँचथरमा ओली पक्षका प्रतिनिधि निर्वाचनमा हावी भएको एमाले निकट स्रोतले जानकारी दिएको छ । यसैगरि ताप्लेजुङमा प्रतिनिधि छनोट सर्वसम्मति रुपमा भएको छ जसमा दुवै पक्ष बराबरीको स्थितिमा रहेका छन् । उदयपुर, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा भएको प्रतिनिधि छनोट औसत बराबरी देखिएको स्रोतले जनाएको छ । एमालेका एक निर्वाचित प्रतिनिधिका अनुसार वर्तमान अध्यक्ष ओलीले हालसम्म आगामी कार्यकालका लागि अध्यक्ष लड्ने वा नलड्ने सार्वजनिक गरेका छैनन् । अध्यक्षका अर्का प्रत्यासी पोख्रेलले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । पोख्रेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको खुला समर्थन रहेकोले कोशी प्रदेशमा प्रतिनिधि छनोटमा पोख्रेल पक्ष नै हावी रहेको ती प्रतिनिधिको बुझाइ छ ।
बुथ कब्जा गरेको भन्दै उजुरी


सुनसरी क्षेत्र नं. ४ मा आफ्नो स्थिति कमजोर देखिएपछि राष्ट्रिय प्रतिनिधिका उम्मेदवारद्वय खुलातर्फका छत्रबहादुर लिम्बू र प्रदीपकुमार काफ्लेले निर्वाचन अधिकृत समक्ष निर्वाचन बदर गरी पुनः मतदान गराइपाउँ भन्दै उजुरी नै दर्ता गराएका थिए । लिम्बू र काफ्लेले दर्ता गराएको उजुरीमा भनिएको छ, नेकपा एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट सन्दर्भमा आज भएको निर्वाचनमा भोक्राहा नरसिंहको पुलचोक मतदान केन्द्रमा मतदातालाई मतदान गर्न नदिई बुथ कब्जा गरी मतदान गरिएकोले सो बुथ कब्जा गरी गरिएको मतदानबाट वास्तविक मत नआउने भएकोले सो मतदान केन्द्रमा भएको मतदान बदर गरी पुनः मतदान गराइदिनु हुन अनुरोध छ । उनीहरूले निर्वाचन अधिकृतलाई पूर्व जिल्ला कमिटी सदस्य डिल्लीबहादुर विष्ट, सोही गाउँपालिकाको पार्टी कमिटी उपाध्यक्षलाई मतदान गर्न मतदान केन्द्र पुग्दा ‘तपाईँहरूको नामबाट मतदान भइसक्यो’ भन्ने जवाफ दिइएको थियो ।
विराटनगरमा बस्नेत कुटिए
नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि छनोटका क्रममा एमालेका नेता पर्शुराम बस्नेतमाथि आक्रमण भएको छ । विराटनगरमा ‘गुण्डा नाइके’ भनेर चिनिएका र एमाले अध्यक्ष केपी ओलीका निकट मानिएका बस्नेतमाथि निर्वाचनका क्रममा हातपात हुनुलाई मोरङमा ओली पक्ष कमजोर रहेको बुझाइ एमालेभित्रै देखिएको छ । विगतमा अभिषेक गिरी र बस्नेत समूहले विराटनगरमा व्यवसायीहरूमाझ आतंक नै मच्चाएका थिए । हाल गिरी र बस्नेतबीच मेलमिलाप भएको छ । मोरङमा ओलीको खम्बाका रूपमा हेरिएका बस्नेतमाथिको आक्रमण र प्रतिनिधि छनोटमा पोख्रेल समूह हावी भएपछि महाधिवेशनमा ओलीलाई राजनीतिक घाटा हुन ओली पक्षकै कार्यकर्ताको बुझाइ छ । मोरङका अध्यक्ष ओलीका पक्षधरको लज्जास्पद हार भएको छ । मोरङका एमालेका प्रभावशाली नेता विनोद ढकालले ईश्वर पोख्रेल पक्षमा करिब–करिब सबै प्रतिनिधि निर्वाचित गराएपछि बस्नेत समूहले निर्वाचन भाँड्ने प्रयास गरेका थिए ।
धनकुटामा मतपत्र नै च्यातियो
राष्ट्रिय महाधिवेशन छनोटका क्रममा धनकुटामा मतपत्र नै च्यातेर ओली पक्षका कार्यकर्ताहरूले निर्वाचन प्रक्रियामा असहमति जनाएका थिए । प्रारम्भदेखि नै ओली पक्षका कार्यकर्ताहरूले इतर पक्षकारलाई भाग लिन नसक्ने अवस्था सिर्जना गर्दै आएको धनकुटा एमालेका एक कार्यकर्ताले बताए । उनले भने, ‘मतदान प्रक्रिया नै पहिला त गलत थियो । वडाबाटै प्रतिनिधि छनोट भएर आएपछि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट हुनुपथ्र्यो । तर यस पटक त्यस्तो
भएन । सकभर इतर पक्षका कार्यकर्तालाई मतदानमा सहभागी हुनै नदिने अवस्था सिर्जना गरियो । मतदानका बारेमा कतिपय कार्यकर्तालाई जानकारी नै दिइएन । जानकारी पाएर पुगेका कार्यकर्तालाई अनेकौँ बहानामा रोक्ने प्रयास गरियो ।’ ती कार्यकर्ताका अनुसार ओली निकट केन्द्रीय नेताहरूको गोप्य सर्कुलर नै गरिएको थियो इतर पक्षकालाई जसरी भए पनि महाधिवेशन प्रतिनिधिमा रोक्नु । तर यो सम्भव भएन । अन्त्यमा ओली पक्षकै कार्यकर्ताले मतदानमा धाँधली भयो भन्दै मतपत्र च्यातेर मतदान स्थल बाहिर फालेका थिए ।

