धरान । धरान–१५ स्थित हिविस्कस इङ्लिस बोर्डिङ स्कुलद्वारा आयोजित हिबिस्कस क्विज मेनिया सिजन–४ का लागि हालसम्म धरान, इटहरी, इनरुवा, बराहक्षेत्र, मोरङ सहित विभिन्न स्थानका २५ विद्यालयले नाम दर्ता गराइसकेका छन् । विद्यालयका निर्देशक गंगाराम राईका अनुसार दर्ताको अन्तिम मिति मंसिर २५ राखिएको छ र सो मितिसम्म इच्छुक विद्यालयले सहज रूपमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । विद्यार्थीमा पुस्तक पढ्ने बानी विकास, विश्लेषण क्षमता, आत्मविश्वास वृद्धि तथा लोकसेवा स्तरका प्रश्न–उत्तरमा दक्षता अभिवृद्धि प्रतियोगिताको मुख्य उद्देश्य रहेको विद्यालयले जनाएको छ । आगामी पुस ९ र १० गते विद्यालय परिसरमै कार्यक्रम सञ्चालन हुने छ । पहिलो दिन समूहमा टिक लगाएर छनोट प्रक्रिया हुनेछ भने दोस्रो दिन प्रश्न–उत्तर प्रतियोगिता हु्ने संयोजक सुवास मोक्तानले जानकारी दिनुभयो ।

२०६२ सालमा स्थापना भएको हिविस्कस इङ्लिस बोर्डिङ स्कुलले गुणस्तरीय, अनुशासित र नैतिक मूल्यमा आधारित शिक्षा प्रदान गर्दै आएको छ । समावेशी शिक्षाको माध्यमबाट निम्न आय भएका परिवारका बालबालिकालाई पनि समान अवसर उपलब्ध गराउँदै आएको विद्यालयले विद्यार्थीको बौद्धिक विकासमा उल्लेखनीय योगदान पु¥याइरहेको छ। विगत तीन वर्षदेखि अन्तर–विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको यो विद्यालयले यस वर्षदेखि प्रतियोगितालाई खुला कोशी प्रदेशस्तरमा विस्तार गरेको छ, जसअनुसार प्रदेशका १४ जिल्लाबाट अधिकतम सहभागिता हुने अपेक्षा रहेको छ । प्रतियोगिताका पुरस्कार राशिमा प्रथम, द्वितीय, तृतीय, चौथौ र पाँचौ स्थानका विजेताले क्रमशः २० हजार, १५ हजार, ८ हजार, ६ हजार र ४ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । साथै सान्त्वना विधामा २ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ । पुस ९ गतेको प्रारम्भिक चरणबाट छनोट हुने उत्कृष्ट ६ टोली पुस १० गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । २०७९ सालमा सुरु भएको क्विज मेनियामा क्रमशः हिविस्कस स्कुल, नेपाल पुलिस स्कुल र पुनः हिविस्कस स्कुल विजेता बनिसकेका छन् ।
