आजदेखि चासोक तङनाम शुरु

धरान । सुनसरीको धरान स्थित चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङ, उपमहानगर कार्यसमिति धरानद्वारा आयोजित यस वर्षको चासोक तङ्नामु (न्वागी पूजा) परम्परागत विधि, श्रद्धा र सांस्कृतिक उत्साहसँगै मनाउन व्यापक तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ । किरात याक्थुङ चुम्लुङ
धरानका अध्यक्ष तीर्थराज मादेम्बाका अनुसार किरात लिम्बू समुदायको मौलिक, सांस्कृतिक र धार्मिक पहिचानको मुख्य चाड मानिने चासोक कृषि चक्रसँग गहिरो सम्बन्धित पर्व हो। उधौली याममा अन्नबाली भित्र्याएपछि प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ फलाएको अन्न पहिलोपटक देवी–देवतामा चढाउने परम्पराबाट यसको प्रचलन सुरु भएको लिम्बू मुन्धुममा उल्लेख पाइन्छ ।

ऐतिहासिक मान्यताअनुसार आदिकालमा सावा येत्हाङले कन्दमूलको भरमा जीवनयापन गर्नुपरेका कारण तागेरा निङवाफु माङसँग प्रार्थना गरेपछि अन्नबालीका बीउ प्राप्त भएको विश्वास गरिन्छ। मानवलाई खेतीपाती सिकाउने सिबेरा एक्थुक्मा र सिबेरा याबुङ्केक्मा देवीप्रति कृतज्ञता स्वरूप न्वागी चढाउने प्रचलन चासोक पर्वको मूल आधार बनेको बताइन्छ । चासोक तङ्नाम ५०८५ भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरिएको छ। मंसिर १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रममा सरसफाइ अभियान, पूजा, माल्यार्पण, तङसिङ अनुष्ठान, सांस्कृतिक प्रस्तुती, च्याब्रुङ (केलाङ) प्रदर्शन, याक्थुङजन्य खेल प्रतियोगिता तथा विभिन्न जातजातिका सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ। हरेक साँझ ५ः०० बजेदेखि १०ः३० बजेसम्म विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । मंसिर १७ गते विजयपुर र शिरिजङ्गा चोकमा सरसफाइ कार्य हुने छ । १८ गते चासोक पूजा, सरसफाइ तथा शिरिजङ्गा सालिकमा माल्यार्पण गरिनेछ । १९ गते उदघाटनसँगै बाल कलाकारको सांस्कृतिक प्रस्तुती हुनेछ । मंसिर २० गते च्याब्रुङ नाच, जलाङ–पालाम र अन्य सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । मंसिर २१ गते याक्थुङजन्य खेलहरू–पक्लुङ लेप्पा, तोड आप्मा, लि आप्मा आदि—गराइने छन ्। अन्तिम दिन मंसिर २२ गते विभिन्न जनजातिका सांस्कृतिक प्रस्तुतिसहित समापन तथा ‘सायोँ तरेजा’ (पाहुना खाना) कार्यक्रम हुनेछ ।

तपाईको प्रतिक्रिया