धरान । धरानलाई खेलकुदको शहरका रूपमा चिनाउने उद्देश्यसहित पहिलो पटक धरान खेलकुद महोत्सव आयोजना हुने भएको छ ।
धरान खेलकुद मञ्चद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मंसिर २५ देखि पुस १० गतेसम्म
धरान रङ्गशालाको कवर्ड हल छेउको मैदानमा सञ्चालन हुने जानकारी दिइएका छ । यसैगरि करिब छ वर्षदेखि रोकिएको धरान स्कुल ओलम्पिक पनि यही क्रममा पुनः सुरु गरिने भएको छ, जसको आयोजना माघ ५ देखि १२ गतेसम्म हुनेछ । धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईका अनुसार १५ दिन लामो यो महोत्सव व्यापारिक नभई पूर्ण रूपमा खेलकुदमा केन्द्रित हुनेछ । धरान स्थापना दिवसको अवसर पारेर आयोजना हुन लागेको महोत्सवमा पूर्व–वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूले प्राप्त गरेको पदक तथा खेल सामग्रीहरूको विशेष प्रदर्शनी रहनेछ । साथै वर्ष खेलाडी, प्रशिक्षक तथा लिजेण्ड खेलाडी सम्मानसमेत गरिने बताइएको छ । महोत्सवमा फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायत विविध खेलका थिम स्टल राखिनेछन् । स्टलहरूमा खेलकुदसम्बन्धी विभिन्न खेलहरू सशुल्क रुपमा खेल्न सकिनेछ। प्रत्येक साँझ सांस्कृतिक तथा सांगीतिक कार्यक्रमहरू हुनेछ भने आगन्तुकका लागि आदिवासी–जनजातीय परिकारका स्टल पनि उपलब्ध हुनेछन् । अध्यक्ष राईका अनुसार व्यावसायिक खेलकुद विकास, खेलाडी सम्मान तथा नगरको खेलकुद पहिचानलाई औपचारिक बनाउन महोत्सवको समापन समारोहमा ‘धरान—खेलकुदको शहर’ घोषणा गर्ने प्रस्ताव अघि सारिएको छ ।
महोत्सवबाट संकलित सबै रकम धरान–१७ स्थित सप्तरङ्गी पार्कमा ‘खेलाडी स्मारक’ निर्माणमा खर्च गरिने योजना प्रस्तुत गरिएको छ। एन्फा टेक्निकल सेन्टर नजिक रहेको यो पार्क खेलकुद पर्यटनको अभिवृद्धिका लागि महत्वपूर्ण हुने आयोजकको विश्वास छ । स्मारकमा धरान तथा नेपालका लागि अन्तर्राष्ट्रिय पदक विजेता र योगदान पु¥याएका लिजेण्ड खेलाडीहरूको शालिक स्थापना गरिनेछ ।

यससँगै लामो समयदेखि रोकिएको स्कुल ओलम्पिक पनि पुनः सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समिति विगतका वर्षमा गठन नहुँदा तथा कोरोना महामारीका कारण ओलम्पिक स्थगित हुँदै आएको थियो । यस वर्ष भने धरान खेलकुद मञ्चको व्यवस्थापनमा माघ ५ देखि १२ गतेसम्म मेयर कप स्कुल ओलम्पिक आयोजना हुनेछ । स्कुल ओलम्पिक १२ खेल विधामा सञ्चालन हुनेछ—सितोरियो कराँते, फुटबल, टेबल टेनिस, टेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, भलिबल, क्रिकेट, एथलेटिक्स, उसु, जुडो र सेपाक्ताक्रो खेल रहनेछन् । उद्घाटन धरान–१५ स्थित क्रिकेट मैदानमा क्रिकेट खेलबाट सुरु हुन आयोजकले जनाएको छ । अन्य खेलहरू सम्बन्धित खेलका खेलमैदानमै गराइनेछन् । अध्यक्ष राईका अनुसार ओलम्पिकले स्कुले खेलाडीलाई अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने आधार र उत्साह प्रदान गर्नेछ । स्कुल ओलम्पिकको अनुमानित लागत २८ लाख रुपैयाँ रहेको छ, जसमा धरान उपमहानगरपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ। बाँकी रकम मञ्चले प्रायोजकहरू मार्फत जुटाउने निर्णय गरेको छ ।
