बेलबारी । केही समय अगाडि मात्रै औपचारिक रूपमा दर्ता भएको र कार्यविभाजन गरेको कोशी साहित्य कला परिषद्ले मंसिर १४ गते आइतबार पहिलो सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ । बरिष्ठ साहित्यकार पुण्य सुवेदी जीवनी, उहाँको व्यक्तित्व र उहाँका रचनाहरू माथि व्यापक ढङ्गले विमर्श गरेर सार्वजनिक कार्यक्रम सम्पन्न गरेको हो । बेलबारीका स्थानीय व्यक्तित्व सुवेदीका बारेमा परिषद्ले पहिलो बैठक विमर्श कार्यक्रम सम्पन्न गरेको हो ।
बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा भएको उक्त कार्यक्रममा कोशी प्रदेशका दर्जनौँ साहित्यकार, लेखक, सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । परिषद्का अध्यक्ष केसु विरहीको अध्यक्षतामा सम्पन्न उक्त विमर्श कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, बरिष्ठ साहित्यकार केशव आचार्य, समीक्षक डा. दिपक प्रसाद न्यौपाने, मिश्र वैजयन्ती, भाषाविद् अमृत प्रसाद आचार्य, सुकुना बहुमुखी क्याम्पसका क्याम्पस पूर्व प्रमुख प्रेमप्रसाद भट्टराई, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोख्रेल, छन्द बाटिका नेपाल विराटनगरका अध्यक्ष हरि कट्टेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत वर्वारिक, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ्ग साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, बेलबारी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी लगायतको विमर्श कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्यिक गतिविधिका लागि कोष निर्माणका विषयमा समेत गहन चर्चा भएको थियो । आवश्यक कोषको अभावमा सिर्जनात्मक साच, भावना लिएर उत्साहका साथ कार्यक्रम आयोजना गर्ने गरिए तापनि केही समयमै त्यस्ता संस्थाहरू बन्द हुन पुगेको भन्दै संस्थाका नाममा १ करोडको अक्षयकोष स्थापना गर्ने तयारी शुरु भएको छ । यसका निम्ति साहित्यिक अनुरागी, समाजसेवी तथा साहित्यको उत्थानमा समर्पित व्यक्तित्वहरूबाट कोष निर्माणका पहल गरिने परिषद्का अध्यक्ष विरहीले जानकारी दिनुभयो ।
