सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७, बत्तिस टोल क्षेत्रमा लागू औषधको ओसार–पसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६, प्रेम तामाङको घरमा बस्दै आएका पर्वत जिल्लाको मोदी गाउँपालिका–६ घर भएका २७ वर्षीय दिनेश तामाङलाई चेकजाँच तथा खानतलासी गर्दा ठूलो परिमाणमा लागू औषध फेला पारेको जनाएको छ । प्रहरीका अनुसार तामाङको साथबाट ९ पत्तामा ८७ थान क्याप्सुल, ९ पत्तामा ८८ थान ट्याब्लेट फेला परेको हो । यी सबै लागू औषध (क्याप्सुल र ट्याब्लेट) अवैध रूपमा राखी ओसारपसार गरिएको आशंका प्रहरीले गरेको छ । प्रहरीले तामाङलाई लागू औषधसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
