धरान । धरानमा यस वर्ष पनि धार्मिक उत्साहसँगै इस्कोन धरानले १७ औँ जगन्नाथ रथयात्रा–२०८२ भव्य रूपमा आयोजना गर्ने भएको छ । मंसिर २० गते शनिबारका दिन सम्पन्न हुने कार्यक्रममा भगवान् श्री जगन्नाथ, बलदेव तथा सुभद्रा महारानी सुवर्णरथमा सवार भई शहर परिक्रमा गर्दै भक्तजनलाई दर्शन दिनेछन् । इस्कोन धरानका अध्यक्ष अधिराज राई र सनसरी जिल्ला अध्यक्ष बावुराम राईलगायत नेपालभरका विभिन्न इस्कोन केन्द्रका पदाधिकारीहरूको उपस्थितिमा कार्यक्रम हुनेछ । रथयात्राको मूल आयोजक समिति अध्यक्ष डा. मदन कोइरालाले विदेश र नेपाली भक्तजनहरु गरी करिब ४ हजार भक्तजनका लागि महाप्रसादको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगद्गुरु वालसन्त मोहनशरण देवाचार्य रहनुहुनेछ भने परम् पूजनीय महाविष्णु स्वामी महाराज र श्रद्धेय पात्री दास विशिष्ट अतिथिका रूपमा सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो । कार्यक्रमको तालिका अनुसार विहान १०ः३० बजेबाट औपचारिक उदघाटनसहित मङ्गलाचरण, आरती, प्रवचन र कथा सुरु हुनेछ । ११ः३० बजे प्रमुख अतिथिबाट श्री जगन्नाथको रथारोहण तथा पूजा आरती सम्पन्न गराइनेछ । मध्यान्ह १२ः३० बजे इस्कोन धरान मन्दिरबाट रथयात्रा प्रस्थान हुनेछ । रथयात्रा इस्कोन धरान–समीचोक–पुरानो बजार–भानुचोक–छाताचोक हुँदै पुनः मन्दिर फर्कनेछ । दिउँसो २ः०० बजे रथ पुनः मन्दिरमा आगमनपछि भक्तजनलाई महाप्रसाद वितरण गरिनेछ । आयोजक इस्कोन धरानले सम्पूर्ण भक्तजनलाई सहभागिता जनाइ रथयात्रालाई भक्तिमय र सफल बनाउन हार्दिक निमन्त्रणाको आग्रह गरेको छ ।
