सुनसरी , विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरी जिल्लामा ठूलो परिमाणको लागू औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब १४ः०० बजे इनरुवा नगरपालिका–४, पूर्व–पश्चिम राजमार्गअन्तर्गत इनरुवा पूर्व बस स्टेशन सडकछेउमा लागू औषध ओसार–पसार तथा कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उक्त स्थानमा चेकजाँच सञ्चालन गरेको थियो ।

चेकजाँचका क्रममा सप्तरी, राजगढ गाउँपालिका–३ का २९ वर्षीय दिलिप कुमार मण्डल र हनुमाननगर–कंकालिनी नगरपालिका–६ का २३ वर्षीय शिवदत्त मण्डललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तलासीका क्रममा दिलिप कुमार मण्डलको साथबाट दुई बट्टामा राखिएको अवस्थामा प्लास्टिकका पोकाभित्र प्याक गरिएको ब्राउन सुगर जस्तो देखिने १०२ ग्राम र १०० ग्राम गरी जम्मा २०२ ग्राम लागू औषध फेला परेको प्रहरीले जानकारी दिएको छ ।
उनीहरूलाई बरामद गरिएको लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान जारी राखिएको बताइएको छ ।
