पहिचानलाई स्थापित गर्दै खस प्रतिष्ठानको केन्द्रीय साधारणसभा सम्पन्न

धरान । पछिल्लो समय सबै जातजातिले आफ्नो भाषा, संस्कृतिलाई जीवन्तता दिन पुस्तान्तरण अभियानलाई तिब्रता दिन थालेको छ । यसै क्रममा खस जातिहरुको संगठन खस समाज प्रतिष्ठान नेपालले आफ्नो स्थापनाको नौ बर्ष पुगेको अवसरमा खस क्षेत्रीहरुको पहिचान झल्कने खालका र्साँकृतिक कार्यक्रमलाई उजागर गरेको छ । धरान ६ पानबारीमा आयोजना गरिएको खस समाज प्रतिष्ठान नेपालले आयोजना गरेको सो कार्यक्रममा खसहरुले उत्सव वा पर्वमा प्रयोग गरिने साँस्कृति नृत्य प्रस्तुत गरे । विवाह, ब्रतबन्ध, पूजाआजा तथा विभिन्न उत्सवमा नाचिने संगीनी नाँच युवा पुस्ताले अन्त्यन्तै उत्कृष्ट ढंगले प्रस्तुत गरे । पहिला पहिला अग्रणी महिलाहरुले प्रयोग गर्ने यो नृत्य खस समाज प्रतिष्ठानको नौ बार्षिकोत्सवमा युवतीहरुले अत्यन्तै उत्कृष्ट रुपमा प्रस्तुत गर्दा सबै मन्त्रमुग्ध भएका थिए ।


सो अवसरमा उनीहरुले खसहरुको इतिहास र पहिचानका कुरालाई विशेष रुपमा उठाएका थिए । उनीहरुले इतिहासको कुरामात्र हैन नेपालको संविधान २०७२ मा सबै जातजातिको आरक्षण कोटाको व्यवस्था भइरहदा खस क्षेत्रीयहरु भने उपेक्षामा परेको गुनासो समेत गरे । प्रतिष्ठानका सहसचिव लक्ष्मी बानियाले आरक्षण कोटा हुदाहुदै पनि संविधानमै उल्लेख गरिएको आरक्षणको कोटा खसहरुले पाउन नसकेको बताउनुभयो । कार्यक्रममा धरान उपमहानगरपालिका उपमेयर अइन्द्रविक्रम बेघाले स्थानीय सरकार धरान उपमहानगरपालकाले सबै जातजातिलाई समेटर अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त खस समाजका केन्द्रिय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की लगायतका वक्ताहरुले खसहरुको आवाज बुलन्द बनाउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रतिष्ठानलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा निरन्तर सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो भने खस समुदायबाट विराट टिचिङ हस्पिटलबाट एमबीबीएस उत्तीर्ण गर्नुभएकी कमला कटुवाललाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया