धरान । फोकस क्लब धरान–१६ले आफ्ना सल्लाहकार तथा धनकुटा सेवा समाज दक्षिण कोरिया अध्यक्ष समाजसेवी प्रदेश राईलाई एक कार्यक्रममार्फत विदाई गरेको छ । सोही कार्यक्रममा क्लब सदस्य लक्ष्मी याक्खालाई पनि सम्मानपूर्वक विदाई गरिएको थियो । समाजसेवी राईले विगत धेरै वर्षदेखि क्लबका विभिन्न सामाजिक र खेलकुद गतिविधिमा निरन्तर सहयोग गर्दै आउनुभएको छ । नेपाल आगमनको अवसरमा क्लबले उहाँको योगदानको कदर गर्दै सम्मानसमेत प्रदान गरेको क्लबका सचिव उमेश जिमिले बताउनुभयो । उहाँका अनुसार दक्षिण कोरियामा रहँदै सफल व्यवसायसँगै फुटबल खेलको प्रवद्र्धन तथा समाजसेवामा सक्रिय रहनुभएको राईलाई फुटबल क्षेत्रमा अझ प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले सम्मान गरिएको हो ।


राईले दक्षिण कोरियामा अलपत्र परेका, बेरोजगारीका कारण समस्यामा परेका नेपाली श्रमिकलाई विगत दस वर्षदेखि सहयोग गर्दै आउनुभएको छ । त्यहाँ उहाँले फुटबल खेलमार्फत नेपाली समुदायबीच भाइचारा र एकताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । सम्मानले आफूलाई आगामी दिनमा पनि खेलकुद र सामाजिक सेवामा अझ सक्रिय हुन प्रेरणा मिलेको राईले बताउनुभयो । कार्यक्रममा क्लबका अध्यक्ष दिलिप भुजेल र उपाध्यक्ष मञ्जु उदाशले सल्लाहकार राई तथा सदस्य याक्खालाई मायाको चिनो प्रदान गर्दै विदाई गर्नुभएको थियो । सो अवसरमा धरान–१६ का जनप्रतिनिधि भीम सुव्वा, वडा नं. ५ का सदस्य विजय राई, सल्लाहकार विकास मगर, देवराज अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


