एआइ फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआइ रेडी फ्युचर कार्यक्रम सम्पन्न

धरान । नेपालस्थित भारतीय दूतावासले एआई एसोसिएसन अफ नेपालसँगको साझेदारीमा मंसिर ५ गते एआइ फर इन्क्लुसिभ ग्रोथ ः बिल्डिङ नेपाल्स एआइ रेडी फ्युचर कार्यक्रम सम्पन्न गरेको छ । आयोजित कार्यक्रमलाई आगामी फागुन ७ र ८ गते भारतको नयाँदिल्लीमा आयोजना हुने एआइ इम्प्याक्ट समिटको आधिकारिक प्रि–समिटको रूपमा मान्यता दिइएको छ । आयोजित कार्यक्रममा छलफलका प्रमुख क्षेत्रहरूमध्ये आर्टिफिसियल इन्टेलिजेन्समा हालै भएका विकास र एआई इम्प्याक्ट समिट पनि रहेका थिए । सो अवसरमा स्टार्टअपहरू, सरकारी निकायहरू, चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आइटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, शैक्षिक संस्थाहरू, लिंक टेकहरू र सञ्चार माध्यमका गरी ४ सयभन्दा बढीको सहभागिता रहेको थियो । काठमाडौंमा आयोजित उक्त प्रि–समिट कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । उहाँले नेपाल सरकारका एआइ सम्बन्धी प्रयासहरू र यस क्षेत्रमा सहकार्यको सम्भावनाहरूका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रमको पूर्ण सत्रमा बोल्दै भारतीय राजदूत नविन श्रीवास्तवले भारतले Ai For ALL को दृष्टिकोणमा अन्तरनिहित सिद्धान्तहरूको व्याख्या गर्नुभएको थियो । उहाँले भन्नुभयो, आगामी हुन लागेको एआइ इम्प्याक्ट समिटको उद्देश्य एआइ सम्बन्धी विश्वव्यापी व्याख्यानलाई परिवर्तन गरी एआइले हाम्रो जीवनका सब पक्षहरूमा पार्ने प्रभाव र यसको भविष्यमा हुने अभिव्यक्तिहरूमा केन्द्रित हुने कुरामा जोड दिनुभएको थियो । उहाँले नेपाली युवाहरूलाई AI for ALL, AI for HRE, YUVAI जस्ता विभिन्न एआई चुनौतीहरूमा ठूलो संख्यामा सहभागी हुन पनि प्रोत्साहन दिनुभयो ।


दूतावासद्वारा जारी विज्ञप्तिका अनुसार डिजिटल इन्डिया भाषिणी डिभिजनका प्रमुख कार्यकारी अधिकारी अमिताभ नागल AI for ALL को भावना अनुरूप भारतमा सार्वजनिक सेवाहरूको रूपान्तरणमा भाषिणीको भूमिकाको विषयमा आफ्ना धारणाहरू राख्नुभएको थियो । अब्जर्भर रिसर्च फाउण्डेशन, डिजिटल सोसाइटीज इनिसिएटिभका निर्देशक अनिर्वान शर्माले सहभागीहरूलाई एआइ इम्प्याक्ट समिटका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा एआइ एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोख्रेलद्वारा सञ्चालित लेभरेजिङ एआइ फर नेपाल्स ग्रोथ विषयक एक विज्ञमण्डलबीच छलफल भएको थियो । विज्ञमण्डलमा नेपाल सरकारका सहसचिव आदेश खड्काले नेपालको लागि एआइ नीति विकास गर्ने बारेमा आफ्नो धारणा राख्नुभएको थियो । रोबोटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष इन्जिनियर विकास गुरुङले नेपालको युवाहरूमा रोबोटिक्स र एआइ बनाउने प्रवृत्ति बढाउनका लागि गरिएका प्रयासहरूका बारेमा व्याख्या गर्नुभएको थियो । बुद्धि सञ्जालका संस्थापक शिक्षित भट्टले नेपालको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर स्टयाकका लागि एआई किन एक प्रमुख अंग हुन सक्छ भन्ने सम्बन्धमा व्याख्या गर्नुभएको थियो । यसैगरी अमिताभ नाग र अनिर्वान शर्माले पनि भारतको एआइ क्षेत्रका अनुभवहरू छलफलमा साझेदारी गर्दै सहभागीता जनाउनु भएको थियो । कार्यक्रमको समापन एआइ एसोसिएसन अफ नेपालका राम शर्मा भट्टराई र दर्शन पराजुलीद्वारा एआइ उपकरण र वास्तुकला सम्बन्धी कार्यशालासँगै गरिएको थियो । कार्यशालामा भारतमा भाषिणी एआइको प्रयोगका औद्योगिक केस स्टडीहरू पनि प्रस्तुत गरिएको थियो । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालको समेत उपस्थिति रहेको थियो । यहाँ स्मरणीय कुरा के छ भने सन् २०२६ फेब्रुअरीमा आयोजना हुने एआइ इम्प्याक्ट समिटमा अन्य कुराहरूका साथै तीनवटा विश्वव्यापी चुनौतीहरू र एक अनुसन्धान गोष्ठी समेत हुने विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया