इलामपछि भारतद्वारा हेटौडामा ७० मिटर लामो मोड्युलर पुलका सम्पूर्ण सामग्री हस्तान्तरण

काठमाडौँ । विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्ने उद्देश्यले भारत सरकारद्वारा बागमती प्रदेशका हेटौडामा ७० मिटर मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरू कात्तिक ४ गते हस्तान्तरण गरेको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले विहीबार हेटौडामा आयोजित एक समारोहका बीच नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई उक्त पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने उपकरणहरू हस्तान्तरण गर्नुभएको थियो । कोशी प्रदेशका इलाममा सन् २०२५ अक्टोबरको अविरल वर्षाका कारण मोटरेबल पुलहरू क्षतिग्रस्त बनेपछि नेपाल सरकारको अनुरोधमा भारतले त्यस्ता पुलहरू उपलब्धसँगै जडान गरिदिएको थियो । भारत सरकारले नेपालका विभिन्न स्थानका लागि यस्ता ७० मिटर लामो र अग्लो स्प्यान १० वटा पुलहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतले उपलब्ध गराउने १० वटा मोड्युल र बेलिब्रिज पुलको कुल लागत नेरु ७३ करोड रहेको र सबै पुलहरू अनुदानमा उपलब्ध गराउने भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

विहीबार राजदूत श्रीवास्तवले हस्तान्तरण गर्नुभएको दोस्रो मोड्युल पुललाई तुरुन्तै रामेछापमा जडान गर्न पठाइने भएको छ जहाँ सन् २०२५ अक्टोबरमा आएको भारी वर्षाका कारण सडक कनेक्टिभिटी प्रभावित भएको छ । विज्ञप्तिमा भनिएको छ गत वर्ष अर्थात् सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले नेरु ४१ करोड बराबरको १० वटा प्रि–फ्याब्रिकेट स्टिल ब्रिजहरू उपलब्ध गराएको थियो । उपलब्ध गराइएका ती स्टिल ब्रिजहरू हालसम्म विभिन्न स्थानमा ४ वटा जडान भइसकेका छन् । हस्तान्तरण कार्यक्रममा राजदूत श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणको आपूर्ति भारत र नेपालबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने मित्रताको दीगो सम्बन्धको शक्तिशाली प्रमाण भएको र नेपालको पूर्वाधार विकास र विपद्पछिका पुनःनिर्माण प्रयासहरूको लागि सबै सम्भव सहयोग उपलब्ध गराउने भारत सरकारको नीति रहेको प्रष्ट पार्नुभएको थियो । यसैगरी नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री घिसिङले भारतको निरन्तर र महत्वपूर्ण सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । उहाँले छिटो जडान गर्न सकिने यस्ता पुलहरू तथा पुल जडान गर्न प्रयोग हुने उपकरणको उपलब्धता आपत्कालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्तै महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री घिसिङले पुल छिट्टै सञ्चालनमा ल्याइने समेत प्रतिबद्धता गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया