धरान । अन्तर्राष्ट्रिय विद्यार्थी दिवसको अवसरमा रोट्रयाक्ट क्लब अफ धरान घोपाले ‘३एच कार्यशाला ः हेल्थ, हाइजिन एण्ड हेल्प’ नामक महत्वपूर्ण सामाजिक परियोजना ईटहरीस्थित एसओएस हर्मन ग्माइनर सेकन्डरी स्कूलमा सफलतापूर्वक सम्पन्न गरेको छ । यस परियोजनाको मुख्य उद्देश्य विद्यार्थीहरूलाई स्वास्थ्य, स्वच्छता तथा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गर्नु रहेको थियो । कार्यक्रमका क्रममा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई दन्त स्वास्थ्य, दन्त–स्वच्छता राख्ने उपायहरू तथा सही ब्रसिङ विधिबारे विस्तृत रूपमा जानकारी दिइयो । यस्तै, कक्षा ६ देखि १० मा अध्ययनरत बालिकाहरूका लागि मासिक धर्म स्वच्छता तथा सुरक्षित व्यवहारका विषयमा शैक्षिक अभिमुखीकरण सञ्चालन गरिएको थियो ।


विद्यार्थीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, आकस्मिक अवस्थामा अपनाउनुपर्ने सावधानी तथा आवश्यक तत्कालीन कदमहरूबारे डेमोन्स्ट्रेसनसहित व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो, जसले उनीहरूमा आत्म–सुरक्षासम्बन्धी सीप र जागरूकता वृद्धि गरेको सहभागीयहरूले बताएको छन् । कार्यक्रममा रोट्रयाक्ट क्लबका दर्जनौँ स्वयंसेवकहरू सक्रिय रूपमा खटिएका थिए । उनीहरूले समूहगत सिकाइ, प्रत्यक्ष डेमोन्स्ट्रेसन, सामग्री व्यवस्थापन, कक्षा संयोजन तथा शिक्षण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सम्पूर्ण कार्यशालालाई अझ सहज, व्यवस्थित र प्रभावकारी बनाएका थिए । कार्यक्रम संयुक्त सचिव विवश पौडेल तथा कम्युनिटी सर्भिस निर्देशक अनुष्का खड्काको उपस्थितिमा सम्पन्न भएको थियो । सम्पूर्ण परियोजना प्रेसिडेन्ट–इलेक्ट अञ्जली सुवेदीको योजनारचना र नेतृत्वमा सञ्चालन गरिएको हो । यस परियोजनाबाट करिब ७ सय विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्, जसले विद्यालय तहमा स्वास्थ्य तथा स्वच्छताप्रति सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । रोट्रयाक्ट क्लब अफ धरान घोपाले समुदाय–केन्द्रित यस्ता स्वास्थ्य, स्वच्छता तथा चेतनामूलक कार्यक्रमहरू भविष्यमा पनि निरन्तर सञ्चालन गरिने जनसम्पर्क अधिकृत सरु राय क्षेत्रीले जानकारी दिइन् ।


