धरान/ पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस पछिल्लो समय आन्दोलनको अखडा बन्दै गएको छ ।
साउन ३० गते सिभिल इन्जिनियर तेस्रो बर्षका विद्यार्थीहरुले परीक्षाको नतिजा प्रकाशन नभएको विषयलाई लिएर तालानबन्दी गरेको १० दिन नबित्दै पुन : इलेक्ट्रोनिक्स एण्ड कम्प्युटर विभागका तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुले शुक्रबारक्याम्पस प्रशासनको दुई कुर्सी र एउटा सूचना बोर्ड बाहिर निकालेर जलाउनुको साथै नाराबाजी गरेका थिए ।
आक्रोसित विद्यार्थीले गरेको आन्दोलनका कारण क्याम्पस केहीबेर तनावग्रस्त बनेको थियो ।
सम्बन्धित विषयका दक्ष चिकित्सक नभएको, पुस्तकालयमा पुस्तककको अभाव र प्राक्टिल नहुने गरेको भन्दै उनीहरुले यी अत्यावश्यक कुराहरु अविलम्ब पूरा गर्नुपर्ने माग राख्दै आन्दोलन चर्काएका हुन् ।
आन्दोलनका कारण क्याम्पसको पढाई ठप्प हुनुका साथै विद्यालय परिषर नै अस्तव्यस्त बनेको थियो । आक्रोसित विद्यार्थीहरुले यी सम्पूर्ण कुराहरुमा क्याम्पस प्रशासनले वेवास्ता गरे अनिश्चितकालीन क्याम्पस बन्द गर्ने चेतावनीसमेत दिएका छन् । आन्दोलनरत विद्यार्थी किशोर लिम्बुले यस क्याम्पसमा पढ्न्े विद्यार्थीहरुको भविष्य अन्यौल हुने बताउनुभयो । उहाले दक्ष शिक्षकको अभावमा कक्षा सञ्चालन हुने, लाइब्रेरीमा पुस्तको अभावमा विद्यार्थीहरुले विना अध्ययन परीक्षा दिनुपर्ने र प्राक्टिल कक्षा प्राय: नहुने भएकोले यहाका विद्यार्थीहरु बर्षौदेखि पीडितबन्दै आएको बताउनुभयो ।
असोज ४ गतेदेखि तेस्रो बर्षका विद्यार्थीहरुको परीक्षा शुरु हुने भएपनि पुस्तकको सवालमा क्याम्पस प्रमुख लगायत प्रशासनले केही चासो नदिएकोले आन्दोलनमा उत्रनु परेको उहाको भनाई छ ।
यता क्याम्पसका शैक्षिक विभाग प्रमुख रोहित दंगालले सानो सानो कुरामा विद्यार्थीहरुले आन्दोलन गर्ने परम्परा नै बसिसकेको बताउनुभयो । उहाले सही काम गर्नेलाई पुरस्कार र गलत काम गर्नेलाई कारबाही गर्ने प्रक्रियालाई क्याम्पस प्रशासनले कडा भन्दा कदम नचालेसम्म यहाका विद्यार्थीहरुले गरेको आन्दोलन कहिल्यै नटुंगिने बताउनुभयो ।
विद्यार्थीहरुको पटक पटकको आन्दोलनले यहा कार्यरत शिक्षक, कर्मचारीहरुसमेतले हैरानी व्यहोर्नुपरेको भन्दै क्यामपस प्रशासनतर्फबाट समेत एक साता कक्षा सञ्चालन नगर्ने बताउनुभयो ।
सोही विषयलाई लिएर हिजो विद्यार्थीहरु क्याम्पसचिफसमक्ष डेलिकेशन गएका थिए । डेलिकेशनलाई प्रशासनले सुक्ष्म रुपले लिएको तर गम्भीररुपमा नलिएको विद्यार्थीहरुको आरोप छ । विद्यार्थीहरुको मागलाई पूरा नगरे क्याम्पस अनिश्चितकालीन बन्द गर्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् । वार्ता अझै हुन नसक्दा क्याम्पसको अवस्था अझै डावाडोल रहेको छ ।
