कोशी प्रदेशको इलाम बाढी पहिरोबाट बढी प्रभावित : ५० को मृत्यु, सयौँ घाइते, दर्जनभन्दा बढी बेपत्ता

इलाम । न्यून चापीय मौसम प्रणाली सक्रिय हुँदा शुक्रबार, शनिवार र आइतबार भएको भारी वर्षाका कारण कोशी प्रदेशको इलाम जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । तीन दिनसम्मको अविरल वर्षाका कारण इलामका विभिन्न स्थानमा पहिरोमा पुरिएर ५० भन्दा बढीको मृत्यु भएको, दर्जनौँ बढी बेपत्ता भएका, सयौँ घाइते भएका छन् भने अर्बौँको निजी तथा सार्वजनिक संरचना ध्वस्त भएको छ । अविरल वर्षाका कारण मुलुकका अन्य स्थानमा समेत ठूलो धनजनको क्षति भएको भए तापनि इलाम कोशी प्रदेशमा सबैभन्दा बढी क्षति भएको जिल्लामा दरिएको छ । इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिनुभएको जानकारी अनुसार मेची राजमार्गका तीन वटा पक्की पुलहरू बाढीले बगाएको छ । केचना–कञ्चनजंघा सडक खण्डमा रहेको माइ खोलाको बेलासे पुल, खुवा खोलाको पुल, जोगमाई पुल पूर्ण रूपमा नष्ट भएको छ भने अन्य कैयौँ पुलहरूमा क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार ग्रामीण क्षेत्रहरूमा भएको सम्पूर्ण क्षतिको विवरण आइसकेको छैन । विवरण संकलनको कार्य भइरहेको छ । उहाँले भन्नुभयो, हालसम्म बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । यो संख्या अझै बढ्न सक्छ, कैयौँ बाढी पहिरोमा हराइरहेका छन् ।


उनीहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर खोजी कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार हालसम्म पहिचान खुलेका मृतकको संख्या ३८ पुगेको छ । जसमा—फाकफोकथुम गाउँपालिका रातमाटेका २८ वर्षीय सुरेश लिम्बु, सूर्योदय नगरपालिका वडा नं. १ मानेभन्ज्याङकी ६५ वर्षीया मनमाया क्षेत्री, सोही स्थानकी १० वर्षीया बालिका रस्मिका क्षेत्री, ४५ वर्षीय दिप बस्नेत, ४४ वर्षीय भवानी बस्नेत, १२ वर्षीया बालिका दिब्या बस्नेत, इलाम नगरपालिका वडा नं. ६ का २३ वर्षीय समिर देउजाली, २३ वर्षीय प्रवीण तामाङ, २३ वर्षीय विराज पाख्रिन तामाङ, झापा घर भएकी ३२ वर्षीया अनु तामाङ, माई नगरपालिका वडा नं. ५ की ८ वर्षीया बालिका प्रिन्सिखा मगर, झापा अर्जुनधारा नगरपालिका वडा नं. ६ घर भई इलाम बस्दै आएका ३ वर्षीय बालक आवास दनुवार, देउमाई नगरपालिका वडा नं. ५ झारेका २२ वर्षीय रोशन लिम्बु, सोही स्थानकी २२ वर्षीया महिला वेविसा राई, देउमाई नगरपालिका वडा नं. ५ दुसेनीका ३० वर्षीय दिपक लिम्बु, सोही स्थानकी २७ वर्षीया ऋतिका लिम्बु, १० वर्षीया बालिका दिपिस्का लिम्बु, पाँचथर फक्तेन घर भई इलाम बस्दै आएका ९ वर्षीय बालक सौजन लिम्बु, ११ वर्षीय बालक सौगात लिम्बु, माङ्सबुङ गाउँपालिका १ पाट्री गाउँकी ५७ वर्षीया कृष्णमाया लिम्बु, सोही स्थानकी ५० वर्षीया महिला मायाँ लिम्बु, पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं. ६ घर भई इलाम बस्दै आएकी १७ वर्षीया नेहा राई, सन्दकपुर गाउँपालिका वडा नं. १ का ४३ वर्षीय भीमबहादुर राई, सोही स्थानकी ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाई, ४८ वर्षीया तारा देवी राई, देउमाई नगरपालिका वडा नं. ३ लम्किबोटेका २९ वर्षीय कृष्ण मगर, माईजोगमाई गाउँपालिका वडा नं. ६ ओडारेका २८ वर्षीय किरण थेबे, सोही स्थानकी १८ वर्षीया मनमाया थेबे, ३ वर्षीया बालिका मनुसा थेबे, माईजोगमाई गाउँपालिका वडा नं. ३ पयाङका ८२ वर्षीय बर्मालाल सोङमी, ४२ वर्षीया सरला सोङमी, १४ वर्षीया बालिका प्रकृति सोङमी र इलाम नगरपालिका वडा नं. ६ बालन गाउँका १८ वर्षीय महेन्द्र लिम्बु रहेका छन् । बाढी पहिरोमा परी गम्भीर घाइते भएकाहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं लैजाने कार्य निरन्तर भइरहेको छ ।
मुख्य राजमार्गहरू अवरुद्ध
झण्डै ३६ घण्टासम्म परेको अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू ठप्प हुँदा हजारौँ यात्रुहरूको विचल्ली भएको छ । गन्तव्यका लागि हिँडेका सार्वजनिक तथा निजी सवारी साधनहरू बाढी पहिरोका कारण सडक अवरुद्ध हुँदै बीचैमा रोकिएका थिए । ठप्प भएका मुख्य राजमार्गहरूमा राजधानी जोड्ने नागढुंगा–मुग्लिङ सडक, नारायणघाट–मुग्लिङ सडक, मुग्लिङ–पोखरा सडक, डुम्रे–लमजुङ सडक, आँबुखैरेनी–गोरखा सडक, धरान–सिन्धुली–बनेपा सडक, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, पासाङ ल्हामु शेर्पा राजमार्ग, धरान–धनकुटा–संखुवासभा–कोशी राजमार्ग, मेची राजमार्ग बन्द भएका थिए । बन्द भएका अधिकांश राजमार्ग अझैसम्म खुल्न सकेका छैनन् भने केही राजमार्ग पहिरो पन्छाएर अस्थायी रूपमा सञ्चालनमा ल्याइएको छ । सिन्धुली–बनेपा सडक खण्डको भकुण्डेबेसी, मंगलटार, नेपालथोक खण्डमा रोशी खोलाले सम्पूर्ण सडक नै बगाउँदा उक्त सडक खण्डमा कुनै पनि सवारी साधन सञ्चालनमा आउन सकेको छैन ।
सप्तकोशीमा इतिहासमै अत्यधिक वहाव
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. ८ स्थित मेरुदण्ड मानिएको सप्तकोशीमा यस पटक हालसम्मकै अत्यधिक जलप्रवाह देखिएको थियो । आइतबार अपरान्ह पानीको वहाव ५ लाख १० हजार ९६० क्युसेक प्रतिसेकेण्ड पुगेपछि प्रशासनले सुनसरी र सप्तरीका बासिन्दालाई उच्च सतर्कता अपनाउन माइकिङ गरेको थियो । आइतबार बिहान १० बजे ४ लाख ३१ हजार ५२५ क्युसेक प्रतिसेकेण्ड जलप्रवाह मापन
गरिए तापनि अपरान्ह एक्कासी बढेर अत्यधिक भएपछि नेपाली सुरक्षा अधिकारी र भारतीय सुरक्षा अधिकारीहरू सप्तकोशी ब्यारेज पुगेका थिए ।
कोशी ब्यारेजको हालसम्मको रेकर्ड अनुसार यस पटकको जलप्रवाह सबैभन्दा बढी थियो, सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रको कथन छ । प्रशासनले आइतबार कोशी पुलबाट आवागमनमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । पुलका ५६ ढोका सबै ढोका खोलिएका थिए भने पूर्व, पश्चिम र बीचमा रहेका खतराका संकेत जडित बत्तीहरू बालिएका थिए । यस भन्दा अगाडि एकै साथ खतराका संकेतका रूपमा रहेका ३ वटा बत्ती बालिएका थिएनन् । कोशी ब्यारेजको रेकर्ड अनुसार सन् १९८७ मा ४ लाख ७२ हजार क्युसेक प्रतिसेकेण्ड पानीको बहाव पुगेको थियो । ३८ वर्षपछि उक्त रेकर्ड तोडिएको छ ।

तपाईको प्रतिक्रिया