धरान । नेपालका राजा ज्ञानेन्द्र शाहले परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफँसी आफ्नो बाटो आफैँ तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नव निर्माण गर्नु पर्ने बताउनु भएको छ । राजा शाहले नेपालीहरूको महान राष्ट्रिय चाड विजयादशमी २०८२ को पूर्वसन्ध्यामा देशबासीका नाममा बक्सेको सन्देशमा उक्त कुरा बताउनु भएको हो । शुभकामना सन्देशमा उहाँले विजयादशमी शरद ऋतुको प्रारम्भसँगै हाम्रा घर आँगनमा आएको उल्लेख गर्दै नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परागत रूपमा शुभेच्छा–सद्भाव आदानप्रदान गरिने दशैं पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रही बसेका सबै नेपालीहरूमा हामी सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गर्दछौं भन्नु भएको छ । शुभकामना सन्देशमा हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएको त्याग र बलिदान नै हाम्रा अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड हो भन्ने उल्लेख गरिएको छ । यही आधारमा नेपाल सधैं स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रूपमा उभिएको छ । कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफँसी आफ्नो बाटो तय गर्ने सामथ्र्य राख्दै अखण्ड नेपाललाई नव निर्माण गर्नु परेको छ ।

हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै हो । हाम्रो राज्यपद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध पद्धतिमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी छ । विगत केही समय यता देश र जनताको सर्वोत्तम हितका खातिर हामीले गहिरो चिन्ता, चासो तथा सँग्लो दृष्टिकोण अघि सार्दै आएका थियौं । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ । विकसित बन्दै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नै पर्दछ । भौतिक विकासलाई बढाउँदै विश्व व्यवस्थामा बदलिँदै गएको राष्ट्रिय समाजको संरचनालाई हामीले अंगाल्नु पर्दछ । युग र काल अनुसारका त्यस्ता सबै प्रयत्न गर्दा हामीले हाम्रो अपनत्व, पहिचान र मूल्य मान्यताको ख्याल राख्नैपर्दछ । युवा पुस्ता हाम्रा भविष्यका आधार स्तम्भ हुन् । उनीहरूमा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने गर्दछ । यही समयको माग हो । हाम्रो देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । विगार्ने, भत्काउने, जलाउने तिर नै हाम्रो राजकाज धेरै खटिपरे । अब बिगार्ने होइन, सुधार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ । सन्देशमा भनिएको छ— सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवम् चेत पनि हामीमा हुनुपर्दछ । जे भयो भयो, जे जे नहुनु थियो त्यो सबै भयो, अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् । यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौं । हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैँ हामीबाट वृहत रूपमा टीका–जमरा प्रदान नहुने जानकारी समेत गराइएको छ । अन्त्यमा श्री नवदुर्गा भवानीले हामीलाई दिव्यपथतर्फ अग्रसर राखून् भन्ने हाम्रो कामना रहेको छ ।
