सुनसरीमा विषादी सेवन, डुबान र दुर्घटनामा दुईको मृत्यु

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले असोज १९ गते बिहान ६ बजे देखि असोज २० गते बिहान ६ बजेसम्मको अवधिमा जिल्लाभर भएका घटनाको विवरण सार्वजनिक गरेको छ। उक्त अवधिमा विषादी सेवन र सवारी दुर्घटनाका घटनामा दुई जनाको मृत्यु भएको र बाढी, चट्याङ, लडेर घाइते हुने तथा खोलाले बगाएर बेपत्ता हुने घटनाहरू समेत भएको प्रहरी कार्यालयले जनाएको छ । इनरुवा नगरपालिका–२ निवासी २० वर्षीया मनिता उराँवले असोज ७ गते राति अन्दाजी ९ बजेतिर अज्ञात कारणले विषादी सेवन गरेकी थिइन् । उपचारका क्रममा असोज १९ गते दिउँसो १२ बजे जिल्ला अस्पताल इनरुवामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतकको श्रीमान् विजय उराँवले शव बुझेर अन्त्येष्टि गरेका छन् । दुहबी नगरपालिका–१२ बुकडहरीमा असोज १६ गते मोटरसाइकल (को.१२प ६९ नं.) ले ठक्कर दिँदा गम्भीर घाइते भएकी ६० वर्षीया मिरा भुजेलको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा असोज १९ गते मृत्यु भएको हो । सोही दुर्घटनामा घाइते दुई वर्षीय मेजेश भुजेलको उपचार भइरहेको प्रहरीले जनाएको छ । अबिरल वर्षाका कारण बर्जु गाउँपालिका र दुहबी नगरपालिकाका विभिन्न स्थानमा पानी पसेर घरआँगन डुबानमा परेका छन् । बर्जु गाउँपालिका–१ केशलिया र दुहबी–८ मा पानी ओभरफ्लो भई २ सय भन्दा बढी घर वरिपरि १ देखि डेढ फिटसम्म पानी जमेको छ । दुहबीको जुटमिलमा रहेको टेङग्राखोलाको पानीले फ्याक्ट्रीको वाल भत्काई ३–४ फिटसम्म पानी जमेको छ । यद्यपि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका–८ मा दोभान खोलामा मादक पदार्थ सेवन गरेका ४५ वर्षीय नबराज उराँवले पुलमाथिबाट हाम फाल्दा खोलाले बगाएर बेपत्ता भएका छन् । खोजतलासका लागि प्रहरी टोली परिचालन गरिएको छ । त्यस्तै सोही नगरपालिका–७ मा ६४ वर्षीय उपेन्द्र यादव डुबानमा परेर ज्यान गुमाएका छन् । बराहक्षेत्र–३ बाङ्गेमा असोज १९ गते राति चट्याङ लाग्दा २३ वर्षीय तामेल राई गम्भीर घाइते भएका छन् । उनलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचारका लागि भर्ना गरिएको छ । रामधुनी नगरपालिका–५ लगौनामोडमा कार र मोटरसाइकल ठोक्किँदा सवारीसाधनमा क्षति पुगेको र दुहबीमा सरसफाइ गर्ने क्रममा लडेकी महिला मध्यम घाइते भएकी छन् । बराहक्षेत्र–१ चतरां सडकखण्डमा पहिरो झर्दा १२ जना सर्वसाधारण अलपत्र परेका थिए । प्रहरी र सशस्त्र बलको संयुक्त टोलीले उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार बाढी, दुर्घटना र अन्य घटनामा क्षति कम गर्न उद्धार र राहत कार्य निरन्तर भइरहेको छ ।

तपाईको प्रतिक्रिया