धरान । कुनै समय व्यापारिक केन्द्रको रुपमा रहेको धरान १३ फुस्रे बजारको चहलपहल नै घटेपछि यो ठाउँमा विगतको चहलपहललाई प्रतिविम्बित गरेर पार्क निर्माण गरिएको छ । यो पार्क निर्माणपछि फुश्रे बजारमा अब केवल व्यापारिक चहलपहल मात्र छैन, त्यहाँको चौकमा उभिएका पाँच प्रतिमाले एक युगको इतिहास सुनाइरहेका छन् । कुनै समय तराईबाट नुन र पहाडबाट सुन बोकेर गौँडा पस्ने मुख्य नाका यही फुश्रे बजार थियो । धरान–धनकुटा सडक बन्नुअघि यहाँको चौकभर व्यापारी, भरिया र साहुहरूको भीड हुन्थ्यो । मट्टितेलको कुपीको उज्यालोमा रातभर व्यापार हुन्थ्यो, पालम गाउँदै लिम्बु युवाहरू धान नाच नाच्थे र बजार जीवन्त हुन्थ्यो । केही समय अगाडि ७८ बर्षीय कुल बहादुर श्रेष्ठ चौकमा बनाएको प्रतिभाले आफूलाई भावविहल बनाएको कुरा पार्क निर्माणकर्ता महेन्द प्रधानसमक्ष सुनाउनुभएको थियोे । उहाँले यहीँ भारी बोकेर पसिना पुछेकों, हासेको र गफिने पनि यही ठाउँ भएको भन्दै प्रतिमा हेर्दा ती दिनहरू फिर्ता आएको जस्तो लागेको भावुक भएर सुनाएकोे बताउनुभयो ।

२०७७ सालमा बनेका पाँच प्रतिमाहरू केवल कलाकृति होइनन्, ती फुश्रे बजारको स्मृति हुन् । मूर्तिकार धिरज राईले जीवन्त रूपमा उतारेका ती प्रतिमामा नुनको भारी बोक्दै आएको भरिया, पैसा बोकेका व्यापारी, सेर्पा महिला, तराईका व्यापारी र सांस्कृतिक प्रतीकहरू देखाइएका छन् । प्रतिमाको अनावरण तत्कालीन कोशी प्रदेशका सभामुख प्रदीप भण्डारीले पुस ७ गते गर्नुभएको थियो । यसले फुश्रे बजारलाई फेरि परिचित गराएको सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष समेत रहनु भएका प्रधानले बताउनुभयो । उहाँले फुश्रे केवल व्यापारिक चौक मात्र नभएर यो संस्कृतिको संगम भएको बताउदै अहिले बनेको कलाकृतिले त्यही जीवनलाई पुनः जागृत गरेको बताउनुभयो । धरान(धनकुटा सडक बनेपछि फुश्रे बजार ओझेलमा परेको थियो । तर पछिल्लो समय सर्दु जलाधार क्षेत्रमा पार्क निर्माण, चौक सौन्दर्यकरण र मूर्ति स्थापना जस्ता कामले फुश्रेमा फेरि चहलपहल बढेको छ । सिक्किम, दार्जिलिङ, बिहार र नेपालका आन्तरिक पर्यटकको आगमनले फुश्रे फेरि पर्यटकीय आकर्षण बन्दैछ । धरान–धनकुटा राजमार्गले गुमाएको साख अहिले फुश्रेले विस्तारै फिर्ता पाउँदै गएको स्थानीयको भनाई छ । पार्कसँगै चौकमा भरियाले चुलो बनाएर दाउरा बालेर भात पकाएको, राति सडक पेटीमै ओछ्याएन लगाएर सुतेको, लिम्बुहरुले रातभर धान नाच्ने गरेको लगायतका दृश्यलाई समेत अहिलेका युवा पुस्तालाई चित्रमार्फत देखाउने प्रयास गरिएको छ । यसले फुश्रे बजारको पुनर्जागरणले केवल इतिहासलाई सम्झाएको छैन, नयाँ पुस्तालाई आफ्नो पहिचान र पूर्वजहरूको संघर्षबारे जानकारी दिने अवसर दिएको छ ।
