विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय रानीमा कार्यरत प्रहरी निरीक्षक कविन राईलाई भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ । राईले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको कमाण्डमा खटिएको प्रहरी टोलीले भदौ २८ गते
विराटनगर महानगरपालिका–१५ स्थित स्थानबाट बन्दाकोपी बोकेको मे.१ च ५८२६ नम्बरको बोलेरो गाडीमा लुकाइ–छिपाइ राखिएको २ सय ६२ किलो ५८० ग्राम गाँजा सहित तीन जनालाई नियन्त्रणमा लिन सफल भएको थियो । त्यसैगरी विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका वस्तुहरू समेत बरामद गर्न सफल भएको प्रहरीले जनाएको छ । फेला पारिएका वस्तुहरूमा मोटरसाइकल, अटो टेम्पो, सिटी रिक्सा, स्कुटर, ब्याट्री, सोफा, फ्रिज, भ्याकुम क्लिनर, टेबल फ्यान, इन्डक्सन चुलो लगायतका सामान रहेका छन्, जसलाई सम्बन्धित धनीलाई बुझाइएको हो । त्यसका साथै, विराटनगर–१३ र १५ क्षेत्रबाट लागूऔषध नियन्त्रण ब्यूरोसँगको सहकार्यमा ३ सय ३७ ग्राम ब्राउन सुगर सहित तीन जना व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
