घण्टाघरबाट हेर्दा

भाग्यमानी रहेछन् जादव
वर्तमान गलगाँड तन्त्रको सबैभन्दा बढी लाभ त रामवरन जादवले लिया रै’छन् । एक पटक पदमा बस्या थिए जीवनभरि तिन्लाई नेपाली जन्ताले ज्वाई पालेझै पाल्नुप¥या छ । घर ज्वाईलाई पनि केही काम नगरी खान कुरी कुरी लागेर आउँछ । त्यसै खान लाज सरम लागेर आउँछ । तर जादवले लाज सरमको बसै खुड्किला पार गरिसक्या रै’छन् । हैन हौ तिनलाई जीवनभरि वरको सिन्को पर नसारी त्यसै फाउमा लतलत खान अप्ठेरो लाग्दैन ? तिन्लाई किन पाल्ने ? कहिलेसम्म पाल्ने ? देश र जनताका लागि तिन्ले केचाहिँ लछारपाटो लगाएका थिए ? आँची गर्नेलाई भन्दा देख्नेलाई लाज झने झै । पाए भन्दैमा अलकत्रा त खानु भएन नि । अब हेरम न जादवले गरिब भए नि २ गाँसको मेलो गर्दैको भए ठीकै हो ।
राजधानीमा भएका आफ्नो आलिसान महल भाडामा लगाएर माल कमाइ रहेका छन्, जकनपुर सपहीको सैयौ विघा जमिनका जमिन्दार । तर तिनैलाई घर बनाएर राखिद्या छ । मासिक लाखौ भत्ता दिया छ, सुरक्षेकर्मी दिया छ । सवारी साधन दिया छ । औषधोपचारका लागि खर्च दिया छ । अवकाशपछि ५ करोड भन्दा बढी माल बुझिसकेका छन् । गलगाँडतन्त्रले गर्नु ग¥यो ।
खप्रओको हेलिकोप्टर सयर
अस्तिका दिन हाम्रा पर्धानमन्तरी खप्रओ हलिकोप्टर चढेर जलेश्वर–जनकपुरको सयरमा निस्केछन् । मुढ चल्यो भने खप्रओ हेलिकोप्टर चढेर सयरमा निस्किहाल्छन् । केही दिन अगाडि
रसु्वागढीमा बाढीले ताण्डव मच्चाउँदा पनि निस्किएका थिए । खप्रओले केही गर्लान् कि भन्ने रसुवाबासीले सोच्या थिए । तर उही गुएँलाको फूल । जलेश्वर जाँदा नि होलिकोप्टरबाट पानी नपरेर किसानले धान रोप्न नपाएको देखे, जमिन ध्वाँजा फाटेको देखे, विउ सुकेर पराल भएको देखे । जोरीपारिलाई देखाउनकै लागि भए नि तत्काल सुख्खाग्रस्त क्षेत्रमा ५ सय बोरिङ्ग गरिदिने घोषणा रे । यतिका दिन बित्दा पनि आजसम्म कहीँ कतै एउटा बोरिङ्ग पनि गरिया छैन । बोरिङ्ग गर्ने ठेक्का दिनुप¥यो, बोरिङ्ग गर्ने पनि आफ्नै झालेमालेभित्रकै हुनुप¥यो, कमिशनको टुंगो लगाउनु प¥यो, कमिशन भागबण्डाको टुंगो लगाउनु प¥यो, बजेट चाहिने भन्दा बढी निकासा गर्नुप¥यो, विपक्षीहरुले गन्ध थाहा पाउलान् कि भनेर अँध्यारो कोठामा बसेर व्यवस्था गर्नुप¥यो । तिनका कुराको टुंगो लाग्दालाग्दै एक बर्ष चैट हुन्छ । विचरा किसानहरु उत्तानोटाङ्ग । बाबु आमा हुन् त जयवीरको जस्तो बाबु आमा हुन् त जयवीर देउवाको जस्तो । आफ्ना छोराको लागि कम्ता ख्याल गर्दैनन् । बाबु आमाले छोराछोरीको ख्याल गर्नु पनि पर्छ । घर बनाउन काठ किन्न नसक्ने ल्याकत भएका बाबु आमाले अरबोैको हिल्टन हान्ने दक्ष जयवीर बनाइदिएका छन् । राजधानी आसपासमा सैयौ रोपनी जग्गा जोड्न सक्ने बनाइदिएका छन् । महिलाको महिनावारी प्याडबाट बाबुआमाकै आर्शिरवादमा धन्दा शुरु गरेका जयवीरको धन्दा यतिबेला युरोपसम्म फैलिएको छ । भर्खरैमात्र आमाकै चाँजोपाँजोमा जयवीरको संलग्नता रहेको जर्मनीको एक कम्पनीलाई १० अर्बको इ–पासपोर्ट छपाइको ठेक्का दिइएको छ । यसवापत आधा रकम कमिशन उतैका बैंकमा जम्मा हुने । । क्या काइदा । जे होस बाबु आमा हुन् त जयवीरको जस्तो ।
पूरा फिल्म सेन्सर भयो ?

सार्वजनिक जग्गाका कारोवारी, विना भिषा, विना ढेउवाका प्रतिपादक माने अराष्ट्रिय पार्टीका अध्यक्षे माकुनेका सांसद प्रेमबहादुर आले हिजोआज चाइचई बोल्दैनन । हैन तिनको मुखमा खटिरा आयो कि क्या हो ? पोखरा विमान स्थल बनाउँदा अरबौ भ्रष्टाचारलाई ट्रेलर मात्र हो पूरा फिल्म त भैरहवा विमान स्थलमा देखिन्छ भनेर खुब चिच्याउँथे । हुन त आले त्यसैमाथि माकुने पार्टीका सांसद । विपक्षीहरुले जति चिच्याउँछन् त्यति नै फाइदाको व्यापार चल्ने त हो । विचरा आले १५–२० दिन त भ्रष्टाचारका बारेमा खुब चिच्याए त्यसपछि स्वखलित भा’छन् । आले स्वखलित हुनुमा चाहिँ घण्टाघरको विचरमा २ वटा कारण छन् । एउटा कि त उनलाई भ्रष्टाचारीले नराम्रोसँग धक्याए कि त दुई चार पुस्तालाई पुग्ने गरी व्यवस्था गरिदिए । नत्र आले सितिमिति डुक्रन छोड्ने मान्छे त होइन । आले भनेपछि त्यसैमाथि लिँडे हुन्छ । केही कुछ त भा’को छ । मुखले नभए मलद्वारले भए नि चिच्याउने एकाएक चुपचाप भएपछि घण्टाघरलाई मात्र होइन जो कोहीलाई शंका लाग्नु स्वभाविक हो । आखिरी राजनीति न हो । राजनीति गर्ने कोही पनि साधु बन्न त पक्कै गा’होइन होला ? कि कसो हौ ?
कम्युनिस्ट लोकतन्त्रवादी बने रे
बकुल्लाले माछो ढुकेर नदी
किनारामा उँगेर बसेझै एक बर्षदेखि पर्धानमन्तरीका लागि बुढालिनकण्ठे दरबारमा ढुकेर बसेका र अझै ८ महिना ढुक्नुपर्ने बाध्यतामा रहेका लाउरेसका मुखिया श्यालबहादुर बेला बेलामा ताइँ न तुइँको गफ लगाउँछन् । अस्तिका दिन तिन्ले खै कुन राजनैतिक दर्शन पढे–पढे । एक्कासी उन्ले एउटा कार्जेक्रममा भने नेपालका कम्युनिस्ट (एमाले) लोकतन्त्रवादी भैसक्या छन् रे । मुखिया काजीले पनि त्यस्ता माकाफुइँ कुरा गर्ने हो ? लोकतन्त्रवादी नभाका भए किन लाउरेससँग आफ्नै वेवादरी माउवादीलाई छोडेर आउँथे ? आलोपालो सिंहदबार प्रवेश गर्ने सहमति कसरी गर्थे ? श्यालबहादुरकी श्रीमतिलाई घुमन्ते मन्तरी कसरी नियुक्ति गर्थे ? भुटानी शरणार्थी काण्डको फाइल किन शिलबन्दी गरेर थन्क्याउथे, भिजिट भिषाका संसारकै महँगा लेखकलाई किन सुनपानी छर्केर राख्थे ? हिल्टन खरिदको स्रोत किन खोजेनन् ? लोकतन्त्रवादी भएसी’ खोज्नु हुँदैन भन्ने कुरा कम्युनिस्टहरुलाई भलिभाँति थाहा छ । कि कसो हौ ?
कहिल्यै नसुध्रिने भए
एउटा हिन्दी फिल्ममा एउटा फटाहा पात्रलाई अरुले सम्झाउँदै भन्या थिए अरे बाबा अब ते सुधर जा । प्रत्युत्तरमा उसले भन्या थियो हम कभी नै सुध्रेंगे । अगर सुध्रगे तो हम आदमी हि नही रहेंगा । यतिबेला काँग्रेसको चरित्र हिन्दी फिल्मको त्यही फटाहा पात्रको जस्तो भएको छ । आफ्नैलाई लडाउने, आफ्नैलाई सिध्याउने यदुवंशी चरित्र अब काँग्रेसमा अति भयो । काँग्रेस कहिल्यै नसुधिने भयो । अब बागमति प्रदेशकै कुरा हेरम न छँदाखाँदाको आफ्नै वंशभित्रको वहादुर सिंह लामालाई संसदीय दलबाट हँटाएर बुढानिलकण्ठ दरबारको इसारामा इन्द्रबहादुर बानियालाई हुक्केहरुले संसदीय दलको नेता बनाएछन् । बानियाँले बडो गज्ज्बको काम गरेछन् । हुन त भँडुवाहरुको काँग्रेसमा कमी छैन । आफ्नै मुख्यमन्त्रीको विरुद्धमा षड्यन्त्र गर्न, संसदीय दलको नेताबाट हँटाउने साह«ै गतिलो काम गरेछन् । अब ०८४ सम्म पुग्दा त काँग्रेस चिलिम होला जस्तो पो छ । हुन त वाल्वाटारेमुखियाको उठबस नै भत्काउने, झुट बोल्ने, ठग्नेहरुको भएसी’ लामाको सट्टामा बानियाँ आउनु कुन ठूलो कुरा भयो र ?
भरिया र ड्राइभर त फस्छन्
नेपाली राजनीतिमा कहिले काँग्रेसतिर गएर म्याउ गरेर दूध खाने, कहिले एमालेतिर म्याउ गरेर दूध खाने माउवादीका ब्राण्डेड म्याउ नेता प्रचण्डाउका लागि सुन किन्न गाडी लिएर २५ करोड माल बोकेर हिडेका ड्राइभर जेलमा पुगेछन् । माल दिएर पठाउने प्रचण्डाउका विश्वासपात्र नारायण पौड्यालचाहिँ धरौटीमा छुटेछन् । मुलुककाँ अपराध गर्ने ठूला बडा सजाय पाउनेचाहिँ भरिया र ड्राइभर त हुन् । भरिया र ड्राइभरलाई कोचिदियो लण्ठै साफ । सुन तस्करीमा सुन बोक्ने जेल जान्छ, लागू औषधको गादामै खडा गरेर धन्दा गर्नेले उन्मुक्ति पाउँछ फस्ने त गोदाम रुँग्ने, भरिया त हो । मालिकलाई अँठ्याउने कस्को मजाल ? गाँडतन्त्रको सुन्दर पक्ष भन्या नै यही हो । कि कसो हौ ?
अन्तेमा
आम्मामा के के सुन्नु परेको होला । हैन यो देशमा के के हुन लाग्या हँ ? मन्त्री र प्रधानमन्त्रीको स्वकीय सचिवको तलबमात्र महिनाको ६३ लाख । हैन ती स्याँठेहरुलाई किन एक दर्जन भन्दा बढी स्वकीय सविचव चािहयो हँ ? हगाई भन्दा पदाई ठूलो भन्या यही हो । गायक पशुपति शर्माले लुट्न सके लुट कान्छा भनेर त्यसै गाएका होइन रहेछन् । अब हेरम न पर्धान मन्तरीका ३४, उपप्रधान मन्तरीका ८, मन्तरीका ७, राज्यमन्तरीका ७ जना स्वकीय सचिव राख्न मन्तरी परिषदको बैठकले निर्णय ग¥या रैछ । तर स्काउटको जग्गा झ्याम बनाउने विजुली मन्तरी दिपक खड्काले ११ जना भर्ति गरेका रै’छन् । सहरी विकास मन्तरी माने गठ्ठे काजीले १० जना, सुकुम्बासी अर्थमन्तरी विष्णृु पौड्यालले ९ जना, मानव तस्कर मन्तरी राइटर बाजेले ९ जना, खोपानी मन्तरी प्रदीप जादवले ९ जना, पर्यटन मन्तरी बद्री पाण्डेले ९ जना, उद्योग मन्तरी दामोदर भण्डारीले ८ जना, घुमन्ते मन्तरी बुढानिलकण्ठे कजिनीले ८ जना थुपारेका रै’छन् । थुपार्ने नै भए नि उल्फाको धन फूपूको श्राद्ध । नेपालीहरुको लास र सास दुवैबाट कर असुलेकै छ । जुत्ता पोलिस गर्ने, ओछ्यान मिलाइदिने, सब्जी किनेर ल्याइदिने, भात पकाइदिने, भात पस्केर दिने, जुत्ता चप्पल मिलाइदिने, व्रिफकेशवालाहरुलाई स्वागत गर्ने, मन्त्राणीको किनमेलमा सघाउने चाहियो नि । आखिरी सबै स्वकीय सचिवको तलब भत्ता पड्काउनु परेन ? ठेउके हो मोज गर । भेलबाढी आएपछि चेत आउँला ।

तपाईको प्रतिक्रिया