धरान । विगत पाँच दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय प्रतिनिधिसभाकी पूर्व सांसद मिना सुब्बा आइतबार बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनु भएको छ ।
धरानलाई कार्यक्षेत्र बनाई काँग्रेसको राजनीति गर्दै आउनु भएकी सुब्बा सामाजिक अभियन्ता समेत हुनुहुन्छ । नेपाल महिला संघ सुनसरीको पूर्व अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी सुनसरीकी पूर्व उप सभापति, नेपाल परिवार नियोजन संघ सुनसरीको आजीवन सदस्य लगायत दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध सुब्बासँगै अन्य चारजना प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ द्वारा पुरस्कृत हुनु भएको हो ।

पुरस्कृत हुने अन्यमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, कवि एवम् भाषिक अनुसन्धानविद् तिलविक्रम नेम्बाङ्ग (वैरागी काइला), नयनसिंह कडायत, पूर्व सभामुख एवम् बरिष्ठ अधिवक्ता स्व. दमननाथ ढुंगानाकी धर्मपत्नी बरिष्ठ आर्टिस्ट भुवन ढुंगाना रहनु भएको छ । सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयद्वारा आयोजित पुरस्कार प्रधानमन्त्री केपी शर्मा ओलीले वितरण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले जनही १ लाख पुरस्कार राशी सहित प्रमाणपत्रसँगै उहाँहरुलाई खादा ओढाउनु भएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा अतुलनीय योगदान पु¥याउनु भएका बीपी कोइरालाको योगदानलाई चीरपर्यन्त अविस्मरणीय राख्ने उद्देश्यले नेपाल सरकारको आर्थिक बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा पुरस्कारको व्यवस्था गरेको थियो ।
