दमक । एउटै परिसरभित्र दर्जनौ उद्योग, अस्पताल, स्कुल सहित एक लाख भन्दा बढीलाई रोजागारीको अवसर प्राप्त हुने भन्दै प्रचारित दमक स्थित नेपाल–चीन फ्रेन्डसीप इण्डष्ट्रियल
पार्कको निर्माण कार्य अघि बढ्ने आशा पलाएकोे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १६ गते इण्डष्ट्रियल पार्कको औपचारिक रुपमा शिलान्यास गर्नु भए पनि निर्माणको काममा अन्यौलता देखिदै आएको थियो । तर गत हप्ता नेपाल–चीन फ्रेन्डसीप इण्डष्ट्रियल पार्कको चीनको सिजाङ्ग प्रान्तबाट आएको उच्च स्तरीय चिनियाँ टोलीले अनुगमन गरेपछि पार्कको निर्माणले गति लिने विश्वास स्थानीहरुले गरेका छन् । पार्क निर्माणका लागि लगानी बोर्डले ६५ अर्ब लगानीको स्वीकृति दिइसकेको भए पनि नेपालको राजनैतिक अस्थिरता लगायत अन्य कारणले निर्माणको काम अगाडि बढ्न सकेको थिएन । हुन त जेठ २८ गते देखि ३१ गतेसम्म नेपालस्थित चिनियाँ राजदुत छङ सोङले झापाको भ्रमण गर्दा समेत इण्डष्ट्रियल पार्कको अनुगमन गर्नुभएको थियो । राजदुत छङ काठमाण्डौ फर्किएसँगै पार्कको सिजाङ्ग प्रान्तको उच्च स्तरीय टोलीले अनुगमन गरेको हो । औद्योगिक पार्क व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले दिनु भएको जानकारी अनुसार चिनियाँ टोलीले स्पेशल रुपमा औद्योगिक पार्कको अवलोकन मात्र गरेन स्थानीय बासिन्दाहरुसँग अन्तरक्रिया, दकम नगरपालिका, गौरादह नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य र कमल गाउँपालिकाका अध्यक्ष लगायतसँग भेट गरेर उनीहरुको धारणा बुझेका थिए ।
सिजाङ्ग प्रान्तबाट आएका टोलीमा को को थिए ?


नेपालको उत्तरी सीमा नाकासँग जोडिएको चीन (तिब्बत) को सिजाङ्ग प्राप्तबाट आएको उच्च स्तरीय चिनियाँ टोलीमा सिजाङ्ग प्रान्तका सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थाका निर्देशक याङ यावोको नेतृत्वमा ६ सदस्यीय टोली रहेका थिए । त्यसो त पछिल्लो समय नेपाल–चीन फ्रेन्डसीप औद्योगिक पार्कलाई लिएर चिनियाँ अधिकारीहरु ज्यादै इन्ट्रेष्टेड देखिएका छन् । यही विषयलाई लिएर उनीहरुको आउजाउ समेत बाक्लिएको छ । स्थानीयका अनुसार उनीहरु अनुगमनमा आउँदा स्थानीयहरुसँग अन्तरक्रियामा भने सरिक हुने गरेका छन् । याङ्ग यावोको नेतृत्वमा आएको अन्य टोलीमा सहायक अनुसन्धान फेलो झाङ्ग, जियान होङ, गान युए, डि.के. झाङ्ग लिली, डा. गाजाङवेन रहेका थिए । चिनियाँहरु पछिल्लो समय औद्योगिक पार्क निर्माणका लागि ज्यादा इन्ट्रेस्टेड हुनुको प्रमुख कारण नेपालले चीनको महत्वाकांक्षी परियोजना वेल्ट एण्ड रोड इनिसिएटिव (विआरआई) मा हस्ताक्षर गरेपछि हो । नेपालकी परराष्ट्रमन्त्री आरजु देउवा राणाले सन् २०२४ को डिसेम्बरमा चीन भ्रमणको क्रममा विआरआइमा हस्ताक्षर गरेकी थिइन् । त्यसबेला उनको सत्ता गठबन्धनभित्रै चर्को आलोचना समेत भएको थियो । प्रत्युत्तरमा उनले वर्तमान सत्ता गठबन्धन जोगाउन आपूmले विआरआइमा हस्ताक्षर गरेको हाँस्यास्पद जवाफ दिएकी थिइन् ।
अनुगमनमा आएको चिनियाँ टोलीले के के ग-यो ?
सिजाङ्ग प्राप्तबाट दक्षिण एसियाली अध्ययन संस्थाका निर्देशक याङ्ग यावोको नेतृत्वमा आएको अनुगमन टोलीले दुई देश बीच भएको औद्योगिक पार्क निर्माणको सम्झौता अनुसार नेपालका तर्फबाट भए गरेका कामको विस्तृत अध्ययन गरेको थियो । यसका अलावा उनीहरुले औद्योगिक पार्कमा निर्माण हुने पूर्वाधार, लगानी, पार्कमा स्थापना हुने उद्योगको सम्भाव्यता, एक्सपोर्टको सम्भावना, स्थानीय बासिन्दाको अवस्था आदिका बारेमा अध्ययन गरेको थियो । स्थानीय एमाले नेता तुलसी कार्कीका अनुसार टोलीले स–सानो कुरामा समेत जानकारी लिएको थियो । उहाँले भन्नुभयो हामीले द्विपक्षीय सम्झौता अनुसार नेपाल सरकारले गर्नुपर्ने काम पूरा गरिसकेको, डिपिआर, एमओइ, स्वाइल टेष्ट लगायतका कतिपय कार्य पूरा भइसकेको जानकारी गराएका थियौं । उहाँका अनुसार कुनै पनि अवरोध नआएकमा पार्कको काम चाँडै अगाडि बढ्ने भएको छ । नेपाल–चीन फ्रेन्डसीप औद्योगिक पार्कको निर्माण एवम् सञ्चालनको जिम्मा चीन सरकारले चीनको ल्हासा इकोनोमिक टेक्नोलोजी डेभलपमेन्ट जोन पिङपिङ्ग जोइन्ट क्रिएशन कस्ट्रक्सन कम्पनीलाई दिइसकेको छ ।
