धरान । नेपाली काँग्रेस मोरङका नेता विनोद कार्की पक्राउ परेका छन् । कार्कीले विगत केही बर्षदेखि नक्कली काजगातका आधारमा भिजिट भिषामा मानव तस्करी गरेको आरोपमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो । नेपाली काँग्रेसभित्र देउवा गुट निकट रहेका कार्कीलाई प्रहरीको उपत्यका अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थीको नेतृत्वमा रहेको अनुसन्धान टोलीले पक्राउ गरेको हो । ४५ बर्षीय कार्कीले विगत चार बषदेखि ललितपुरको इमाडोलस्थित सिटी टुर्स एण्ड ट्राभल्स सञ्चालन गर्दै आएका थिए । कोशी प्रदेशसभा सदस्यका लागि २०७९ सालमा भएको निर्वाचनमा कार्की मोरङ क्षेत्र नं. २ ‘ख’ बाट प्रत्यासी समेत बनेका थिए । तर उनी त्यसबेला एमालेका उमेद्वारसँग पराजित भएका थिए ।

काकीले कुवेत लगायतका खाँडी मुलुकहरुमा नक्कली कागजातको आधारमा गृहमन्त्रालयका पदाधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल स्थित अध्यागमन कार्यालयका अधिकारी र विमान स्थल स्थित प्रहरी कर्मचारीको मिलेमतोमा मानव तस्करीको धन्दा गर्दै आएका थिए । कुवेत तथा खाँडी पठाइएका युवतीहरुबाट उनले ५लाखसम्म असुली गर्ने गरेको पन्थी नेतृत्वको अनुुन्धान टोलीले जानकारी दिएको छ । उनले हालसम्म २४६ जनालाई नक्कली कागजातमा विदेश पठाएको खुलेको छ ।
