धरान । नेपाली काँग्रेसका योद्धा, राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र संवैधानिक राजसंस्थाका पक्षधर एवम् बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको एकमात्र व्याख्याता ढुण्डीराज शास्त्री अब रहनु भएन । अर्घाखाँचीको किमडाँडा पञ्चायत हालको भूमिका स्थान नगरपालिका निमडाँडामा जन्मनु भएका शास्त्री पूर्व उद्योगमन्त्री हुनुहुन्थ्यो । वि.सं. २०१० सालमा भारतको वाराणसीमा अध्ययन गर्दा नेपाली काँग्रेसमा आवद्ध हुनु भएका शास्त्रीले नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा सदैव अग्रणी भूमिका निर्वाह गर्नुभएको् थियो । उहाँले वि.सं. २०१४ सालमा नेपाली काँग्रेसले आवहान गरेको भद्र अवज्ञा आन्दोलनमा तत्कालीन अवस्थामा अर्घाखाँचीको नेतृत्व गर्नुभएको थियो । वि.सं. २०१७ सालको राजनैतिक घट्नाक्रम पश्चात उहाँ भारत निर्वासनमा जानु भएको थियो ।

बीपी कोइरालाका कट्टर अनुयायी शास्त्रीले भारत निर्वासनमा छँदा जीवनयापनका लागि गोरखपुर महाविद्यालयमा अध्यापन समेत गर्नुभएको थियो । त्यसबेला उहाँले गुल्मी, अर्घाखाँची, कास्की, रुपन्देहीमा संगठन विस्तारमा अहम् भूमिका निर्वाह गर्नुभएको थियो । लामो समयदेखि अस्वस्थ रहँदै आउनु भएका शास्त्रीको सोमबार विहान ९० बर्षका उमेरमा काठमाण्डौको केएमसी अस्पतालमा उपचारको क्रममा निधन भएका हो ।
