दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा चिनियाँ राजदुत छङ सोङले जेठ २८ गतेदेखि ३१ गतेसम्म भ्रमणमात्र गर्नुभएन शिलान्यास भएर पनि विगत पाँच बर्षदेखि अलपत्र परेको नेपाल–चीन फ्रेन्डसीप औद्योगिक पार्कको अनुगमनसँगै चिनियाँ सहयोगमा निर्माण भएको विद्यालय भवनको उद्घाटन, शिलान्यास समेत गर्नुभएको छ । जेठ २८ गते काठमाण्डौबाट चन्द्रगढी–भद्रपुर विमान स्थल हुँदै झापा आउनु भएका राजदुत सोङले पहिलो दिन नै दुतावासका अन्य पदाधिकारीसहित प्रस्तावित नेपाल–चीन फ्रेन्डसीप औद्योगिक पार्कको अवलोकन गर्दै आवश्यक जानकारी लिनु भएको थियो । तत्कालीन तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १६ गते औद्योगिक पार्कको ठूलो तामझामका साथ शिलान्यास गर्नुभएको थियो । औद्योगिक पार्क दमक नगरपालिका भन्दा १२ किमी दक्षिण दमक वडा नं. १०, कमल गाउँपालिका वडा नं. ६ र गौरादह नगरपालिका वडा नं. ८ को रतुवा खोलाको उकास जग्गा र स्थानीयको अधिग्रहण गरिएको समेत गरी २२ सय विघा क्षेत्रफलमा बन्ने भएको थियो । तर शिलान्यास पश्चात निर्माणले गति लिन सकेन । दुई देशबीचमा भएको सहमति अनुसार नेपालका तर्फबाट औद्योगिक पार्कसम्म पुग्ने पहुँच मार्ग, विद्युत, रतुवा तथा अन्य स्थानमा पुल कल्भर्ट र जग्गाको व्यवस्थापन गर्ने र चिनले औद्योगिक पार्कको संरचना बनाउने सहमति भएको थियोे । नेपालका तर्फबाट भएको सहमति अनुसार सम्पूर्ण पूर्वाधारहरु तयार भइसकेका छन् । निर्माणले गति लिन नसकिरहेको अवस्थामा चिनियाँ राजदुतको अवलोकन भ्रमणले अब निर्माणको प्रक्रिया अगाडि बढ्ने औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले विश्वास व्यक्त गर्नुभएको छ ।
विद्यालय भवन उद्घाटन, शिलान्यास र अन्तरक्रियामा व्यस्त


चिनियाँ राजदुत छङ सोङले जेठ २८ गते औद्योगिक पार्क अनुगमन र स्थानीयहरुसँगको अन्तरक्रिया पश्चात संघीय सरकारका सभामुख देवराज घिमिरेको निर्वाचन क्षेत्र नं. २ विर्तामोडलाई मुकाम बनाई चिनियाँ सहयोगमा निर्माण भएको विद्यालय भवन, निर्माण हुन लागेका विद्यालय भवनको उद्घाटन, शिलान्याससँगै स्थानीयसँगको अन्तरक्रियामा व्यस्त रहनु भयो । चार दिनसम्म झापाको होटल मेची क्राउनमा बस्दा उहाँले विर्तमोड नगरपालिका वडा नं. ८ मा रहेको सुक्रराज आधारभूत विद्यालय भवनको उद्घाटन गर्नुभएको थियो । चिनियाँ राजदुतावासको अनुदान सहयोग ५० लाखमा निर्माण भएको दुई तलाको चार कोठे भवनको विर्तामोड नगरपालकाकी प्रमुख पवित्रा महतारा प्रसाई र राजदुत छङले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । सो अवसरमा बोल्दै चिनियाँ राजदुत छङले भन्नुभयो आज चीनको जुन विकास भएको छ त्यसको प्रमुख कारण शिक्षा नै हो । शिक्षा देशको विकासका लागि अत्यन्तै महत्वपूर्ण हुन्छ । उहाँले भन्नुभयो चीन नेपालको शिक्षाका लागि सहकार्य गर्न तयार रहेको छ । उहाँले जोड दिँदै भन्नुभयो यस भन्दा अगाडि अर्थात २०७२ सालमा नेपालमा आएको महाविनाशकारी भुकम्पका बेला क्षतिग्रस्त भएको नेपालका विभिन्न स्थानका १० वटा विद्यालयहरु चिनले अनुदान सहयोगमा निर्माण गरिदिएको थियो । यसैगरि विर्तामाड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईले विर्तामोड तथा झापाको विकासका लागि चीन सरकारसँग सहयोगको आग्रह गर्नुभयो । यसैगरि जेठ २९ गते चिनियाँ राजदुत छङले विर्तामोड नगरपालिका वडा नं. ९ स्थित देवकोटा आधारभूत विद्यालय भवनको शिलान्यास गर्नुभयो । उहाँले शिलान्याससँगै विद्यालयका १० जना जेहेन्दार विद्यार्थीहरुलाई १०–१० हजार छात्रवृत्तिसँगै १९ प्रकारका शैक्षिक सामाग्री समेत वितरण गर्नुभएको थियो ।
सभामुख देवराज घिमिरेको सक्रियता
चनियाँ राजदुत छङको झपामा भएको चारदिने भ्रमणमा सभामुख देवराज घिमिरेको सक्रियतामा सम्पन्न भएको हो । एमाले झापाका एक स्थानीय नेताका अनुसार राजदुत छङ र सभामुख घिमिरेका बीचमा घनिष्ठ सम्बन्ध रहेको छ । राजदुत छङले जेठ २९ गते नै विर्तामोड नगरपालिका वडा नं. ९ मा रहेको दुर्गा माविका चार सय विद्यार्थीहरुलाई स्कुल व्याग, १९ प्रकारका शैक्षिक सामाग्री र १० जना जेहेन्दार विद्यार्थीहरुलाई १०–१० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्नुभएको थियो । सोही दिन छङले शनिश्चरे मावि अर्जुधाराका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, स्कुल व्याग र शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । झापा भ्रमणका क्रममा चिनियाँ राजदुत छङसँग प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार युवराज खतिवडा, सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेल, विर्तामोड नगरपालिकाकी प्रमुख प्रतिमा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाकी प्रमुख खड्ग मायाँ पराजुली, एमाले विर्तामोडका अध्यक्ष सुभाष भट्टराई, इन्चार्ज अम्बिर लिंगदेन, एमाले नेता बद्री भट्टराई, कोशी प्रदेशका सांसदहरु र चिनियाँ दुतावासका अधिकारीहरु साथै रहनु भएको थियो ।
चिनियाँ राजदुतको पाँच योजना
सभामुख देवराज घिमिरेका स्वकीय सचिव केशव ढुंगेलले दिनु भएको जानकारी अनुसार झापा भ्रमणमा चिनियाँ राजदुतको फोकसिङ्ग सभामुख घिमिरेकै क्षेत्रमा रहयो । राजदुत छङले ५ वटा योजना लिएर झापा आएको पनि उहाँले जानकारी दिनुभयो । स्वकीय सचिव ढुंगेलका अनुसार भौतिक पूर्वाधार, समृद्धिका लागि आर्थिक विकास, शैक्षिक क्षेत्रको निर्माण, स्थानीयहरुसँग सम्बन्ध प्रगाढ र चिनियाँ भाषाको विस्तार नै हो । उहाँका अनुसार राजदुत छङले अवलोकन भ्रमणमा स्थानीय, स्थानीय नेता सबैसँग अन्तरक्रिया गर्नुभएको थियो । यसका आलावा झापाका प्रमुख वस्तुहरुमा बाँस, सुपाडी, दूध र मासु हुन् । यसको उचित प्रवद्र्धनका लागि राजदुतासँग वार्ता भइरहेको छ । दूध र मासुका सम्बन्धमा कार्यक्रम नै अगाडि बढिसकेको छ । शायद काठमाण्डौ फर्किएपछि सम्झौता हुन्छ । दूधका लागि आधुनिक डेरी र मासुका लागि चीन निर्यात गर्न सक्ने उद्योग स्थापना नै हुन् ।

