खबरदार भतिजको बारेमा लेखौला
खबरदार भतिज जयवीरको बारेमा लेखौला । विचरी आमाले घर बनाउन काठ किन्ने पैसा नभएर बिलौना गरेको सहन नसकेर भतिज जयवीरले एउटा दश अर्बको हिल्टन होटल हान्देका थिए केहीलाई आँखी भएछ । जयवीर भन्या भ्रष्टाचारकी कुलदेवी जुआर र ल्यापल्यापे काजीको होनहार पुत्र हुन् भन्ने कुराको अलिकति हेक्का राख्नु्पर्दैन ? इष्र्या गरेर समाचार लेख्नु त भएन नि । देशका नामुद १२ भाई मध्येका दुई भाई दिलभुषण पाठक र नारायण अर्यालले साम्राज्यको स्रोत के हो भन्ने प्रश्न उठाएर लेख्नु लेखेछन् । जयवीरको साम्राज्यको स्रोत खोज्नु सिधै मूर्खता हो । आजिवन सत्तामा मडिया मर्ने बाबु आमा छँदाछँदै स्रोत खोज्नु त भएन नि । प्रहरी तिनैको, प्रशासन तिनैका, अदालत तिनैको भएपछि भतिजको बारेमा लेख्दा यसो हेक्का राख्नु पर्दैन ? यतिबेला आदेशको तामिल गर्न प्रहरीहरु छ्याप छ्याप्ती भा’छ । पाठक र अर्याललाई अँठ्याउनै पर्ने बाध्यता छ विचराहरुलाई । उता जयवीरकी महातारी पड्किएकी पड्किएकै छिन आफ्नो परिवारलाई बद्नाम गराउनेले सजाय पाउनैपर्छ रे । सोह«ैआना ठीक भनिन् त्यसै बद्नाम गराउनु त भएन नि ? जाबो एउटा हिल्टन यसो हान्देका छन् । त्यस्ता हिल्टन अरु कति हान्ने क्षमता राख्छन् । वात करता है ।
नक्कली पीडित खडा गरियो रे

अस्तिका दिन नेपालका घरेलुमन्तरी बुरुक बुरुक उफ्रन्दै थिए । के भा’को भनेर घण्टाघरले यसो भित्तामा कान राखेर सुन्या त मेरीबास्सै कुरा त गज्जबको रै’छ । आखिरी सुदुर पश्चिमका राइटर न परे । त्यसमाथि बुढानिलकण्ठे दरबारका सुयोग्य आर्शिवादवाला पात्र । उनी भन्दै थिए मेरा विरुद्ध नक्कली पीडित खडा गरेर पार्टी कार्यालयमा जाहेरी लेखाउने काम भयो रे । घरेलु मन्तरीको कुरा साहे«ैआना जायज हो । जाहेरीमा उनका विरुद्धमा ज–जस्ले सही धस्क्याए ती सक्कली पीडित त हुँदै होइनन तर तिनका कागपत्र मात्र सक्कली हुन् । उँधो लागेको मृगलाई बाछाले पनि खेद्छ भनेर त्यसै भन्या होइन । यहाँ सबैले धन्दा ग¥या छन् । उनले चाहिँ धन्दा गर्न किन नहुने ? कसैले भुटानी शरणार्थीको धन्दा गरे, कसैले वाइडवडीको धन्दा गरे, कसैले सुन ओसार्ने धन्दा गरे, कर्सैले टेरामक्सका धन्दा रे, कसैले बाख्रा पालनको धन्दा गरे, कसैले गिरिवन्धुको धन्दा गरे, कसैले पोखरा विमान स्थल र लुम्बिनी विमान स्थलमा व्यापार गरे, कसैले सेक्युरटी प्रेस खरिदमा धन्दा गरे, कसैले बाँसबासरी जुत्ता कारखानामा धन्दा गरे, कसैले ललिता निवासमा धन्दा गरे, कसैले पतञ्जली जग्गामा धन्दा गरे, कसैले एनसेलमा धन्दा
गरे । सत्तामा गएपछि धन्दा नगर्ने त निकम्बा हो । राइटर बाजेले पनि जाबो मान्छे बेच्ने धन्दा त ग¥या हुन् । अर्थोक बेच्ने कुरा भा’ भए यो धन्दा गर्न नै थिएनन् । राइटर बाजेका विरुद्ध जाहेरी दिने सबै नक्कली नै हुन् । न्यायाधीशमाथि कालो मोसो हैन हौ यो मुलुकमा के पो हुन लाग्या हँ ? न्यायाधीशमाथि नै कालो मोसो दल्ने काम भएछ । त्यो पनि इजसालसमै गएर । हैट नेपालमा पछिप्लो पटक कालोमोसो दल्ने काम भा’ होला । कि संसारम पहिलो हो कि ? संसारमा पहिलो भा’ भए ती न्यायाधीशको नाम ग्रिनिज बुकमा लेखिनेछ । कालोमोसो नै दलिहाल्नु पर्ने थिएन । विचराले यसो २२ जना जतिलाई अÏताव आलमले इँटा भट्टामा पोलेका थिए । हजारौ सिध्याउनेहरु कहिले सरकारमा, कहिले प्रतिपक्षेमा बस्या छन् । जाबो २२ जना पोल्दा निर्दोष नै हुने भए । निर्दोषलाई सफाइ दिनु न्यायाधीशको कामै हो । वित्थामा केटाहरुले कालो मोसो दल्या ।
कुन राजीनामा, कस्को राजीनामा
गुमनाम से अच्छा बद्नाम ठीक भनेर भारुको एउटा उखान छेपारे मार्चण्डेको स्वभावसँग ठ्याक्कै मेल खाएको छ । छेपारे मार्चण्डे दुई दिन अघिसम्म घरेलु मन्तरी राइटरले राजीनामा नगरी हुँदैन, राजीनामाबाट ब्याक हुने भन्ने कुरा सोच्न पनि सकिदैन भनेर लगातार संसद अवरुद्ध गर्दै आका थे । अस्तिका दिन ल्यापल्यापे काजी र उखानेले के भुल खिलाए खिलाए, एक्कासी कस्को राजीनामा, कुन राजीनामा भन्दै संसद अवरुद्ध नगर्ने माइकिङ्ग गर्न थाले । यतिमात्र कहाँ हो र दुई बुँदे सहमतिमा ल्याप्चेसम्म हानेछन् । मान्छे बेच्ने व्यापार गर्दै आएका घरेलु मन्तरीले राजीनामा नदिए संसद चल्नै दिन्नम भनेर बुरुक बुरुक उफ्रन्दै आएका थिए । तर अब भिजिट भिषामा राइटरले राजीनामा पनि दिनुनपर्ने छानविन समिति बनाउनु नपर्ने भन्दै हिड्या देखेर लाज पनि लजाएर पर सरेको छ । हुन त छेपारे अभिनय गर्न मार्चण्डेलाई कस्ले भ्याउने ? त्यसै ३२ सिटे भए पनि ८०–९० सिटेलाई घुमाउँछन् त ? यतिबेला सामाजिक सञ्जालमा रंगविरंगका छेपारेहरु किन देखिएको होला भन्या त मार्चण्डेका रुप पो रै’छन् । जे होस् रुप बदल्नचाहिँ मार्चण्डेबाटै सिक्नु पर्ने भयो ।
अरु निर्यात गर्ने चिजै छैन
बुढाकिलकण्ठे ल्यापल्यापे काजी कहिलेकाँही त बडो सत्य कुरा गर्छन् । कहिलेकाँही कुन सुरमा हुन्छन् कुन्नि ? कि त आमैको कचकचले हुनुपर्छ कि त लैवरी बोतलको तोड हुनुपर्छ । अब हेरम न अस्तिका दिन तिनले कम्ता सत्य बाले त ? नेपालबाट विदेश निर्यात मान्छे बाहेक अरु हुनै सक्दैन रे । वाह † क्याबात । अर्थोक के निर्यात गर्ने त ? उद्योग जति चैट बनाइहाले । सर्बैले राइटर बाजेले मान्छे निर्यातको धन्दा गरे भनेर हल्ला ग¥याग¥यै छन । किन हल्ला ग¥या होलान् ? अर्थोक केही नभएसी’ उनले पनि मान्छे निर्यातको व्यापार थालनी ग¥या त हुन । न लोडको झन्झट, न अनलोडको झन्झट, न कच्चा पदार्थको टेन्सिन । बसी बसी खत्रक्क दैनिक ५० लाख चोखो आम्दानी । न कहिल्यै घाटा होला भन्ने चिन्ता न लगानी डुब्ला भन्ने पिरोलो । मुनाफै मुनाफा । व्यापार गर्नु त राइटर बाजेले जस्तो । हुन त राइटर बाजे एउटा मुन्सी त हुन् । नाफा बालकोट, बुढानिलकण्ठ, भैसे पार्टीतिर पनि जान्छ भन्ने गाइगुई चल्दैछ । अब यस्तो फलिफापको व्यापार गर्नेलाई घरेलुमन्तरीबाट राजीनामा दे कि दे भनेर चित्याउनेहरु स्वाँठै हुन् ।
तन्नेरीमा नकमाए दुःख पाइन्छ ?
लाउरेसका सचिव बाख्रे काजीले अस्तिका दिन बडो गज्जबको कुरा गरेछन् । तन्नेरीमा कमाउन सकिएन भने बुढेसकालमा दुःख पाइन्छ रे । इटहरीतिर आएर बाख्रे काजीले त्यसरी फलाकेछन् । समयमै राज्यको ढुकुटी दोहन गरेर बाख्राको धन्दा, बालुवा खानी, भिषी नियुक्त लगायत दर्जनौ व्यापारबाट अरबौको सम्पत्ति जोडेर तन्नेरीमै धनी पल्टेका काजीको जस्तो सबैले व्यापार गर्न कहाँ सक्छन् र ? आफ्ना छोराछारी विदेश श्रम गर्न जाँदा चिन्ता नगर्नु, नरुनु रे । देशमा काम पाएका भए किन अर्काको मुलुकमा बेल्चा हान्न जानुपथ्र्यो ? उनीहरुले बेल्चा हानेर पठाएको पैसामा ढलीमली गरेर नेता बन्नेलाई आमाबुबाको पीडा के थाहा ? जे होस् हाम्रा बाख्रे काजीलेचाहिँ राम्रै जोहो गरेका छन् । जर्मनतिर लगानी गर्न सक्ने हैसियत बनाउनु लत्तरो कुरा हुँदै होइन । त्यसै यदाकदा दौडाहा गर्दा ५० औ गाडीको ताँती लगाउँछन् त ? तन्नेरीमै कमाएकोले अब बुढेसकालको चिन्ता नहुने भयो । लौ बधाई छ बाख्रे काजी ।
कस्ले दिने बहुमत ?
मार्चण्ड पार्टीका नेता लारायन काजीले अस्तिका दिन फलाकेछन् ८४ को निर्वाचनमा आफ्नो दललाई बहुमत नदिए देश संकटमा जान्छ रे । जनताले सडकमा लगाएका नारा रायनकाजीले सुन्या रैनछन् कि क्या हो ? देशका निम्ति नै संकट बनेका माउवादीलाई कस्ले बहुमत दिने ? वहुमत दिएर परीक्षण गरेकै हो । अब काजीले वहुमतको सपना नदेख्दा राम्रो । ८४ पछि त यिनीहरुको देशमा उपस्थिति नै नहोला जस्तो भा’छ । ८४ मा निर्वाचन भैगए यिनले के भनेर भोट माग्छन् होला ? छेपारोले रँग फेरेझै छिनछिनमा रंग फेर्ने, एउटासँग सादी उदी गरेर अर्कोसँग हनिमुन मनाउनेको मुखुण्डो उदांगो भैसक्यो । हुन त लारायन काजी भन्या कहिलै निर्वाचन नजिति सांसद हुने कोटीकमा न परे । जस्केलाबाट भित्रिनेले चुनावमा जाने ल्याकत पनि राख्नु प¥यो ? जता माओवादी पस्यो त्यतै विनास भा’छ । पहिला गाउँ पस्यो गाउँ नै रित्तियो । त्यसपछि सहर पस्यो सहर नै रित्तियो । अब फेरि यिनलाई बहुमत दियो भने देश रित्तिन्छ ।
अन्तेमा
लौह पुरुष गणेशमानसिंहका सुपुत्र आइकाजीले बाबु आमाको नाकै काटे गाँठे । बुढानिलकण्ठे ल्यापल्यापे काजीको चाकडी गरेर खै के जाति अँ सहरी विकास तथा खानेपानी मन्त्रालय पड्काउन सफल आइकाजीले मन्त्रालयको एक अर्ब बजेट दामासाहीले भाग लगाएर महान कार्य गरेछन् । बाबुआमाको नाम भँजाएर नेता पल्टिएका आइकाजीले एक अर्ब बजेट लाउरेसका भातृ संगठन, बुढानिलकण्ठ, आफ्नै निवास क्षेत्रपाटी, बालकुमारी, भैसे पार्टीका लागि छुट्याएर किर्तिमान राखेछन् । नेता हुन त आइकाजी जस्तो । वित्थामा अरु मन्तरीहरुले के के न लछारपाटो लगाउँला झै गरेर पुल,पुलेसा, सडकलाई बजेट दिएर हुर्मतै लिएका थिए । तर आइकाजीले किर्तिमान नै राख्या छन् । अब आगामी ८४ मा काजीलाई काठमाण्डौबाट हराउने कस्को ताकत ? बजेट त यस्तै वितरणमुखी हुनुपर्छ । माकुने, सेवदे, खप्रओ, पुकदाको भान्सामा बजेट पुगेन भने गणतन्त्र खतरामा परिहाल्छ । गणतन्त्रको रक्षा गर्न पनि बजेट उनीहरुको भान्सामा पुगेपछि मासुभात,रक्सी, पेट्राल खान र हाल्न पाएसी’ झोलेहरु सडकमा दुईहात माथि उफ्रन सक्छन् । यति भएपछि गणतन्त्र सुरक्षित हुन्छ । गणतन्त्रको सुरक्षाका लागि आइकाजीले गरेको योगदानको उच्च प्रशंसा त गर्नैपर्छ । कि कसो हौ आइकाजी ?
