धरान । राष्ट्रियस्तरको आइबीए प्रो एण्ड एमेचर महिला पुरुष धरान फाईट नाइट–२०२५ को आय–व्यय सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक धरान बक्सिङ्ग क्लवले प्रतियोगितामा १३ लाख ३१ हजार ७ सय २९ रुपैयाँको आयव्याय सार्वजनिक गरेको हो । नेपालमा पहिलोपटक धरानमै आयोजना गरिएको धरान फाइट नाइट धरान उपमहानगरपालिका, वडा कार्यलयहरु, धरान हङकङ मञ्च, होटल मेरिकन नेपाल युथ अर्गनाइजेशन युके लगायत विभिन्न संघसंस्थाहरुले सहयोग रकम र टिकट विक्रीबाट १ लाख ६८ हजार रुपैयाँ संकलन गरि जम्मा ११ लाख ३२ हजार ४ सय ७० रुपैयाँ संकलन भएको संस्थाको सचिव महेश आलेले जानकारी दिनुभयो ।

प्रतियोगिताबाट घाटा व्यहोरेको संघले केही वडा कार्यालयहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो । यो प्रतियोगितालाई संस्थागत गर्दै लाने बताउदै धरान फाईट नाइट–२०२६ को तयारी तीब्र रुपमा अगाडि बढेको जानकारी दिनुभयो । गत वैशाख १२ गते धरान–१५ मा आयोजित प्रतियोगितामा एमेच्योर तर्फ ५ र प्रोफेसनल तर्फ ४ खेल समावेश गरिएका थिए । प्रतियोगितामा धरान सहित झापा, धनकुटा, काठमाडौं, ललितपुर, उदयपुर र त्रिभुवन आर्मी क्लबका खेलाडीहरूले सहभागिता जनाएका थिए । एमेच्योर विधामा दिव्या चेम्जोङ लिम्बु, सभ्रान्त लिम्बु, नवाहाङ राई, मनिष पराजुली र निकेश गुरुङ विजयी बनेका थिए । प्रोफेसनल विधामा फुङलाङ काम्बाङ, सिंहवीर लिम्बु, सुलभ माली र सम्राट महर्जनले उपाधि हात पारे । प्रो विजेताहरूले जनही ३५ हजार र उपविजेताले २५ हजार पाए भने एमेच्योर विजेतालाई ६ हजार र उपविजेतालाई ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको
थियो । खर्च विवरण अनुसार पुरस्कार वितरण, साउण्ड सिस्टम, हल भाडा, बिमा, मञ्च सजावट, पत्रकार सम्मेलन, खेलाडी आवास, नृत्य प्रस्तुति, डिजे, खानपान तथा आकस्मिक खर्च लगायत शीर्षकहरूमा खर्च बढी भएको आयोजकले जानकारी दिएको थियो । कार्यक्रममा आउट साइडर ब्यान्डको लाइभ प्रस्तुति, सिङ्क इन डान्स सेन्टरको नृत्य र डिजे नोभसनको विशेष प्रस्तुति समेत समावेश गरिएको थियो ।
