गृहमन्त्रीले राजीनामा नदिए बर्खास्त गरिनुपर्छ

पदमा नहुँदा अरुलाई नैतिकता र आदर्शको पाठ पठाउने संघीय सरकारका गृहमन्त्री रमेश लेखकले भिजिट भिषामा मानव तस्कर गरी दैनिक ५० लाख रुपैया घुस खाने गरेको प्रकरण
बाहिरिएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी परराष्ट्रमन्त्री आरजु राणाका किचेन क्याविनेट सदस्य एवम् विश्वासपात्र लेखकको गुह्य धन्दा बाहिरिएसँगै उनको यतिबेला सर्वत्र आलोचनामात्र भएको छैन तत्काल राजीनामा दिएर छानविन समिति गठन गर्नुपर्ने आवाज उठेको छ । गत बुधबार गुहमन्त्रीकै सेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अध्यागमन विभागमा १० महिना अगाडि पठाइएका सचिव तीर्थराज भट्टराई अख्तियारको फन्दामा परेपछि उनकै बयानका आधारमा गृहमन्त्री लेखकलाई दैनिक ५० लाख बुझाउने गरेको
रहस्य बाहिरिएको थियो । मानव तस्कर जस्तो जघन्य अपराधमा गृहमन्त्री नै लेनदेनमा संलग्न हुनु विडम्बनामात्र नभएर दुर्भाग्यपूर्ण हो । नैतिकताका आधारमा राजीनामा गर्न चौतर्फी दबाब भए पनि उनले राजीनामा दिने छाँट देखाएका छैनन् । नागरिकहरुका आवाजको विरुद्ध लेखकले आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने बताउन थालेका छन् । यहाँ भन्दा निर्लज्जताको कुरा अरु के हुन सक्छ ? आरोपित व्यक्तिले आरोप पुष्टि गर्न पहिला पद त्याग गर्नुपर्छ भन्ने सामान्य लोकतान्त्रिक मान्यता समेतको बर्खिलाप गरेका छन् । पदमा बसेर निजमाथिको छानविन प्रक्रिया अगाडि बढ्नै सक्दैन । उनीे पदमा बसिरहनु छानविनलाई प्रभावित बनाउनु हो । दैनिक ५० लाख घुस प्रकरण मिथ्या हो भने गृहमन्त्रीले किन राजीनामा दिँदैनन् । लेखकका कारण वर्तमान गठबन्धन सरकार थप धरापमा परेको छ । विगतमा आफू विरुद्ध आवाज उठ्दा धेरै मन्त्रीहरुले नैतिकता देखाउँदै पदबाट राजीनामा दिएको नजिक रहेको छ । तर लेखकमा पद मोह भन्दा बाहेक, लेनदेन भन्दा बाहेक कुनै नैतिकता देखिएन । चमडी जाए मगर दमडी नजाए भन्ने मान्यतामा लेखक रहेका छन् । अब पनि लेखकले राजीनामा नदिने हो भने उनलाई पदबाट बर्खास्त गरिनुपर्छ । निर्लज्जताको यो हदसम्मको पराकाष्ठा यसभन्दा अगाडि कहिल्यै देखिएका थिएन । छानविनका लागि मार्ग प्रसस्त गर्नुपर्नेमा गृहमन्त्रालयको प्याड दुरुप्योग गरी सह सचिव छवि रिजालमार्फत आफू चोखो रहेको विज्ञप्ती प्रकाशित गर्न लगाउनु निन्दनीय छ । विदाको दिन जेठ १० गते शनिवार जारी विज्ञप्तीमा भनिएको छ अन्तर्राष्ट्रिय विमान स्थलको अध्यागमन कार्यालयको घट्नासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिकामा तथा सामाजिक सञ्जालमा आएका समाचार एवम् क्रिया प्रतिक्रियाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यस प्रकारको कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रशारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वका कुनै प्रकारको संलग्नता नरहेको प्रष्ट पार्दछौ । नेतृत्वले गरेको भ्रष्टाचार अनियमितता लुकाउन यो हद सम्मको विज्ञप्ती निकाल्नुको कुनै तुक छैन । अख्तियारद्वारा पक्राउ परेकाको बयान, हतार हतार ८ जना गृहको कर्मचारी जो सेटिङका लागि पठाइएका थिए उनीहरुको सरुवाले घुस प्रकरणलाई थप पुष्टि गरिसकेको छ । विज्ञप्तीमा घुस प्रकरणलाई शान्ति सुरक्षासँग जोड्नु उदेकलाग्दो कुरा हो । विज्ञप्तीमा भनिएको छ, मुलुकमा शान्ति सुरक्षा, अमनचयन तथा सु्शासन कायम गर्नका लाग गृह प्रशासन निरन्तर क्रियाशील रहेको छ । मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घट्नामा शून्य सहनशीलताको नीति अबलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्नका लागि नीतिगत सुधारका कार्यहरु समेत गर्दै आइरहेको छ । विदाको दिन हतार हतार मन्त्रालयको लेटरप्याड दुरुपयोग गरी सह सचिव स्तरको व्यक्तिले विज्ञप्ती निकाल्नुले घुस प्रकरणलाई थप पुष्टि गरेको छ ।

तपाईको प्रतिक्रिया