सिराहा । दुई साता अगाडि मधेश प्रदेशको वीरगञ्ज हुँदै रक्सौल नाका भएर भारत प्रवेश गर्दै गरेका चार चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको घट्ना सेलाउन नपाउँदै पुन ः एकजना चिनियाँ नागरिक सिरहामा पक्राउ परेका छन् ।

सिराहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ दरैयास्थित नेपाल भारत सीमा नाकाबाट भारत प्रवेश गर्न लागेका चिनियाँ नागरिकलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले जेठ २ गते शुक्रबार नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार अवैध रुपमा भारत प्रवेश गर्न लागेका यु सिचाओ नाम गरेका ४० बर्षीय नागरिकलाई ११ः३० बजे एसएसबीको टोलीले नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार नेपाल भारत सीमाको दशगजा पार गरेर भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई एसएसबीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको छ । पछिल्लो समय पाकिस्तानसँग तनाव बढेपछि द्विदेशीय सीमा नाकाहरुमा भारतीय सीमा सुरक्षा बल बढी सक्रिय भएको छ ।
