थाइल्याण्डको बैंंककमा नेपाली साहित्य कार्यक्रम आयोजना

धरान । थाइल्याण्डको राजधानी बैंककमा दुई हप्ता अगाडि बैंकक भ्रमणमा गएका नेपाली साहित्यकार र बैंककमा स्थायी बसोबास गर्दै आएका प्रवासी नेपालीहरुको संयुक्त आयोजनामा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । केही दिनको थाइल्याण्ड भ्रमणमा जानु भएका नेपालका मुर्धन्य निवन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा त्यसरी साहित्यिक कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा युवराज नयाँघरेसँगै लोकेन्द्र ओली, बिना ढकाल, करुणा भुजेल, भारती अधिकारी, कोमल भट्टराई, दीपा राना, रितु निरौला
गुरागाइ, अशोक घिमिरे, गंगा बस्नेत, तिलक प्रोखेल, राज पौड्याल लगायतका साहित्यकारहरुले आÏना रचना वाचन गर्नुका साथै नेपाली साहित्य विद्यामाथि गहिरो अन्तरक्रिया समेत गर्नुभएको थियो । थाइल्याण्डमा नेपालीहरुको उल्लेख्य बसोबास रहँदै आएको छ । पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धका क्रममा बोलायती सेनाको रुपमा थाइल्याण्ड पुगेका नेपालीहरु पछि गएर उतै बसोबास गर्न थालेका हुन् । उनीहरु यतिबेला आफ्नो भाषा, साहित्य र सँस्कृति जगेर्ना गर्न समय समयमा साहित्यिक जमघटको आयोजना गर्ने गरेको कार्यक्रममा सहभागी कोमल भट्टराईले जानकारी दिनुभयो । थाइल्याण्डसँगै म्यानमार (बर्मा) मा समेत नेपालीहरुको उल्लेख्य रुपमा बसोबास रहँदै आएको छ । म्यानमारमा बसोबास गर्दै आएका नेपालीहरुले नेपाली साहित्य उत्थान र जगेर्नाका लागि दर्जन भन्दा बढी साहित्यिक संस्थाहरुको समेत गठन गरेका छन् । बैंककको साहित्यिक कार्यक्रमको अवसरमा नियत्राकार युवराज नयाँघरेले छोटो शुभकामना मन्तव्य समेत दिनुभएको थियो । उहाँले भन्नुभयो–थाइल्याण्ड र म्यानमारमा बसोबास गर्ने नेपाली साहित्यकारहरुले निरन्तर आÏना सिर्जनालाई अगाडि बढाइरहनुहोस्, मेरो शुभकामना ।

तपाईको प्रतिक्रिया