भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय समितिले मनायो स्थापनाको २२ औं बर्षगाँठ

धरान । भारतीय भूतपूर्व सैनिक एवम उनीहरुका आश्रित परिवारलाई संगठित बनाउने, एक अर्कामा सहयोगको आदानप्रदान गर्ने, स्वरोजगारका लागि सीपमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, सामुहिक श्रम संस्कृतिको विकास गर्ने उद्देश्ले स्थापना भएको भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय समितिले आफ्नो स्थापनाको २२ औं बर्षगाँठ भव्यताका साथ मनाएको छ ।
भारतीय भूतपूर्व सैनिक संघको केन्द्रीय कार्यालय धरान १३ स्थित आइतबार एक साथ सैयौ भूपूहरुको उपस्थितिमा उनीहरुले आफ्नो २२ औं बर्षगाँठ मनाएका हुन् ।संघका केन्द्रीय अध्यक्ष पूर्व कर्णेल विजयुमार राईको अध्यक्षता एवम् सौर्यचक्र कर्णबहादुर गुरुङको प्रमुख आथित्यमा आयोजित उक्त कार्यक्रम राष्ट्रिय गान, ज्ञात अज्ञात सहीदहरुप्रति श्रद्धाभावसँगै द्विप प्रज्वलनबाट शुरु भएको थियो । कार्यक्रममा विभिन्न जातजातिका साँस्कृतिक तथा संस्कार झल्काउने नृत्यहरु प्रस्तुत गरिँदा सहभागी भूपू सैनिकहरुले सुसेली काढ्ने, यथास्थानबाट उठेर नाच्ने, थपडी बजाउने गतिविधिले सभा हल नै गुञ्जायमान बनाएको थियो । विविध जात जाति, भाषाभाषी तथा आफ्नो छुट्टै मौलिक संस्कारले संसारमै सभ्य कहलिएका पूर्वी नेपालमा बाहुल्यता रहेको लिम्बु जातिको च्याब्रुङ धरान १६ का प्रेम सिंह र उहाँका टोलीले प्रस्तुत गर्नुभएको थियो । यसैगरि तामाङ्ग शेलो, साकेलासिली प्रस्तुत गर्नुभएका नृत्य समूहलाई कार्यक्रमका प्रमुख अतिथि सौर्यचक्र कर्णबहादुर गुरुङले नगद राशी सहित सम्मान गर्नुभएको थियो ।


सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गुरुङले भन्नुभयो नेपाल वहुजाति, वहुभाषि, वहु संस्कृति र वहु धार्मिक देश हो । अनेकौ भाषाभाषी, जात, सम्प्रदाय भएपनि एक अर्काप्रतिको सहिष्णुता हाम्रो पहिचान हो । आज भारतीय भूतपूर्व सैनिक संघ केन्द्रीय समितिले आफ्नो स्थापनाको २२ औं बर्षगाँठ मनाएको छ । वि.सं. २०५९ सालमा संघ स्थापना गर्दा तत्कालीन अवस्थामा साथीहरुले धेरै ठूलो मेहनत गर्नुभएको कुरालाई कसैले बिर्सनु हुँदैन । आजको अवस्थामा आइपुग्दा संघको आफन्ै भवन बन्न पुगेको छ । भूपूहरुलाई परेको समस्यामा एक जुट भएर समाधान गर्ने, आश्रित परिवारलाई विभिन्न प्रकारका सीपमुलक कार्यक्रमहरु सञ्चालन गर्ने लगायतका कार्यहरु प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
यसैगरि संघका संस्थापक सदस्य मेघराज राईले संघ स्थापना गर्दाको समय स्मरण गर्नुभएको थियो । उहाँले भन्नुभयो म संस्थापक सदस्य हुँ । त्यसबेला संघ संस्थापना गर्नको लागि भारतीय भूतपूर्व सैनिकरुको घरघरमा पुगेको, संघ स्थापना गनुपर्ने कारणका सम्बन्धमा उहाँहरुलाई जानकारी गराइएको आज पनि मलाइ झल्झल्ती सम्झना आउँछ । संघका केन्द्रीय सचिव वीरबहादुर राईले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा उपाध्यक्ष नेत्रबहादुर लिंगदेन लगायतले आफ्ना धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया