मोरङको सुन्दरहरैचास्थित भारतीय सहयोगमा पञ्चायत मावि भवनको शिलान्यास

सुन्दर हरैचा (मोरङ) । मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकस्थित पञ्चायत माध्यामिक विद्यालय भवन निर्माणको वैसाख ५ गते शुक्रबार एक समारोहबीच शिलान्यास गरिएको छ ।
कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सुन्दर हरैचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाई र नेपालस्थित भारतीय राजदुतावासका द्वितीय सचिव सुश्री गरिमा नौटियालले निर्माणाधीन उक्त विद्यालय भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु २.८१ करोडको लागतमा विद्यालय भवन निर्माण हुने भएको हो । नेपाल भारत सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा विद्यार्थीहरुका लागि सम्पूर्ण सुविधायुक्त पूर्वाधार सहित विद्यालय भवन तीन तलाको हुने भएको छ । उक्त परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडिपी) को रुपमा लिइएको छ भने सोको कार्यान्वयन सुन्दरहरैचा नगरपालिकाले गर्ने भएको छ ।
मोरङको सुन्दरहरैचा स्थित पञ्चायत माध्यामिक विद्यालय सन् १९६५ सालमा स्थानीय समाजसेवी, बौद्धिक समूहको पहलमा स्थापना भएको थियो । विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ । हाल विद्यालयमा ७५० जना विद्यार्थीहरु रहेका छन् । जसमध्ये ६० प्रतिशत विद्यार्थी संख्या छात्राहरु रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ । शिलान्यसको अवरमा मोरङ जिल्लाका विभिन्न राजनैतिक दलका प्रतिनिधि, जिल्लास्थित नेपाल सरकारका विशिष्ट अधिकारीहरु, सामाजिक कार्यकर्ताहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, अध्ययनरत विद्यार्थीहरु, अभिभावहरु र स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


सो अवसरमा कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले संंक्षिप्त मन्तव्य दिँदै भन्नुभयो नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासमा भारत सरकारको सदैव उल्लेखनीय सहयोग रहँदै आएको छ । उहाँले भारत सरकारको सहयोगमा प्रशंसा गदै भन्नुभयो पञ्चायत माध्यामिक विद्यालय भवन निर्माण सम्पन्न भएपछि विद्यार्थीहरुले सहज र सुलभ ढंगले शिक्षा आर्जन गर्न पाउनेछन् । भवन निर्माण पश्चात विद्यार्थीहरुको सिकाई थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यत भारत सरकारले नेपालका सात प्रदेशमा गरी ५७३ भन्दा बढी एचसीडिपीहरुलाई आवश्यकता र मागका आधारमा अगाडि बढाएकोमा हालसम्म ४९५ वटा परियोजनाहरु सम्पन्न भसकेका छन् । भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार यी परियोजना हरुमध्ये ९१ वटा परियाजनाहरु कोशी प्रदेशमा रहेका छन् । जसमध्ये १६ वटा परियोजनाहरु मोरङमा रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी, शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बसहरु विद्यार्थीहरुको पठनपाठनमा सहजता आओस् भन्ने उद्देश्यले उपहार स्वरुप प्रदान गरिसकेको छ । यसरी प्रदान गरिएका एम्बुलेन्समध्ये कोशी प्रदेशका १४६ वटा र ४८ वटा स्कुल बस प्रदान गरिएको छ । जसमा २१ वटा एम्बुलेन्स र १५ वटा स्कुल बसहरु मोरङ जिल्लाका विभिन्न अस्पताल, स्वास्थ्य केन्द्र र विद्यालयहरुलाई प्रदान गरिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया