नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुदैन जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्था हाम्रो मान्यता रही आएको छ

धरान । नेपालका राजा ज्ञानेन्द्र शाहले समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता भएको बताउनु भएको छ । नव बर्ष २०८२ को उपलक्ष्यमा देश तथा विदेशमा बस्नु भएका सम्पूर्ण नेपालीहरुको सुख र शान्तिको कामना गर्दै जारी सन्देशमा उहाँले त्यस्तो बताउनु् भएको हो ।
जारी शुभकामना सन्देशमा उहाँले हरेक नयाँ बर्ष नुतन आशा र विश्वास बोकेर आउने तर बर्षको विदाईमा एउटा घनघोर निराशाका बीच हुने गरेको धेरै साल भएको प्रष्ट पार्नुभएको छ । सन्देशमा आफ्ना धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्ने भन्दै केही दिन अगाडि काठमाण्डौको कोटेश्वरमा भएको घट्नाप्रति इंगित गर्दै जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जुन प्रकारको मानवीय एवम् भौतिक क्षति भयो त्यो सुन्दा अत्यन्तै दुःख लागेको छ । सन्देशमा भनिएको छ नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । आज नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं । वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अविस्मरणीय छ । देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्ति, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ नयाँ बर्ष २०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यै पनि योगदान पु¥याउदै आएको सर्वविदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावना बमोजिम चल्ने वहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रही आएको छ । वर्तमानमा बदलिँदो जनचाहनाको कदर गरी राज्य शक्तिको स्रोत जनता न हुन् भन्ने मञ्जुरी सदैव स्थापित हुनुपर्दछ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको दिव्य उपदेशलाई नै अबको राज्य सत्ताको मूलमन्त्र सोच्नुमा के होला ? सन्तुलित कुटनैतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो । यही नै राजनीतिको मूल धार हुनुपर्ने हो । विश्वको बदलिदो परिस्थितिलाई मनन् गदै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारहरुलाई चुनौतिका रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नु परिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ । स्वदेशी स्रोत साधनको प्रयोगले स्वदेशमै उत्पादन गरी देशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाट मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गराउनु पर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरु देखा परिसकेका छन् । सन्देशमा भनिएको छ विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्न समेत गाह«ो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकी युवा शक्तिको श्रम र सिपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ । युवा स्वरोजगारको निम्ति अवसरहरुको खोजी गरी नेपालमै आय आर्जन गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभरि छरिएर रहेका नेपालीहरु एकताका सुत्रमा बाँधिन अब ढिला गरिनु हुँदैन । आफ्ना ज्ञान सिप र सामाथ्र्य मात्र होइन त्यहाँ आर्जेको पूजी, स्रोत र साधन समेत नेपालमै लगाउनुपर्दछ भन्ने भावना सबैमा जागृत गर्नुपरेको छ । प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर र हिमवत खण्ड नेपाल सिंगार्ने र विकासको विगुल फुक्न कसरी लाग्ने र लगाउने ? स्वदेश फर्क स्वदेशमै स्वर्ग भन्ने अभियान चलाउनुपर्छ भन्ने आवश्यकता भएको छ । जनभावना र चाहना बुझी मुलुकको समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी तिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ । युग प्रविधिको हो । सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्ने छ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्दछ । हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासहरुमा ऐक्यबद्धता रहनेछ । मुलुकको अर्थ व्यवस्था, रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बढ्दो बेरोजगारी रक्षात्मक बन्दै गएको राष्ट्रियता,
राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, सँस्कृति तथा जनस्तरमा बढको निराशता, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पालयनसँगै पूँजी पलायन, भ्रष्टाचार र बेथिति देशले थाम्नै नसक्ने स्तरमा झाँगिएको छ । यो स्थितिमा नयाँ बर्षलाई उपलब्धीमूलक बनाउनु हामी सबै नेपालीको सामुहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ ।
सन्देशको अन्त्यमा भनिएको छ नेपाली नेपालीबीच द्वन्द्व नहोस्, परस्पर अविस्वास र हिंसाको दुखःद् मनस्थिति नबनोस्, देशबासीहरु कुनै पनि नाम र निहुँमा धु्रविकरण नबनून् भन्नेतर्फ हामी सदैव सचेत र संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहित रहेको यथार्थतालाई हामीले आत्मसात गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गर्नुपर्छ भन्ने ठान्दछौं । हाम्रो आवहान हामी कसैको नीजी स्वार्थ पूर्तिका निम्ति होइन, कुनै खालको सैद्धान्तिक बाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधिनता, समग्र जनताको सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाका निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । संसार धेरै अघि बढिसकेको छ तर हामी यो वा त्यो वादको चक्रव्युहमा फँसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चाल्नुपर्छ । हरेक समस्याको समाधान संवाद, सहमति, समन्वय र सहार्यबाट हुन सक्दछ । आगामी बर्ष नेपाली इतिहासको रमणीय र सुनौलो सम्झना बन्नुपर्दछ र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ बर्षले नयाँ आशा, उमंग र उत्साह ल्याओस् अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस्, सन्देशमा भनिएको छ ।

तपाईको प्रतिक्रिया