धरान । सहसचिव स्तरीय सीमा व्यवस्थापन सम्बन्धी भारत –नेपाल संयुक्त कार्यदल (Joint working Group) को १३ औं बैठक पोखरामा सम्पन्न भएको छ । चैत्र १४ र १५ गते दुई दिन चलेको उक्त बैठकमा दुवै पक्षले भारत–नेपालका सीमा व्यवस्थापनसँग सम्बन्धित विषयहरुको समीक्षा गर्नुको साथै सुरक्षामा द्विपक्षीय सहयोग र समन्वयलाई थप सुदृढ बनाउने सहमति गर्दै १४ औं कार्यदलको बैठक भारतमा गर्ने निर्णय समेत गरेका छन् ।

कार्यदलको बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गृहमन्त्रालयका सह–सचिव तथा प्रवक्ता रामचन्द्र तिवारी र भारतीय पक्षको नेतृत्व भारतीय गृह मन्त्रालयका सहसचिव निहिर कुमारले गर्नुभएको थियो । दुवै प्रतिनिधि मण्डलमा नापी विभाग, भन्सार, अध्यागमन, परराष्ट्र (विदेश) मन्त्रालय, कानुन मन्त्रालय, प्रहरी, सशस्त्र प्रहरी, एसएसवी लगायतका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । स्रोतले दिएको जानकारी अनुसार बैठकमा आपसी हितको प्रवद्र्धन गर्ने, सीमापार अवराध नियन्त्रण गर्ने, मानव बेचविखन, अवैध व्यापार, लागू औषध, अपराधिक क्रियाकलाप नियन्त्रण सम्बन्धी सहमति भएको थियो । यसैगरि विपद व्यवस्थापमा सहकार्य गर्ने, स्तम्भको नियमित रेखदेख र मर्मत सम्हार गर्ने, प्रतिबन्धित लागू औषधको निकासी पैठारीमा रोक लगाउने, आतंकवाद नियन्त्रणका लागि सूचनाको आदान प्रदान गर्ने समेत सहमति भएको छ ।
