ताप्लेजुङको ओलाङचुङगोला मौवाटारमा सुख्खा बन्दरगाहका लागि बोर्डको पहल शुरु आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गर्न उद्योग मन्त्रालयलाई पत्राचार

ओलाङचुङगोला (ताप्लेजुङ) । सडक सञ्जालको पहुँच पुगेको भन्दै चीनसँग सीमा जोडिएको ताप्लेजुङ जिल्लाको उत्तरी सीमा नाका ओलाङचुङगोला–टिप्तला भन्ज्याङको मौवाटारमा सुख्खा बन्दरगाहका लागि पहल शुरु भएको छ । सीमा नाकाहरुमा सुख्खा बन्दगाहको व्यवस्थापन गर्दै आएको नेपाल इन्टर मोडल यातायात विकास बोर्डले चीनसँगको परम्परागत सीमा नाका खुलिसकेको अवस्थामा सुख्खा बन्दरगाह निर्माणको लागि सरकारलाई आगामी बर्षको नीति तथा कार्यक्रममा समावेश गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ । नेपाल सरकारले नीति तथा कार्यक्रम समावेश गरेमा आगामी श्रावणदेखि बन्दरगाहको काम शुरु हुन्छ । नेपाल इन्टर मोडल यातायात विकास बोर्डका अनुसार सम्भवत ः उत्तरी सीमा नाकाहरुमा निर्माण भएका सुख्खा बन्दरगाह जस्तै ताप्लेजुङ्गको मौवाटारमा समेत चीनको आर्थिक तथा प्राविधिक सहयोगमै सुख्खा बन्दरगाह निर्माण हुने निश्चित छ । नेपाल इन्टर मोडल यातायात विकास बोर्डले सुख्खा बन्दरगाहका लागि दुई बर्ष अगाडि नै प्रि–भिजिविलिटी अध्ययन गरेर सो को प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बुझाइसकेको छ । बोर्डले सुख्खा बन्दरगाहको निर्माण सम्भावना रहेको भन्दै २०८१ चैत्र १२ गते मंगलबार मन्त्रालयलाई पत्राचार गरेको जनाएको छ । समितिले मन्त्रालयमा गरेको पत्राचारमा भनिएको छ आव २०८२÷ ०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गर्नु उपयुक्त हुन्छ । सुख्खा बन्दरगाह निर्माणले व्यापार तथा अन्य पूर्वाधार विकासले उक्त क्षेत्रको समग्र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्न मद्धत गर्नेछ । सुख्खा बन्दगाहसँगै उक्त स्थानमा एकीकृत जाँचचौकी समेत निर्माण गर्नु उपयुक्त हुन्छ । चीनले टिप्तला भन्ज्याङमा आफ्नो तर्फ सम्पूर्ण पूर्वाधार निर्माण गरिसकेको छ । भन्सार कार्यालय, सुरक्षा वेश, सडक लगायतका पूर्वाधार चीनले निर्माण गरेपनि नेपालतर्फ भने हालसम्म भन्सार चौकी समेत रहेको छैन । कोरोना कालभन्दा अगाडि सानो छाप्रोमा भन्सार कार्यालय भएपनि त्यस भन्दा यता उक्त भन्सार कार्यालयमा कोही कर्मचारी ्रछैनन् ।


हुन त उत्तरी सीमा नाकाहरुलाई व्यवस्थित बनाउनेतर्फ वर्तमान सरकारले उदासीनता देखाएको छ । उत्तरी नाकामा भन्सार व्यवस्थित वा सुुख्खा बन्दरगाह बनाउन चीनले नै सहयोग गर्दै आएको छ । मौवाटारमा समेत चीनको आर्थिक तथा प्राविधिक सहयोगको प्रतिक्षामा नेपाल सरकार रहेको देखिन्छ बोर्ड सुत्रले भन्यो । सबैभन्दा पहिला नेपालको उत्तरी सीमानाका रसुवा जिल्लाको टिमुरबोटे गाविसको छट्टेखोलामा बन्दै गरेको सुख्खा बन्दरगाह चिनकै आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न हुन लागेको छ । यसैगरि सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकाको सुख्खा बन्दगाह २०७२ को महाविनाशकारी भुुकम्पले क्षतविक्षत बनाएपछि सो को पुनर्निर्माण चिनले गरिदिएको हो । यतिबेला चीनबाट सबैभन्दा बढी कन्टेनराइज कार्गो रसुवागढी नाका र तातोपानी नाकाबाट आउने गरेका छन् । नेपाल इन्टर मोडल यातायात विकास बोर्ड सुत्रले दिएको जानकारी अनुसार तप्लेजुङको मौवाटारमा निर्माण हुने सुख्खा बन्दरगाह समेत चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमै निर्माण हुन्छ । यसै सम्बन्धमा चिनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि र उद्योग मन्त्रालयका प्रतिनिधि बीचमा छलफल समेत भइसकेको छ । बोर्डका अनुसार सन् २०२५ को जुलाइबाट चिनियाँ रेल्वे कस्ट्रक्सन कम्पनीले सुख्खा बन्दरगाहको काम अगाडि बढाउँछ । हाल सुख्खा बन्दरगाहको डिपिआरको काम समेत भइरहेको छ । बोर्डका अनुसार मौवाटारको सुख्खा बन्दरगाह र गोरखा जिल्लाको लार्चामा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढेको छ । दुवै स्थानको सुख्खा बन्दरगाह चिनियाँ आर्थिक तथा प्राविधिक सहयोगमै निर्माण हुनेछन् ।

तपाईको प्रतिक्रिया