नागरिक हत्यामा सरकार हिंसामा उत्रनु लोकतन्त्रको खिलाफ

कुनै पनि देशमा नागरिकहरु त्यसै सडकमा आउँदैनन् । नागरिक सडकमा आएपछि सत्तासीनहरुले आफूले गरेका गल्ति, कमजोरी सच्याउदै जनताका बीचमा आत्मआलोचना गर्नुपर्छ । यो संसारकै प्रजातान्त्रिक पद्धति र परिपाटी हो । सत्तासीनहरुलाई नागरिकले अस्वीकार गरेपछिमात्र नागरिक सडकमा आउँछन् । तर नेपालका शासकहरु जनताले अस्वीकार गर्दा समेत
राज्य संयन्त्रको चरम दुरुपयोग गरेर बलजÏतीपूर्वक सत्तामा टिकिरहन अभ्यस्त छन् । पछिल्लो समय नेपालमा यही विडम्बनापूर्ण परिस्थिति सिर्जना भएको छ । जनताबाट आर्जित शक्ति र सत्ताको आडमा जनतामाथि नै बर्बरता देखाउने, क्रुरता देखाउने, आवाज थुन्ने, धरपकड गर्ने, यातना दिने, झुठा मुद्धा लगाउने र हत्या गर्ने सम्मको कार्यले लोकतन्त्रको धज्जी उडाएको छ । शासकले नागरिकको आवाज सुन्नुपर्छ, दबाउने कुचेस्टा क्षणिकका लागि सत्ता त जोगाउलान् तर त्यसको नकारात्मक नतिजा चाँडै अगाडि आउने छ । चैत्र १५ गते काठमाण्डौको तीनकुने क्षेत्रमा नागरिकको शान्तिपूर्ण सभा विथोल्न राज्य पक्षले जुन नांगो नृत्य देखायो त्यसले नागरिकलाई थप आन्दोलित बनाएको छ । कोटेश्वरको आन्दोलनमा नागरिकहरु स्वस्फूर्त रुपमा आएका थिए । भृकुटी मण्डपको झै अपराधीहरुको प्रतिकारसभामा खर्च, मासुभात खाएर जम्मा भएका थिएनन् । पूर्ण रुपमा असफल भएको वर्तमान सरकारले नागरिकको शान्तिपूर्ण जुलुस सभामा परिणत हुन नपाउदै बर्बरतापूर्वक गोली हान्ने, डेडएक्स्पाएर भएका अश्रुग्याँस प्रयोग गर्ने, निर्मतापूर्वक लठ्ठी प्रहार गर्ने, धरपकड गर्ने, गिराÏतार गर्ने, झुठा मुद्धा चलाउने अनि भ्रमको खेति गर्न नागरिक नै झडपमा उत्रिएको प्रचारबाजी गर्ने जुन हर्कत गरेको छ त्यसबाट सरकार अन्तर्राष्ट्रिय जगतमै नांगिएको छ । एभिन्युजका क्यामेरा पर्सन पत्रकार सुरेश रजकलाई बन्द कोठामा थुनेर सुरक्षा कर्मीहरुले नै आगो लगाई हत्या गरेको त्यसबेलाको सिसीटिभी फुटेजहरुले देखाइसकेको छ । किर्तिपुरका सविन महर्जन शान्तिपूर्ण जुलुसमा बन्दुक तथा हातहतियार बोकेर आएका थिएनन् । उनलाई गोली हानेर उनको आवाज बन्द गरियो । जब राज्य नै नागरिक हत्यामा उत्रन्छ भने त्या देशको शासकले देशमा कुन हदसम्मको काम गरेको होला भन्ने कुरा प्रष्ट छ । पत्रकारको कलम बन्द गर्न, नागरिकका आवाज बन्द गर्न तहसम्म राज्य पक्ष उत्रन्छ भने उसको अवसान निकट भविष्यमै हुन्छ । आज देशभरि पत्रकार रजकको हत्याको विरुद्धमा सञ्चारकर्मीहरुले प्रदेशन गरिरहेका छन्, अन्तर्राष्ट्रिय जगतले घोर भत्र्सना गरिरहेको छ । प्रवासमा बस्ने नेपालीहरुले प्रवासमै वर्तमान शासकका विरुद्ध आवाज उठाइरहेका छन् । यसबाट अन्तर्राष्ट्रिय जगतमा समेत म नै राज्य हुँ भन्ने भ्रममा रहेको सरकार नांगिएको छ । अझै पनि समय वितिसकेको छैन । आज गरिएको अपराधप्रति आत्मआलोचना गर्दै नागरिकका आवाज समयमै सम्बोधन गर्न ढिला गरिनु हुँदैन । नत्र भोलिका दिन परिस्थिति थप जटिल बन्दै जाने निश्चित छ । त्यसबेला ढिला भइसकेको हुनेछ । जन आक्रोसलाई दबाउने कुचेष्टा गर्दा विश्वका ठूला ठूला तानाशाहरुको पतन भएको कुरालाई समयमै हेक्का गर्नु बुद्धिमानी हुनेछ । धेरै टाढाको उदाहरण चाहिँदैन नजिकको छिमेकी मुलुक बंगलादेश, अफगास्थान, श्रीलंकाको परिस्थिति नै पर्याप्त हुन्छ ।

तपाईको प्रतिक्रिया