सप्तरी । मधेश प्रदेश अन्तर्गत सप्तरी जिल्लाको सुरुङ््गा नगरपालिकास्थित जनता माध्यामिक विद्यालय भवनको चैत्र १३ गते बुधबार एक समारोहबीच शिलान्यास गरिएको छ ।
उक्त विद्यालय भवनको युवा तथा खेलकुद विकासमन्त्री तेजुलाल चौधरी, सुरुङ्गा नगरपालिकाका प्रमुख श्रीमति गीता चौधरी र काठमाण्डौस्थित भारतीय राजदुतवाावासकी द्वितीय सचिव सुश्री गरिमा नौटियालले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहयोग नेरु ३.७६ करोडको लागतमा परियोजनालाई अगाडि बढाइने भएको छ । शिलान्यास कार्यक्रममा सप्तरी स्थित विभिन्न राजनीतिक दलका स्थानीय नेता, मधेश प्रदेशका तथा संघीय सरकारका बरिष्ठ सरकारी अधिकारीहरु, विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यालयका शिक्षक शिक्षिकाहरु, छात्रछात्राहरु, विद्यार्थीका अभिभावकहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।


नेपाल भारत विकास सहयोग अन्तर्गत भारत सरकारको अनुदानमा बन्ने उक्त विद्यालय भवन तीन तलाको हुने बताइएको छ । विद्यालय भवनसँगै आवश्यक अन्य सम्पूर्ण पूर्वाधारहरु लाइब्रेरी, मिटिङ हल, प्रशासनिक कक्ष, छात्र–छात्राका लागि छुट्टाछुट्टै वासरुम, आवश्यक फर्निचरहरु, गार्ड कक्ष लगायतका सुविधा रहने भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रुपमा रहेको र सो को कार्यान्वयन सुरुङ्गा नगरपालिकामार्फत गरिने भएको छ । शिलान्यास गरिएको जनता माध्यामिक विद्यालय सन् १९५१ मा स्थापना भएको थियो । हाल विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन भइरहेको छ । ६ सय भन्दा बढी विद्यार्थीमध्ये ६० प्रतिशत छात्राको संख्या रहेको जारी विज्ञप्तीमा जनाइएको छ । सो अवसरमा युवा तथा खेलकुद विकास मन्त्री चौधरी, नगरपालिकाकी प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरुले भारत सरकारको सहयोगमा नवनिर्मित विद्यालय भवन बन्न लागेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँहरुले पुरानो भवन विद्यार्थीका लागि अपुग भएको, जीर्ण भएकोले नव निर्माण हुने विद्यालय भवनले विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्न ठूलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरुले नव निर्मित विद्यालय भवनबाट विद्यार्थीहरुले सिकाइको उपयुक्त वातावरण प्राप्त गर्ने भएकोले यस क्षेत्रको शिक्षा क्षेत्रमा ठूलो योगदान पुग्ने समेत बताउनुभयो । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारत सरकारले नेपालमा ५६३ भन्दा बढी एचआइसिडिपी कार्यक्रमहरु सञ्चालन गरेकोमा हालसम्म ४९५ वटा त्यस्ता परियोजनाहरु सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् । यीमध्ये ८२ वटा परियोजना मधेश प्रदेशमा रहेका छन् । सप्तरी जिल्लामा मात्र ९ वटा परियोजना रहेका छन् । यसका अलावा भारत सरकारले नेपालका विभिन्न असपताल, स्वास्थ्यचौकी र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स, ३ सय वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरिसकेको छ । यसरी उपहार स्वरुप भारतले प्रदान गरेका एम्बुलेन्सहरुमध्ये मधेश प्रदेशमा २२५ वटा र ३४ वटा स्कुल बसहरु रहेका छन् । जसमध्ये सप्तरी जिल्लामा मात्र २४ वटा एम्बुलेन्स र २ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।


