धरान । आन्तरिक राजस्व कार्यालय धरानले मेनुअल सिस्टमलाई अपग्रेट नगरी आफूखुशी लाखौ रुपैयाँ कर दाखिला गर्न बाँकी रहेको भन्दै मनपरी ढंगले रकम उल्लेख गरी व्यवसायीहरुलाई रकम दाखिलाका निम्ति यतिबेला चिठ्ठी आतंक नै मच्चाएको छ । आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता नगरिएको अवधि समेत उल्लेख गरी आइटी सिस्टम भन्दा अगाडिका बर्षहरु समेत उल्लेख गरी लाखौ रकम बुझाउन यतिबेला धरानका व्यवसायीहरुलाई पत्राचार गरिएपछि व्यवसायी आतंकित भएका हुन् । विगतमा यस प्रकारको चिठ्ठी आतंक फैल्याउने काम कहिल्यै भएन तर एक बर्ष अगाडि गत माघमा कार्यालय प्रमुखको रुपमा बृद्धिप्रसाद आचार्य आएपछि चिठ्ठी आतंक मच्चिएको व्यवसायीहरुले गुनासो गरेका छन् । धरानका एक बरिष्ठ अडिटरले त कार्यालय प्रमुख आचायले आतंक नै फैल्याएको आरोप लगाउनु भएको छ । उहाँले भन्नुभयो, आन्तरिक राजस्व कार्यालयमा पान वा भ्याटमा दर्ता भएको अवधिभन्दा दश बर्ष अगाडिको बक्यौता रहेको छ भन्दै चिठी पठाउने समेत काम भएको छ । चौतर्फी आर्थिक मन्दी रहेको, व्यवसायीहरुले धमाधम सटर बन्द गर्दै पलायन हुन थालेको अवस्थामा विगत २० बर्षदेखिको कर दाखिलाको चिठ्ठी स्थानीय निकायको वडा समितिको समन्वयमा बाँडिएको छ । उहाँले भन्नुभयो व्यवसायीहरुले राज्यलाई बुझाउनुपर्ने राजस्व बुझाइसकेका छन् । भएको के हो भने पहिला अनलाइन सिस्टम थिएन । म्नुअल सिस्टम थियो । अडिटले जे रिपोर्ट दियो त्यसैको आधारमा आन्तरिक राजस्व कार्यालयमा रहेको फारम भेरर नगदै बुझाइन्थ्यो र रसिद दिइन्थ्यो । २०६४ सालदेखि मात्र अनलाइन सिस्टममा हाल्न थालियो । ०६४ सालभन्दा अगाडि तिरेको राजस्व अनलाइन सिस्टममा देखिदैन । अहिले आएर २० बर्ष अगाडिको पैसा बुझाएन भनेर चिठ्ठी आतंक मच्चाएको छ । उहाँले भन्नुभयो मेनुअल सिस्टम हुँदा व्यवसायीले कर तिरेको फाइल कार्यालयमा छ । त्यसलाई अपडेट गर्ने काम कार्यालयको होइन ? उहाँका अनुसार यो बदमासी कार्यालय प्रमुखकै हो ।


धरानका अर्का अडिटरले भने यो कार्यालय प्रमुखको सोह«ैआना बदमासी हो । सरकार स्वयम्ले सात बर्ष अगाडिको फायल व्यवसायी वा कर दाताले राख्नु पर्दैन भनेको छ अब व्यवसायीले २० बर्ष अगाडिको रसिद कहाँ खोज्ने ? व्यवसायीको पूरा फायललाई सिस्टममा राख्ने काम आन्तरिक राजस्व कार्यालयको हो । छुटेको थियो भने चालु आथिक बर्षमा कर चुक्ता गर्दा तपाईको छुटेको छ भनेर किन लिइएन ? हरेक व्यवसायीले प्रत्येक बर्ष कर क्लियरेन्स गरेरै बैंकिङ्ग कारोबार गरिरहेका छन् । कर क्लियरेन्सकै समयमा पनि तपाईको यति बाँकी छ भनेर लिनुपथ्र्यो । यो चिठ्ठी आतंकले कार्यालय प्रमुख आचार्यको नियत राम्रो देखिएन । यसैगरि उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने कर कार्यालयले०५८–०५९ सालदेखिको कर तिर भनेर व्यवसायीका नाममा पत्र काटेको छ । हामीले आन्तरिक राजस्व कार्यालयमै गएर यो बदमासी हो भनेर भन्यौ । एक्सनमा जानुुपर्ने हो कि पत्र आतंक गतिविधि सुधार्नुु हुन्छ भनेका छौं । हामीले अहिले मुद्धा पनि हाल्न सक्छौं । व्यवसायीले सरकारले भने अनुसारको ४–५ बर्षको कागजात राखेका हुन्छन् । २० बर्ष अगाडिको कसैले पनि राखेका हुँदैनन्, कार्यालय प्रमुखले ऐन विपरीतको काम गरिरहेका छन् । यसैगरि अर्का पदाधिकारीले भने कार्यालयका अनुसार चिठ्ठी नन फाइलहरुलाई पठाएको हो रे । तर यसले धेरै व्यवसायीलाई आतंकित बनाएको छ । ५ लाखको कारोबार गर्नेलाई ५० लाख निर्धारण गरेर पठाएको छ । उनले एक कर्मचारीको हवाला दिँदै भने कार्यालय प्रमुख आफूखुशी गर्छन् । अन्य कर्मचारीहरु निजको ब्यवहारदेखि वाक्क भएका छन् । कर नलाग्ने ठाउँमा पनि वक्यौता तिर भनेर पत्र काटेका छन् । ती कर्मचारीको भनाई उद्यृत गर्दै उनले भने निज आचार्य अझै ६ महिना धरानमा बस्ने हो भने धरानको व्यवसाय नै चौपट्ट हुन्छ । आन्तरिक राजस्व कार्यालय धरानका एक अधिकृतले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने करदाताको विवरण अनलाइन सिस्टममा ०६४ सालेदेखि मात्र राखिएको छ । त्यसभन्दा अगाडि हातैले विवरण भरेर बुझाउने चलन थियो । अब अहिले ०६४ भन्दा अगाडिका सबै करदातालाई यति बक्यौता छ भनेर चिठ्ठी काट्न् निर्देशन दिएपछि बाध्य भएर चिठ्ठी काट्नु परेको हो । उनले भने कार्यालय प्रमुखले के गर्न खोजेको हो ? हामी त आजित भएका छौं । पुराना करदाताका सबै विवरण फाइलमै छ । फाइलमा भएका विवरणलाई पहिला अपग्रेट गर्न सल्लाह दियौ तर उनले मानेनन् । पुराना फाइल हेर्दा अधिकांशले राजस्व बुझाएको देखिन्छ । पत्र पठाएर दुःख दिने काम मात्र गरेको देखिन्छ । यसै सम्बन्धमा कार्यालय प्रमुख बुद्धिप्र्रसाद आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो पुराना फाइल सिस्टममा अपग्रेड गर्न सम्भवै भएन । अनि मनपरी जथाभावि रकम उल्लेख गरेर पत्र काट्न मिल्छ त भन्ने सवालमा उनी चुप देखिए ।
