नेपाली विद्यार्थीको निधनप्रति दुःख

धरान । भारतको ओडिसा राज्यस्थित कलिङ्गा इस्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्व विद्यालयको होस्टलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको फागुन ४ गते भएको निधनप्रति भारतीय राजदुतावास काठमाण्डौले गहिरो दुःख व्यक्त गरेको छ । भारतीय राजदुतावास काठमाण्डौले सोमबार एक विज्ञप्ती प्रकाशित गरी मृतक नेपाली विद्यार्थीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त समेत गरेको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ दुतावासले कलिङ्गा इन्स्टिच्युट अफ इण्डष्ट्रियल टेक्नोलोजीका अधिकारीसँग सम्पर्क गर्दै ओडिसा राज्य सरकारलाई घटनाको सत्यतथ्य छानविनका लागि आग्रह गरेको छ ।


कलिङ्गा इन्स्च्यिुट अफ इण्डष्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरुलाई क्याम्पसमा फर्कन अपिल गरिसकेको, आफ्ना कक्षाहरु नियमित लिन र होस्टलमा बस्न आग्रह गरिसकेको समेत दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ । दुई देशका जनताबीचको चीर स्थायी सम्बन्ध रहेको स्मरण गर्दै दुतावासले आगामी दिनमा भारत सरकारले नेपाली विद्यार्थीहरुको हित सुनिश्चित गर्दै सबै आवश्यक कदम चाल्ने समेत विज्ञप्तीमा जनाइएको छ ।


लम्सालको निधनको समाचार सार्वजनिक भएपछि उक्त विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आन्दोलन गरेका थिए । उक्त विश्व विद्यालयमा एक हजार पाँच सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उक्त कुराको जानकारी उक्त शैक्षिक ंसंस्थामा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आएको काठमाण्डौ स्थित संस्थाले जनाएको छ । मृतक लम्सालको निधनपछि न्याय माग्न गएका विद्यार्थीहरुलाई दुव्र्यवहार गर्ने उक्त विश्व विद्यालयका छात्राबासका कार्मचारी र सुरक्षागार्डहरुलाई विश्व विद्यालयले हिजो मंगलबार बर्खास्त गरेको छ ।

तपाईको प्रतिक्रिया