युवाहरु विदेसिने क्रम बढ्दै जाँदा चौतर्फी चिन्ता व्यक्त

धरान । नेपालबाट बर्षेनी शिक्षा आर्जन गर्नका लागि विद्यार्थीहरु विदेसिने क्रम बढ्दै गएकोप्रति पछिल्लो समय चिन्ताको विषय बनेको छ । अभिभावक, शिक्षकको मात्र हैन देशको नीति निर्माणको तहमा पुगेका सरकारप्रमुखहरुको समेत अहिले यो विषय चिन्ताको विषय बनेको छ । मंगलबार धरान १६ स्थित लिंगामेन्ट रेसिडेन्सियल स्कुलमा यही विषयमा चर्चा परिचर्चा भयो । स्कुलले ११ औं अभिभावक दिवसको अवसरमा विद्यालयका शिक्षक, अभिभावकमात्र हैन देश विकासको जिम्मेवारी वहन गर्न पुगेका मन्त्रीहरुले यस्तै प्रकारको निराशाजनक कुरा गरेका थिए । कार्यक्रमको उद्घाटन गर्न पुग्नु भएका कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले कार्यक्रमपश्चात यस्तै निराशाजनक कुरा गर्नुभएको थियो । उहाँले उपस्थित अभिभावकहरुलाइ आफ्ना नानीहरुलाई उच्च शिक्षाका लागि विदेश नपठाई समाज र राष्ट्रका लागि उत्तरदायित्व वहन गर्ने प्रेरणा दिन आग्रह गर्नुभभयो । उहाँले युवा पुस्ता वैदेशिक रोजगारमा खाडी मुलुक, युरोपियन मुलुक जाने लहर चलेको बताउदै युवापुस्ता नै विदेश पलायन भएपछि देशमा युवा शक्तिको खडेरी परेको उल्लेख गर्नुभयो ।
उहाँले यहाँ उत्पादन भएका विद्यार्थीहरुलाई स्वदेशमै लगानी गरेर देशका निम्ति समर्पित हुन सक्ने अवस्था सबै मिलेर गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले गर्न सकेको खण्डमा नेपालमै सबै कुरा गर्न सकिने भएकोले यहाँका युवा शक्ति, विद्यार्थीहरुलाई विदेश जानबाट रोक्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो । यहाँ उत्पादन भएका विद्यार्थीहरुले अब नेपालमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो ।

नेपाालबाट पछिल्लो समयमा १० वर्षमा ६ लाख ३९ हजारभन्दा बढी विद्यार्थी विदेशमा पढ्नका लागि गएको तथ्यांक छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷०७२ देखि २०८०÷०८१ सम्ममा ६ लाख ३९ हजार १४८ वटा एनओसी जारी भएका छन् । पछिल्ला तीन वर्षमा भने एक लाख भन्दा बढीको हाराहारीमा एनओसी जारी भएका छन् । आर्थिक वर्ष २०७८÷०७९ देखि २०८०÷०८१ मा भने हरेक वर्ष एक लाख बढीले विदेशमा अध्ययन गर्न जान एनओसी लिएको देखिन्छ । यो अवस्था आउनु नेपालकै लागि दुर्भाग्य हो । यसलाई रोक्न नेपाल सरकारले नीति ल्याउन जरुरी छ भने यसतर्फ अभिभावहरु सचेत हुन आवश्यक छ ।

तपाईको प्रतिक्रिया