धरान/ धरानमा रहेका महिलावादी संघसंगठनहरुको छाता संगठन महिला सञ्जाल धरानले संगठन भएको ५ बर्षभित्रमा महिलाका धेरै मुद्धालाई किनारा लाउने काम गरेको छ ।
वि.सं. ०६७ सालमा धरानमा रहेका २३ वटा महिलावादी संघसंगठनहरुले महिलाको मुद्धालाई दरिलो बनाउन तथा महिलामाथि घट्ने हरेक किसिमको हिंसा न्यूनिकरण गर्न मिना पुलामीको अध्यक्षतामा गठन भएको यो संस्थाले अदृश्यरुपमा धेरै काम गरेपनि संस्थागत रुपमा जबर्जस्ती करणीको घटना ३ वटा, सम्बन्ध विच्छेद ७ वटा, मेलमिलाप ७ वटा र जग्गा सम्बन्धी विवादका ३ वटा मुद्धालाई सक्रिय रुपमा किनारा लगाएको छ । त्यतिमात्र हैन महिला हिंसा सम्बन्धी विभिन्न र्याली तथा कार्यक्रममा समेत सहभागी जनाई आफ्नो प्रतिनिधित्व जनाउदै आएको छ ।
खासगरी यस संस्थाले धरानमा रहेका सीमान्तकृत, विपन्न, दलित, आदिवासी, एकल महिला तथा वैदेशिक रोजगारबाट दु:ख पाएर फर्किएका महिलाहरुलाई सामाजिक, आर्थिक रुपममा रोजगारमूलक बनाइ उनीहरुको जीवन परिवर्तन गराउने काममा समेत यो सञ्जाल सक्रिय बन्दै गएको छ ।
केही समय अगाडि नेपालमा भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान, २२ औं अन्तर्राष्ट्रिय महिला विरुद्धको अभियानमा विभिन्न समुदायसंग सहकार्य गरेर विभिन्न कार्य तथा अन्तरक्रिया कार्यक्रम समेत प्रभावकारी रुपमा गरेको थियो ।
अत्यन्तै सक्रिय यो सस्थाले धरान उपमहानगरपालिकामा भएका विकास निर्माणका काममा समेत सक्रिय बन्दै गइरहेको छ । नागरिकलाई सूचनाको अधिकार रहेको भन्दै धरान उपमहानगरपालिकालाई सर्वसाधारणलाई सूचना प्रदान गर्न दबाब दिदै आइरहेको छ । विसुद्ध
राजनीतिबाट टाढा रहेको महिला सञ्जालले आफ्नो स्थापनाको दोस्रो साधारण सभा सम्पन्न गरेको छ । धरान नगरपालिकाका वातावरण अधिकृत सुनिल नेपाललको प्रमुख आथित्यमा सम्पन्न यस साधारण सभाले २३ सदस्यीय नया नेतृत्व समेत चयन गरिएको छ । नव निर्वाचित अध्यक्षमा शिला बज्राचार्य, उपाध्यक्षमा सविता राई, सचिवमा चेतना सेरेड, सह सचिव मञ्जु भण्डारी रहनुभएको छ भने बाकी १८ वटा महिला अधिकारवादी संस्थाका सदस्यहरु सदस्य चयन भएका छन् ।
