धरान । यतिखेर सबैतिर अत्याधिक चीसो बढेको छ । चीसोको समयमा सबैभन्दा बढीबृद्धाबृद्धा, बालबालिका र निम्न वर्गका समुदायहरुलाई परेको छ । चिसो मौसममा न्यानो कपडा लगाउन नपाएर कठ्यांग्रिएर कतिको ज्यान समेत गुम्ने गरेको समेत पाइन्छ । यस्तो समस्या न्यूनिकरणका लागि सरकारी स्तरबाट नभए पनि सामाजिक संघ संस्थाले न्याना कपडा वितरण गरेर उदाहरणीय काम गर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका समुदाय अहिले बढेको चिसोले धेरै प्रभावित बनेका छन् । यसमा पनि विद्यालमा पढ्ने विद्यार्थीहरु त झन चिसोका कारण समस्या भोग्दै आएका छन् । यसैलाई मध्यनजर गरी जाडोमा कसैलाई समस्या नहोस् भन्ने अभिप्रायले गठन गरिएको क्लोथ फाउन्डेन नेपालले विगत दुई बर्षयतादेखि न्याना कपडाहरु वितरण गर्दै आएको छ ।
फाउन्डेशनले सुनसरीका विभिन्न स्थानमा गएर ब्लांककेट वितरण गर्ने, स्वीटर वितरण गर्ने कार्यलाई तिब्रता दिँदै आएको छ । यस बर्ष भने फाउन्डेशनले निम्न आय भएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर न्याना कपडा वितरण गर्ने काम गरेको छ ।

केही समय अगाडि धरान २० विष्णुपादुकामा रहेको एक आधारभूत स्कुलका विद्यार्थीहरुलाई जाडोमा लाउने न्यानो कपडा वितरण गरेको थियो । जाँडो अत्याधिक बढ्दै गएपछि काउदनीय गोत्रिय आचार्य महिला समाज, अग्रवाल महिला समाज लगायतको समन्वयमा धरान ५ मा रहेको एक आधारभूत स्कुलमा न्यानो कपडा वितरण गरेको छ । यसरी विद्यालय प्रांगरणमै पुगेर निम्न आय भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकोमा धरान उपमहानगरपालिका वडा नं. ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले सहयोगी महानुभाव र क्लोथ फाउन्डेशनलाई धन्यवाद दिनुभयो । क्लोथ फाउन्डेशनको सह्रानीय कामलाई साथ दिँदै सहयोग गर्ने इच्छा भएपछि आफूहरुले पनि यसमा सहयोगी भूमिका निर्वाह गरेको काउदनीय गोत्रिय आचार्य महिला समाज धरानकी अध्यक्ष मेनुका आचार्यले बताउनुभयो । उहाँले यस्ता कार्यमा आफूहरुको सहयोग सधै रहने प्रतिबद्धता जनाउनुभयो । क्लोथ फाउन्डेशनका अध्यक्ष विनय प्रधानले जाडोको समयमा जेष्ठ नागरिक, निम्न आयस्रोत भएका विद्यालयम अध्ययन विद्यार्थीहरु बढी मात्रामा जाडोको समस्याबाट ग्रसित हुने भएकोले विगत दुई बर्षदेखि यस्ता ठाउ तथा वर्ग, समुदायको पहिचान गरी निरन्तर रुपमा जाडोको न्यानो कपडा वितरण गरिदै आएको बताउनुभयो । सरकारी स्तरबाट लक्षित वर्गलाई जाडोमा न्यानो कपडा वितरण नभइरहेको बेला क्लोथ फाउन्डेशनले विभिन्न सामाजिक संघ संस्थासँग समन्वय गरेर लक्षित वर्गलाई न्यानो कपडा वितरण गर्दै आएको छ । यस्ता कार्यले लक्षित वर्गले राहतको महसुस गरेका छन् ।
