भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न म्याग्दी क्याम्पस भवन व्यवस्थापन समितिलाई हस्तान्तरण

धरान । नेपालको शिक्षा, स्वास्थ्य, खानेपानी तथा दर्जनौ भौतिक पूर्वाधारको क्षेत्रमा सबैभन्दा बढी सहयोग उपलब्ध गराउदै आएको भारतले हालैमात्र निर्माण सम्पन्न गरेको म्याग्दी स्थित म्याग्दी वहुमुखी क्याम्पस र छात्राबास भवन क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नेपालस्थित भारतीय राजुतावासले पौष २२ गते सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी उक्त कुराको जानकारी दिएको हो । जारी विज्ञप्तीका अनुसार नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु २ करोड ७९ लाख रुपैयाँको लागतमा क्याम्पस तथा छात्रावास भवन निर्माण सम्पन्न गरिएको हो ।
उक्त क्याम्पस तथा छात्रावास भवनको म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा र नेपालस्थित भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गर्दै क्याम्पस व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त हस्तान्तरण कार्यक्रममा विभिन्न राजनैतिक पार्टीका स्थानीय प्रतिनिधि, नेपाल सरकारका म्याग्दी जिल्लास्थित उच्च पदस्थ कर्मचारीहरु, प्रहरी प्रमुख, विभिन्न सामाजिक संघसंस्थामा आवद्ध सामाजिक अभियन्ताहरु, क्याम्पसका छात्र एवम् छात्रा, अभिभावकहरु र क्याम्पस व्यवस्थापन समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । नेपाल–भारत विकास सहकार्य अन्तर्गतका भारत सरकारको अनुदान सहयोगमा मानविकी भवन खण्ड, व्यवस्थापन भवन खण्ड, छात्रहरुका लागि छात्रावास भवन तथा अन्य आवश्यकीय संरचनाहरु निर्माण गरिएको जारी विज्ञप्तीमा जनाइएको छ । उक्त परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाइएको र जिल्ला समन्वय समिति म्याग्दीमार्फत कार्यान्वयन गरिएको हो ।


सो अवसरमा विभिन्न राजनैतिक दलका स्थानीय प्रतिनिधि, जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख, म्याग्दी वहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायतले नेपाली विद्यार्थीको शैक्षिक गुणस्तर सुदृढ गर्नका लागि नव निर्मित क्याम्पस भवन तथा छात्रवास भवन कोशेढुंगा सावित हुने बताउनुभयो । भारत सरकारले शिक्षाका पूर्वाधार विकासमा निरन्तर पु¥याउदै आएको सहयोग अदित्तीय रहेको भन्दै उहाँहरुले निर्माण सम्पन्न भएको परियोेजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अगाडि बढाएकोमा खुशी व्यक्त गर्नुभएको थियो । नव निर्मित संरचनाले म्याग्दी वहुमुखी क्याम्पसका विद्यार्थीहरुको उच्च शिक्षा तथा छात्रावास सुविधा उपलब्ध गराउने भएकोले विद्यार्थीहरुको पठनपाठन राम्रो वातावरण सिर्जना गर्ने भएकोले म्याग्दी क्षेत्रको शिक्षामा ठूलो बल पुग्ने धारणा व्यक्त गर्नुभएको थियो । यहाँ स्मरणीय कुरा के छ भने म्याग्दी वहुमुखी क्याम्पस सन् १९९६ मा स्थापना भएको थियो । उक्त सामुदायिक क्याम्पसले हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरु अध्यापन गराउँदै आएको छ । उक्त क्याम्पसका म्याग्दी जिल्लासहित उच्च पहाडी तथा हिमाली जिल्लाका विद्यार्थीहरु करिब ९५० जनाले अध्ययन गर्दै आएका छन् । जसमध्ये ३० प्रतिशत छात्र रहेका छन् भने ७० प्रतिशत संख्या छात्राहरुको रहेको छ ।
विज्ञप्प्तीमा भनिएको छ नजिकको छिमेकी भएको नाताले मात्र नभएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी पहिलो नीतिको उद्देश्य रहेकोले समेत भारत र नेपालबीच व्यापक र वहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको प्रष्ट पारिएको छ ।

तपाईको प्रतिक्रिया