धरान । बराहक्षेत्र नगरपालिका वडा नं. ५ कालान्जारस्थित जगन्नाथ डेडराज माध्यामिक विद्यालयलाई ५६ करोड मूल्य बराबरको १४ कट्ठा १० धुर जग्गा प्रदान गर्नूहुने समाजसवी स्व. कुलकेशर सिंह थापाको विद्यालय प्रांगरणमा गत विहीबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ । आफ्नो् जीवन कालमा सुनसरी,
मोरङ, धनकुटा लगायतका स्थानमा शैक्षिक संस्थाहरुलाई जग्गा प्रदानसँगै ती शैक्षिक सस्थाहरुको भवन निर्माण, शिक्षक व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएका स्व.थापाकी अर्धाङ्गिनी श्रीमति सूर्यकुमारी थापा र छोरा इन्जिनियर आमोद थापाद्वारा सोही विद्यायमा स्व. कुलेकेशर सिंह थापा स्मृति स्वास्थ्य सेवा अक्षय कोष स्थापनाका लागि २० लाख रुपैया प्रदान गरिएको छ । वि.स.ं २०१६ सालमा स्थापना भएको जगन्नाथ डेडराज जनता माध्यामिक विद्यालयले आफ्नो स्थापनाको ६५ औ बार्षिकोत्सवका अवसरमा आयोजित बराहक्षेत्र नगरस्तरीय पुरुष भलिवल प्रतियोगता तथा विद्यालयको शैक्षिक विज्ञान प्रदर्शनी, छात्रवृत्ति वितरण कार्यक्रमसँगै स्व. थापाको प्रतिमा अनावरण र स्वास्थ्य सेवा अक्षय कोष स्थापनाको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले एक भव्य समारोहबीच उद्घाटन गर्नुभएको थियो । तीन हजार ५ सय विद्यार्थी संख्या रहेको उक्त विद्यालयको शैक्षिक गुणस्तर सुनसरी जिल्लामै उत्कुृष्ट मानिन्छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मको अध्यापन हुने उक्त विद्यालयमा अध्ययनका लागि टाढाटाढाका विद्यार्थीहरु समेत आउने गरेको विद्यालयका सहायक प्रद्यानाध्यापक पदम पौड्लल्े जानकारी दिनुभयो ।
को हुन् स्व. कुलकेशर सिंह थापा ?
धरानका लागि कुलकेशर सिंह थापा कसैका निम्ति नौलो नाम होइन । जहाँ इच्छा त्यहाँ समाधान भन्ने थापालाई जीवनकालमा अनगिन्ति सामाजिक संस्थाले सम्मान र अभिनन्दन गरेका थिए । जीवनको उत्तरार्धमा धरान उपमहानगरपालिकाका पूर्व उपप्रधानपञ्च रहनु भएका बलराम थापा अध्यक्ष रहेको लामिछाने थापा समाज केन्द्रीय कार्यालय धरान सुनसरीले भव्य अभिनन्दन गरेको थियो । अभिनन्दन पत्रमा भनिएको थियो नेपाल अधिराज्यमा आफ्ना कुलिन धर्र्म र बीर पुर्खाहरुका साहस, पराक्रमप्रति गौरावान्वित हुँदै जीवन निर्वाह गर्ने लामिछाने थापा क्षेत्री वंशमा वि.सं. १९७६ आश्विन २९ गते मंगलबार पिता पहलमान सिंह थापा र माता श्रीमति झलक कुमारी देवी थापाका कनिष्ट पुत्रका रुपमा काठमाण्डौको नागपोखरीमा जन्म भएको थियो । वि.सं. १९८४ मा आफ्नै पिताका साथ पैतृक भूमि धनकुटाको मुगामा आइ बाल्यकाल व्यथित गर्नुभएको थियो । वि.सं. २००१ सालदेखि सुनसरी जिल्लाको धरानमा स्थायी बसोबास गर्नुभएका कुलकेशर सिंह थापाको प्रारम्भिक शिक्षा भारतको राजधानी नयाँदिल्लीमा भएको थियो । उहाँको स्वअध्ययनमा अत्यन्तै रुची थियो । त्यसै बीचमा उहाँ गृहस्थाश्रममा प्रवेश गर्नुभयो । अत्यन्तै सम्पन्न थापा परिवारमा जन्मेर हुर्केर पनि उहाँले् आफ्नो सामाजिक उत्तरदायित्वलाई कहिल्यै बिर्सनु भएन । उहाँले समाजको हितमा ठाउँठाउँमा विद्यालय खोल्ने, बजार स्थापनाको व्यवस्था मिलाउनेजस्ता कामहरु गर्नुभयो । परोपकारी र जनकल्याणकारी कार्यमा जीवनको उत्तरार्धसम्म पनि सक्रिय रहनु भएका थापा भावि पुस्ताका लागि समेत प्रेरणाका स्रोत हुनुहुन्छ ।
पब्लिक हाइस्कुल स्थापनामा महत्वपूर्ण योगदान


धरान उपमहानगरपालिका वडा नं. १२ स्थित पब्लिक माध्यामिक विद्यालय स्थापनाका लागि स्व. कुलकेशर सिंह थापाको अत्यन्तै महत्वपूर्ण योगदान रहेको छ । त्यसताका विद्यालय खोल्नुलाई जगन्य अपराध मानिनथ्यो । राणाहरुले विद्यालय खोल्न स्वीकृत दिने कुरै थिएन । तर राणा परिवारसँगको उहाँको अत्यन्तै निकट र सुमधुर सम्बन्ध भएका कारण वि.सं. २००३ सालमा पब्लिक मावि स्थापनाका लागि उद्वार हृदय देखाइ ठूलो धनराशी उपलब्ध गराउनु भएको थियो । त्यसबेला उहाँलाई सम्पूर्ण धरानहरुले शिक्षाप्रेमीका रुपमा आदर गर्न शुरु गरेका थिए । उहाँले धरानमा मात्र नभएर सुनसरी जिल्लाको महेन्द्रनगर गाविसमा वि.सं. २०१९ सालमा बसन्त प्रा.वि. खोल्नका लागि ११ कट्ठा जग्गा उपलब्ध गराउनु भयो । आज उक्त विद्यालय बसन्तऋतु माविका रुपमा सञ्चालन भइरहेको छ । यसैगरि धरान उपमानगरपालिका वडा नं. ११ मा सञ्चालन भइरहेको ज्ञानोदय माध्यामिक विद्यालयको लागि १३ कट्ठा जग्गा प्रदान गर्नुभयो । आज उक्त जग्गाको मुल्य करोडौ रहेको छ । स्व. थापा वि.सं. २००५, २००६, २००९ र २०१२ देखि २०१५ सालसम्म पब्लिक हाइस्कुल सञ्चालक समितिको सदस्य, २०१३ मा स्कुलको सचिव पदमा रहेर विद्यालय सुधारको लागि उल्लेखनीय कार्य गर्नुभयो । यसैगरी धरान उपमहानगरपालिका वडा नं. १६ स्थित चन्द्र संस्कृत माध्यामिक विद्यालयको सञ्चालक समितिको अध्यक्ष भएर विद्यालय सुधारका काम गर्नुमात्र भएन सँस्कृत अध्ययनका लागि विद्यालयमा आवासीय विद्यार्थीहरुका लागि आफैले सम्पूर्ण खाद्य सामाग्री समेत नियमित रुपमा उपलब्ध गराउनुभयो ।
महेन्द्र नगरको चकरघट्टी बजार बसाउने कार्य
स्व.कुलकेशर सिंह थापाले आफ्नो जीवनकालमा कुन कुन ठाउँमा के कस्तो सहयोग गर्नुभएको थियो भन्ने कुराको सम्पूर्ण लिखित दस्तावेज नभएको उहाँका सु्पुत्र इन्जिनियर आमोद थापाले बताउनुभयो । आफूले कहाँ कहाँ कति दान र सहयोग गरे भन्ने कुरा समेत उहाँले कहिल्यै कसैलाई सुनाउनु भएन । देखिएको र सार्वजनिक भएका कामहरुमात्र आफूहरुलाई थाहा भएको उहाँले सुनाउनुभयो । आजको अर्थात सुनसरी जिल्लाको महेन्द्रनगर चकरघट्टी गाविसको चकरघट्टी बजार बसाउन उहाँले आफ्नो ८ विगाह जग्गा निःश्ुल्क वितरण गर्नुभएको थियो । आज उक्त जग्गाको मूल्यांकन औला भाँचेर गर्न सकिने अवस्था छैन । यसैगरि उहाँले भरौल, कालाबन्जार गाविस परिसरका लागि र त्यहाँको विद्यालय, बजार र धर्मभकारी निर्माण गर्न १ विगाह २ कट्ठा जग्गा प्रदान गर्नुभएको थियो । उता मोरङ जिल्लाको सबैभन्दा पुरानो बजार रंगेली स्थापना र विकासमा समेत उहाँको अतुलनीय योगदान रहेको छ । धरान भन्दा बाहिरका जिल्लाहरुमा समेत योगदान दिए पनि उहाँले धरानलाई जीवनको उत्तरार्ध सम्म आफ्नो कर्मस्थल बनाउनुभयो ।
धरानमा पहिलो पटक जीप भित्र्याउने व्यक्ति
वि.सं. २००८ सालसम्म धरानमा निजी वाहनको रुपमा कसैसँग निजी गाडी थिएन । तर उहाँले २००८ सालमा पहिलो पटक नीजि जीप ल्याई धरान सम्भ्रान्त परिवारको बासस्थान बन्न सक्ने सम्भावनाको ढोका खोलिदिनुभयो । त्यसैगरी उहाँले श्रमिक, मजदुर र यात्रीहरुका हितमा लागि धरानमा २००८ सालमै आफैले ट्रक ल्याई ट्रक व्यवसायिका रुपमा स्थापित गर्नुभयो । उहाँ आफू सवारी साधन चलाउने सामाजिक व्यक्तिहरुसँग घुलमिल गरेर खानपिन गर्नेमात्र नभएर शिकार खेल्न समेत सौखिन हुनुहुन्थ्यो । उहाँले सदैव दिन मात्र जान्नु भयो तर कहिल्यै कसैसँग केही लिनु भएन । आफ्ना इस्टमित्र, बन्धु वान्धवहरुलाई यथोचित सहयोग गर्ने भएकोेले उहाँलाई जोकोहीले पनि काजी साहेब भनेर आदर र सम्मान गर्थे ।



